डोटीमा शिवशिखरविरुद्ध ८१८ जनाले दिए जाहेरी – Nepal Press

डोटीमा शिवशिखरविरुद्ध ८१८ जनाले दिए जाहेरी

डोटी । शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा ८१८ जनाले जाहेरी दिएका छन् । असारसम्म जाहेरी दिनेहरुले ६ करोड ४० लाख ६२ हजार ९९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार हालसम्म सो रकम दाबीसहितको उजुरी आएका छन् ।

‘हामीले डोटीमा नौ करोड जति हुनसक्छ भन्ने अनुमान गरेका छौं’, भण्डारीले भने, ‘करिब साढे ६ करोडको दाबी आइसक्यो । बाँकी कति आउँछ भन्न सकिन्न ।’

अन्य जिल्लामा शिव शिखर सहकारी संस्थाले ठगेको उजुरी आउन थालेपछि डोटीमा पनि सो संस्थाको शाखा भएकाले उजुरी आह्वान गरिएको प्रहरी नायब उपरीक्षक भण्डारी बताउँछन् । उनले भने, ‘अहिले उजुरी लिने काममात्रै भएको छ । मुद्दा चलाउनेबारेमा कुनै जानकारी आएको छैन । पछि माथिबाट जे आदेश आउँछ, सोहीअनुसार हुन्छ ।’

एक हजारदेखि १२ लाख रुपैयाँसम्म ठगिएको भन्दै उजुरी आएको प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक धिरेन्द्र धामी बताउँछन् । ‘अहिलेसम्म आएका उजुरीहरुमा सबैभन्दा बढी १२ लाख ४५ हजार ११९ रुपैयाँ ठगी भएको भन्ने उजुरी आएको छ’, धामीले भने, ‘सबैभन्दा कम एक हजार २४ रुपैयाँ ठगी भएको भनी भन्ने दाबी छ ।’

शिव शिखरबाट ठगी भएको भनी विभिन्न ठाउँबाट उजुरी आइरहेको र यस जिल्लामा समेत शाखा रहेको हुँदा सो संस्थाबाट कोही ठगिएको भए जाहेरी दिन प्रहरीले गत जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा कहिलेसम्म उजुरी दिइसक्नु पर्ने भन्ने खुलाइएको छैन ।

‘त्यस्तो हदम्याद केही तोकिएको छैन’, सूचना अधिकारी भण्डारी भन्छन्, ‘उजुरी आउने क्रम जारी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर