‘भारतमा यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा मात्र देखिएको थियो भने सबैले’ (भिडिओ) – Nepal Press

‘भारतमा यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा मात्र देखिएको थियो भने सबैले’ (भिडिओ)

इन्दोरमा बाजागाजासहित अभूतपूर्व स्वागत भयो, विमानस्थलमा राज्यमन्त्री आउनु सामान्य : प्रधानमन्त्री

काठमाडौं । भारतले नेपालका प्रधानमन्त्रीलाई गतिलो स्वागत नदिएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहँदा आज संसदमा पनि यो विषय उठ्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई ‘कार्यालय सहयोगी’ को जस्तो व्यवहार गरिएको बताए ।

शाहीलाई जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा आफूलाई स्वागत र सम्मानमा कमि नगरिएको दाकी गरेका छन् ।

उनले आफ्नो स्वागतमा राज्यमन्त्री मात्रै विमानस्थलमा आउनु त्यहाँको सामान्य अभ्यास भएको बताए । दिल्लीमा विगतका प्रधानमन्त्रीहरुले जस्तै स्वागत पाएको तर इन्दोर र उज्जैनमा अभूतपूर्व स्वागत पाएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालको भनाइ जस्ताको तस्तैः

कतिपय माननीय सदस्यले कस्तो हेपेको नि भारतले भन्नुभयो । मलाई त्यस्तो लाग्दैन । पूर्वप्रधानमन्त्रीहरु धेरैजसो जाँदा राज्यमन्त्री नै आएका छन् एयरपोर्टमा । अझ कतिपय जाँदा त सचिव र सहसचिव आएर पनि लगेका छन्, हेक्का रहोस । खास खास क्षणमा मात्रै विदेशमन्त्री र प्रधानमन्त्री नै आउने हुँदो रहेछ । नत्र राज्यमन्त्री नै हो । प्रचण्डलार्ई भएर राज्यमन्त्री पठाएको होइन ।

दिल्लीमा जुनसुकै प्रधानमन्त्री जस्तै थियो स्वागत, सम्मान र प्रचारप्रसार । इन्दोरमा अलि विशिष्ट थियो । तर इन्दोरमा नेपाली र भारतीय ठूलो संख्यामा जुटेर दुवैतिरका झण्डा हल्लाउँदै, नाच नाच्दै, बाजा बजाउँदै विशिष्ट स्वागत थियो एयरपोर्टमा ।

इन्दोरबाट उज्जेनसम्म जाँदा अभूतपूर्व बाजागाजा, नाचगान… सबै… नेपाली हिन्दी… थियो । हाम्रा नेपाली दिदीबहिनी दाजुभाइ र भारतीय नेताले यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा एकचोटि देखिएको थियो, अहिले नेपाली प्रधानमन्त्री आउँदा देखयो भने ।

पुरै टिमका सबैजना उत्साहीत भएर आएको स्थिति हो । धेरै पो राम्रो गरे त भन्ने भावसहित आएका छौं । अपमानित महसुस गरेनौं । चिन्ता लिनुपर्ने स्थिति छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर