भैरहवा भन्सार : राजश्व लक्ष्यको आधाभन्दा कमी, निर्यात भने उत्साहजनक – Nepal Press

भैरहवा भन्सार : राजश्व लक्ष्यको आधाभन्दा कमी, निर्यात भने उत्साहजनक

रुपन्देही । भैरहवा भन्सार कार्यालयले आव २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजश्व संकलन गर्न सकेन । देशकै दोस्रो भन्सार कार्यालयको रूपमा रहेको यो कार्यालयबाट लक्ष्य आधा पनि पूरा नभएपछि देशकै राजश्व लक्ष्य प्रभावित भएको छ ।

आव २०७९/८० मा भैरहवाका लागि १ खर्ब ५५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ७७ अर्ब रुपैयाँ मात्र राजश्व असुली भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २७ अर्ब राजश्व उठाउने लक्ष्य राखेकामा १ खर्ब १५ अर्ब रुपैयाँ असुली भएको थियो । अघिल्लो वर्षको तुलनामा पनि यो ज्यादै कम रहेको छ ।

सरकारको अन्य नीतिगत समस्या र आर्थिक मन्दीका कारण कम आयात हुनु र कारण राजश्व असुली खुम्चिन पुगेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जनाएका छन् ।

बढी भन्सार राजश्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आवमा भएको असुलीको तुलनामा राजस्व संकलनको लक्ष्य निर्धारण पनि बढी भएको भट्टराईले बताए । अघिल्लो आवको तुलनामा आव २०७९/८० मा ३६ प्रतिशतले बढी लक्ष्य निर्धारण गरिएको थियो ।

‘२०७९ वैशाखदेखि मंसिर महिनासम्म साना गाडीको आयातमा सरकारले रोक लगायो तर लक्ष्य यथावत् नै रह्यो, बढी राजस्व दिने डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको पनि आयात घटेको छ । यी वस्तुको आयात घट्नुमा आर्थिक मन्दी र केही नीतिगत कारण पनि रहेका छन्’, उनले भने ।

एमएस फलामे ब्लेडको आयातमा लाग्दै आएको अन्तःशुल्क सरकारले बढाउने र एमएस फलामे ब्लेडको कच्चा पदार्थ स्पन्ज आइरनको आयातमा भन्सार महसुल छुट दियो । यसबाट स्पन्ज आइरनको आयात बढ्यो तर राजस्व बढेन । एमएस फलामे ब्लेडको आयात घट्यो, राजस्व पनि घट्यो । अमलेखगन्जबाट डिजेलको आपूर्ति पाइप लाइनबाट गर्न थालेपछि यसको आयात भैरहवा नाकाबाट धेरै परिमाणमा घटेको छ ।

साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको थियो । भैरहवा भन्सारमा जिप, कार, भ्यान, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस ब्लेड, पेट्रोल, ग्लेज टायल, डिजेल, एलपी ग्यास, मार्वल र मोबाइल आयात गर्दा राजस्व धेरै उठ्थ्यो ।

भन्सार तथ्यांकअनुसार अघिल्लो आव २०७८/७९ मा यी वस्तुको आयातबाट ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठेको थियो । आव २०७९÷८० मा यी वस्तुको आयात घट्दा ३० अर्ब ७२ करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।

नेपाल राष्ट्र बैंकले केही समयअघि व्यापारिक सामानको आयातमा अनिवार्य एलसी खोल्नुपर्ने प्रावधान ल्यायो । उक्त नियम झन्झटिलो भन्दै व्यवसायीले आयात कम गर्न थाले । यसबाट कपडा, जुत्ता–चप्पल, अटो पार्ट्स, ड्राई फुड्स, चिनीलगायत व्यापारिक सामानको आयात घट्यो । बरु, यी वस्तु अवैध तरिकाबाट भित्रिन थाले । अहिले ती सामानको आयातमा अनिवार्य एलसीको प्रावधान हटे पनि ती वस्तुको आयात अहिले पनि बढ्न सकेको छैन । आयात नबढ्नुमा आर्थिक मन्दीको प्रभावलाई कारण मानिएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले चाडपर्वका लागि कपडालगायत खुद्रा व्यापारिक वस्तुको आयात बढ्नुपर्ने भएपनि आयात नबढेकाले भन्सारका यार्ड (गोदाम) खाली नै रहेको बताए ।

तर भैरहवा भन्सार हुँदै नेपालबाट निर्यात हुने वस्तु भने अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवको तुलनामा ३८ दशमलव ८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरका विभिन्न नेपाली वस्तु विदेश निकासी भएकामा २०७९/८० मा १० अर्ब ९५ करोड रुपैयाँ बराबरको निकासी भएको छ । यसलाई सकारात्मक रूपमा लिन सकिने उद्यमीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर