नेपालको सार्वजनिक ऋण २२ खर्ब नाघ्यो, ४४ वर्षपछि बाह्यलाई आन्तरिकले उछिन्यो – Nepal Press

नेपालको सार्वजनिक ऋण २२ खर्ब नाघ्यो, ४४ वर्षपछि बाह्यलाई आन्तरिकले उछिन्यो

काठमाडौं । नेपालको ऋण हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै २ खर्बभन्दा बढी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५५ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ उठायो । सोही वर्ष १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋणको साँवा ब्याज पनि तिरेको छ । अघिल्लो वर्षसम्म आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ थियो । योसँगै सरकारको आन्तरिक ऋण ११ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारले यो पटक बाह्य ऋण करिब १ खर्ब लिएको छ । यद्यपि, विश्व बैंकअन्तर्गतका परियोजनाको प्राप्तिको अन्तिम रिपोर्ट भने आउन बाँकी छ । आन्तरिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराम शर्माले अघिल्लो वर्ष सरकारले बाह्य ऋणको ४३ अर्ब १ करोड ६८ लाख रुपैयाँ साँवा ब्याज भुक्तानी गरेको थियो । जसमा साँवा ३४ अर्ब ६१ करोड ७९ लाख र ब्याज ८ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ सम्म नेपालको बाह्य ऋण १० खर्ब २५ अर्ब ८४ करोड रुपैयाँ थियो । जसको ४३ अर्ब साँवा ब्याज भुक्तानी गरेको हो । अब नेपालको बाह्य ऋण १० खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ रहेको प्रारम्भिक तथ्यांक छ ।

यो पटक नेपालको बाह्यभन्दा आन्तरिक ऋणको हिस्सा बढेको छ । नेपालमा प्रायःजसो आन्तरिकभन्दा बाह्य ऋणको ग्राफ उकालो लागे पनि यस पटक बाह्यलाई आन्तरिक ऋणले उछिनेको छ । सरकारले ऋण लिँदा कुन सस्तो पर्छ भनेर हेर्नेगर्छ । तर, यस पटक सरकारले महँगोमै भए पनि ऋण लिनुपरेको कार्यालय प्रमुख शर्माले बताए ।

२०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माणमा बाह्य ऋणको ग्राफ बढेको थियो । आ.व २०७६/७७ देखि २०७८/७९ सम्ममा कोभिड १९ को महामारीको कारण आन्तरिक र बाह्य ऋण बढेको कार्यालयले जनाएको छ ।

के हुन्छ आन्तरिक ऋण बढ्दा ?

बाह्य ऋण घट्न थालेपछि सरकारले बजेट घाटा पूर्ति गर्न हरेक वर्ष आन्तरिक ऋणको हिस्सा बढाउँदै लगेको छ । आर्थिक वर्ष २०३६/३७ बाट हरेक वर्ष सार्वजनिक ऋणमा आन्तरिकभन्दा बाह्य ऋणको भार बढी थियो । तर, यो पटक आन्तरिक ऋणकै भार बढी भएको छ ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापा आन्तरिक ऋण बढी हुँदा ब्याजदर बढ्ने, पैसा जति सबै सरकारले लगिदिएपछि निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन सक्ने बताउँछन् ।

उनी भन्छन्, ‘विदेशी पैसाको उद्देश्य हुन्छ । उद्देश्य पूरा नभए पैसा आउँदैन । काम नगर्ने, पैसामात्र चाहियो भनेर आउँदैन । नेपाली पैसाको उद्देश्य हुँदैन । सरकारले जहाँ मन लाग्यो त्यही लगाउँदा हुन्छ ।’

समयमै काम नगर्ने प्रवृत्तिका कारण बाह्य ऋण घट्दै गएको थापाको भनाइ छ ।

अर्का अर्थविद् डा. विमल कोइराला जुनसुकै ऋण पनि सही सदुपयोग नभए त्यसले देशलाई हानी गर्ने बताउँछन् ।

‘लिएको ऋण उत्पादनशील क्षेत्रमा लगाएर त्यहीको आयबाट साँवा ब्याज तिर्दै जानुपर्ने हो । तर, नेपालको अहिलेसम्मको अवस्था त्यस्तो देखिएन । ऋणमात्रै बढाउँदै लगियो । तर, उत्पादन बढाइएन’, डा. कोइरालाले भने ।

बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदरको भार सरकारलाई बढी हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर