हरित कर्जा र निक्षेप योजना ल्याउँदै विकास बैंकहरु, के छ ब्याजदर ? – Nepal Press

हरित कर्जा र निक्षेप योजना ल्याउँदै विकास बैंकहरु, के छ ब्याजदर ?

काठमाडौं । विकास बैंकहरुले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् ।

सो योजनाअन्तर्गत कृषि तथा वनजन्य उद्योग र जल, सौर्य, जैविक र वायु ऊर्जा, केवलकार/रोपवे, विद्युतीय सवारीसाधन, फोहोर पानी प्रशोधन गर्ने उद्यम आदिलाई हरित कर्जा योजनामा समेट्ने निर्णय डेभलपमेण्ट बैंकर्स एसोसियसन नेपालले गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय गरिएको एसोसियसनले जनाएको छ ।

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढी व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य योजनामा भन्दा ०.२५ प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी प्रडक्ट पेपर विकास गरिने भएको छ ।

एसोसियसनका सदस्यहरुले आआफ्ना बैंकको व्यवसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपर विकास गर्न सक्ने निर्णय पनि गरिएको छ । कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।

आआफ्ना बैंकको सञ्चालक समितिबाट प्रडक्ट पेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउन एसोसियसनले आफ्ना सदस्य बैंकहरुलाई परिपत्र गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर