बढ्यो विद्युतीय लेनदेन, कारोबार रकम भने कम – Nepal Press

बढ्यो विद्युतीय लेनदेन, कारोबार रकम भने कम

काठमाडौं । देशमा विद्युतीय कारोबार बढ्दै गए पनि यस माध्यमबाट हुने कारोबार रकम घट्दै गएको छ ।

आर्थिक वर्ष २०७९/८० को जेठमा मात्रै ९ करोड ८ लाख ९८ हजार ८८३ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४४ खर्ब २ अर्ब २६ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो वर्षको जेठमै विद्युतीय कारोबार ६ करोड ३७ लाख ४० हजार ८१८ पटक हुँदा ५४ खर्ब ७ अर्ब ८६ करोड ६ लाख रुपैयाँको कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विद्युतीय प्रणालीबाट लेनदेनमात्रै बढेको छ । तर, कारोबार रकम भने बढेको छैन ।

एक पटक कारोबार भएको रकम धेरैपटक कारोबार हुनसक्ने र ससाना कारोबार धेरै भएर विद्युतीय कारोबारको संख्या बढेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

‘थोरै अर्थात ससाना रकमको कारोबार धेरै भएर संख्या बढेको देखिन्छ । तर, त्यहीअनुसार कारोबारको रकम बढेको देखिँदैन’, पोखरेलले भने ।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ को कारोबार हेर्दा बैशाख महिनामा मात्रै ५३ खर्ब १८ अर्ब ४ करोड ६ लाख रुपैयाँको करोबार विद्युतीय माध्यमबाट भएको थियो । चैतमा ५८ खर्ब ५७ अर्ब ४७ करोड ७ लाखको कारोबार भएको देखिन्छ । जुन आर्थिक वर्ष २०७९/८० को कारोबार हेर्दा चैतमा ४० खर्ब १५ अर्ब र बैशाखमा ३८ खर्ब ८२ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ । जुन साढे १४ खर्बको हाराहारीमा रकम घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी चैत र असारमा विद्युतीय कारोबार भएको देखिन्छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५६ खर्ब ८८ अर्ब रुपैयाँको कारोबार भएको छ । भदौमा ४९ खर्ब २६ अर्बमा झर्दा असोजमा ४६ खर्ब ५ अर्ब, कार्तिकमा ३९ खर्ब ४६ अर्ब र मंसिरमा ३६ खर्ब ९७ अर्ब भएको छ ।

त्यसैगरी पुसमा ४१ खर्ब ४५ अर्ब, माघमा ३६ खर्ब ५३ अर्ब, फागुनमा ३६ खर्ब ५३ अर्ब, चैतमा ४० खर्ब १५ अर्ब, बैशाखमा ३८ खर्ब ८२ अर्ब र जेठमा भने ४४ खर्ब २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।

आर्थिक वर्ष २०७९/८० को जेठमा सबैभन्दा धेरै पटक मोबाइल बैंकिङको कारोबार भएको छ । मोबाइल बैंकिङमार्फत २ करोड ९२ लाख १० हजार पटक ट्रान्जेक्सन हुँदा २ खर्ब ३० अर्बको कारोबार भएको छ ।

त्यस्तै क्यूआर कोडमार्फत ९५ हजार पटकको कारोबारमा २८ अर्बको कारोबार भएको छ । कनेक्ट आईपीएसबाट ४६ लाख ३२ हजार पटकमा ४ खर्ब १७ अर्बको कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत जेठमा २ लाख ८६ हजार पटक कारोबार हुँदा १४ अर्ब ५४ करोड रुपैयाँ लेनदेन भएको छ ।

शाखारहित बैंकिङमार्फत ७९ हजार पटकमा १ अर्ब ७० करोडको कारोबार भएको छ । वालेटबाट २ करोड ६ लाख पटकमा २० अर्ब १४ करोड रुपैयाँ लेनदेन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर