निर्दोषीलाई नफसाऊ, दोषीलाई नबचाऊ – Nepal Press

निर्दोषीलाई नफसाऊ, दोषीलाई नबचाऊ

भ्रष्टीकरणको एउटा सूचीलाई लिएर गएको चैततिर एउटा फिचर लेखेको थिएँ । सूची थियो- सामाजिक सञ्जालमा आएको एउटा ठेक्काको सूची । विवरण थियो-
१. सरकारी ठेक्काको रकम – १०० प्रतिशत
२. सरकारलाई भ्याट – १३ प्रतिशत
३. कर्मचारीलाई कमिशन – १५ प्रतिशत
४. डन, गुण्डा खर्च – ७ प्रतिशत
५. मन्त्री, नगर प्रमुख, अन्य – २० प्रतिशत
६. अडिट र कागजपत्र – १५ प्रतिशत
७. बाँकी – ३० प्रतिशत
जम्मा – १०० प्रतिशत

यिनै विवरणलाई डेन्टिङपेन्टिङ गरेर एउटा सानो फिचर बनाएको हुँ । सर्वसाधारण पाठकहरुले निकै मन पराएर पढ्नुभयो । यस्ता अरु फिचर लेख्न प्रेरित गर्नुभयो । म खुशी भएँ । यसबाट मलाई एउटा फरकबोध पनि भयो । त्यो के भने सर्वसाधारणलाई पाठ्यवस्तु दिन कुनै वाद विशेष तथा दर्शन विशेषको भाष्य लेख्नुपर्दो रहेनछ । अनि आफ्नो लेखनलाई वजनदार बनाउन कुनै मन्त्री, प्रधानमन्त्री, कुनै पार्टीका नायक, महानायक, खलनायकहरुको उपस्थिति पनि आवश्यक हुँदो रहेनछ । मात्र सर्वसाधारणलाई खलेको विषय हुन पर्‍यो । बस । आफूलाई पढ्न भनेर पस्किदिएको सामग्री पढ्दै गर्दा सर्वसाधारण पाठक जब त्यसमा आफूलाई खलेको कुरा पाउँछ, अधैर्य भएर वा वा….. गरिहाल्छ ।

भ्रष्टीकरणसित सम्बद्ध त्यस फिचरको उपसंहारमा लेखेको थिएँ- यो चाहिँ भ्रष्टाचारको स्थूल रुपको एउटा सानो नमुना हो । सूक्ष्म रुप त अथाह छ र विराट छ । अहिले जुन नक्कली भुटानी शरणार्थीको प्रकरण आएको छ, यो चाहिँ भ्रष्टाचारका स्थूल रुपको ठूलो नमुना हुनसक्छ । यसमा केही अलि ठूला माछा पनि परेका छन् । तर, ह्वेल माछा र वाम माछा परिसकेका छैनन् । कारबाही गर्ने अख्तियारी लिएकाले आफू पनि तानिने डरले खुट्टा कमाएनन् भने एमान माछा पर्ने स्थिति छ । किनभने, यसमा अन्तर्राष्ट्रिय दबाब पनि छ । आन्तरिक जनदबाब पनि छ । कथंकदाचित यस भ्रष्टीकरणको छानबिन राम्ररी भएन र दोषीले उन्मुक्ति पाउने भयो भने स्थिति काबु बाहिरको विस्फोटक हुनसक्ने कुरालाई इन्कार गर्न सकिँदैन ।

व्यापार बिजनेसमा सेतो बजार धुकुर धुकुर छ । कालोबजार चहचह छ । ओरिजनल बजार धुकुर धुकुर छ, डुब्लिकेट बजार चहचह छ । प्रशासन, शिक्षा, स्वास्थ्य, उद्योग व्यापार सबैमा एक नम्बर र दुई नम्बर छ । यिनमा अलिकति सेवाको भाव राख्ने एक नम्बर मृतप्राय छ । दुई नम्बर हावी छ ।

सूक्ष्म रुपका भ्रष्टाचार जो दूरविनले हेर्न सकिन्छ, तिनलाई दूरविन नै लगाएर हेरौंला । जहाँ पनि छन्, जति पनि छन् । स्थूल रुपका भ्रष्टाचारहरु जो जलमा, थलमा, नभमा जहाँसुकै व्याप्त छन्, तिनलाई चस्मा पनि नलगाइकन आँखाभरि हेर्न सकिन्छ । अड्डा अदालतमा भ्रष्टाचार छ । कर्मचारी हाजिर गरेर तलब खान्छन्, काम गरेर घूस खान्छन् । स्कुल कलेजमा भ्रष्टाचार छ । शिक्षकहरु कक्षामा भन्दा ट्युसनमा जोड दिएर भ्रष्टाचार गर्छन् । अस्पतालमा भ्रष्टाचार छ । डाक्टरहरु अस्पतालमा झारा टार्छन् । निजी क्लिनिकमा पैसा झार्छन् । व्यापार बिजनेसमा सेतो बजार धुकुर धुकुर छ । कालोबजार चहचह छ । ओरिजनल बजार धुकुर धुकुर छ, डुब्लिकेट बजार चहचह छ । प्रशासन, शिक्षा, स्वास्थ्य, उद्योग व्यापार सबैमा एक नम्बर र दुई नम्बर छ । यिनमा अलिकति सेवाको भाव राख्ने एक नम्बर मृतप्राय छ । दुई नम्बर हावी छ ।

दुई नम्बर भनेको छलछाम, लुटखसोट, दलाली हो । यसको मक्सद हो- जसरी पनि पैसा कमाउने । उपभोक्तालाई गुणस्तरमा ठगेर हुन्छ कि, कालोबजारी गरेर हुन्छ कि, राजस्व छलेर हुन्छ कि, जसरी पनि कमाउने ! हामीकहाँ जसरी पनि कमाउनेलाई मर्द र कमाउन नसक्नेलाई नामर्द भनिन्छ । यो संस्कार हावी भएको ठाउँमा पहिलो नम्बर लिएर बसेकाहरु बिचरा हुन् । तिनलाई यो समाजले अन्यायमा पारेको छ । नीतिहरुको राजा राजनीति हो । राजनीति सेवा हो भने हामीकहाँ राजनीति सेवा नभएर व्यापार भएको छ । व्यापार भएर पनि यसको सेतो बजार छैन, कालो बजारमात्र लाग्ने गरेको छ । मूल बजार नै कालो भएपछि अरु सबै बजार कालै हुन पुगेका छन् ।

प्रधानमन्त्री, मन्त्री र सचिवहरु भएर गर्ने कतिपय निर्णयहरु जसले भ्रष्टाचारलाई सहज बनाएका छन्, तिनलाई नीतिगत निर्णय भनेर अदालतमा मुद्दा नलाग्ने व्यवस्था यस मुलुकमा छ । विभिन्न कालखण्डमा यस्ता निर्णयहरुबाट जल, जंगल, आकाशसम्म बेच्ने काम भएको छ । असमान सन्धि गरेर भूमि बेच्नेदेखि सम्पूर्ण अर्थतन्त्र नै बेच्ने काम भएको छ । कतिपय गम्भीर आपत्तिजनक राष्ट्रविरोधी निर्णयहरुमा जनताका प्रतिनिधिहरुको संसदलाई पनि प्रयोग गरिएको छ ।

राजनीति सेवा हो भने हामीकहाँ राजनीति सेवा नभएर व्यापार भएको छ । व्यापार भएर पनि यसको सेतो बजार छैन, कालो बजारमात्र लाग्ने गरेको छ । मूल बजार नै कालो भएपछि अरु सबै बजार कालै हुन पुगेका छन् ।

नीतिगत भ्रष्टाचारले गर्दा हाम्रो उद्योग व्यापार चौपट भएको छ । हामी पराधीन भएका छौं । कृषि प्रधान देशमा विदेशी धान, चामल, गहुँलाई आयात छुट दिइयो । नेपाली धान र चामल निर्यात बन्द भयो । मकै, कोदो, गहत, भटमास तथा अन्य त्यस्तै दलहन, तेलहन बाहिरबाट आउन थालेपछि यहाँ दुःखजिलो गरेर तिनको उत्पादन गर्न परेन । मलेसियाबाट चिल्ला झ्याल ढोका आइरहेका छन् । यहाँको जंगलमा सालको काठ कुहेको छ । पत्रु खाना (जंक फुड), पत्रु नाना (जंक क्लथ) लाई हुनसम्म प्रश्रय छ भने कसले भट्ट, मकै, कोदाको अर्नी खान पर्‍यो र ?

यी यस्ता निर्णय र व्यवहारले नेपालीको जीवनमा मन्दविष हालेर उपचारका नाममा नेपाली पैसा विदेश पठाउने काम भैरहेको छ । नेपाली उद्योग व्यापारलाई शिथिल पारेर विदेशी बजारलाई पोस्ने भएको छ । यस्तो काम मन्दविषमात्र होइन, सोझै राष्ट्रघात हो । कर्मचारीतन्त्रमा पार्टीपिच्छे ट्रेड युनियन छन् । तिनीहरु आफ्नै पेसागत सुविधाका लागि मात्र अहोरात्र संर्घषरत छन् । तिनको नेतृत्व मालदार अड्डामा आफू र आफ्ना मान्छे नियुक्त गर्न, सरुवा गर्न र थमौती गर्नमा अहोरात्र तल्लीन छ । सेवाग्राहीको सेवा, राष्ट्रको सेवा भन्ने कुरासित तिनको यतिकन पनि सम्बन्ध छैन । अलिकति पनि मालदार अड्डाको कर्मचारी हुनुपर्छ, उसमा समृद्धि राम्ररी फलेको देखिन्छ । समृद्धि आफैं बोल्छ- यो समृद्धि राज्यको कुशल दोहनबाट सम्भव भएको हो । जनप्रतिनिधिहरुका सम्बन्धमा पनि यही तीतो सत्य बरकरार भएर आएको छ ।

पालिका, प्रदेश र संसदमा जनताले सहर्ष मत दिएर पठाएका जनप्रतिनिधिहरु मतपत्रमा स्वस्तिक छापको मसी सुक्न नपाउँदै जब अथाह धनपति भए, मतदाता झस्के । मेरीबास्सै ! सेवाको नाममा यति मेवा खाए कि निश्चित कार्यकाल पनि पूरा हुन नपाउँदै रातापीरा भए । नदीको नांगो दोहन गरेनन् कि, खेतीयोग्य जमिनको खण्डीकरण गरेर शस्यश्यामला पृथ्वी माताको चीरहरण गरेनन् कि, बाटोघाटो, पुलपुलेसा निर्माणमा हाकाहाकी कमिशन लुँड्याएनन् कि, तरुलका ठुन्का जस्ता युवाहरुलाई विदेश निर्यात गर्ने कम्पनीका कम्पनी होल्डर बनेनन् कि, के बनेनन्, के गरेनन्, जे गरेर पनि धनाढ्य भए र निकै बदनाम भए । जनताको मन मर्‍यो । उनको मानसपटलमा जनप्रतिनिधि भएर कर्म कुकर्म गरेर धनाढ्य नहुने जनप्रतिनिधि जनप्रतिनिधि नै हुँदैन भन्ने भयो । यसबाट जनप्रतिनिधि हुँ भन्ने जन्तुसित जनसाधारणको लास्टै घृणा त भयो भयो, लोकतन्त्रात्मक शासन पद्धतिसितै वितृष्णा पैदा भएको छ । जनप्रतिनिधि भएर जस्तोसुकै कुकर्म गरेर पैसा कमाई धनाढ्य नहुने प्रतिनिधि भने अन्यायमा परेका छन् ।

कर्मचारीतन्त्रमा पार्टीपिच्छे ट्रेड युनियन छन् । तिनीहरु आफ्नै पेसागत सुविधाका लागि मात्र अहोरात्र संर्घषरत छन् । तिनको नेतृत्व मालदार अड्डामा आफू र आफ्ना मान्छे नियुक्त गर्न, सरुवा गर्न र थमौती गर्नमा अहोरात्र तल्लीन छ ।

मुलुकको स्थिति एकदमै गम्भीर छ । अर्थतन्त्र ध्वस्त छ । उत्पादन छैन । कृषिप्रधान देशमा अन्न बेसाएर खानुपरेको छ । उद्योग व्यापार धराशायी छ । मुलुकमा दुइटा सरकार छन् । एउटा नेपालको संविधान २०७२ को लोकतान्त्रिक नेपाल सरकार छ, एउटा विचौलियाको सरकार छ । खास खास निर्णयमा विचौलियाको वर्चस्व हुन्छ । अर्थतन्त्र दुइटा छन् । एउटा कर प्रणालीभित्रको अर्थतन्त्र । अर्को कर प्रणाली बाहिरको तस्करी अर्थतन्त्र । पहिलोभन्दा दोस्रो अर्थतन्त्र बलवान छ । दोस्रो अर्थतन्त्र बलवान हुनु भनेको मुलुकमा भ्रष्टाचारको बिगबिगी छ भनेको हो । भ्रष्टाचार मुलुकको अंग प्रत्यंगमा व्याप्त छ ।

जस्तो कि ईश्वर सर्वव्यापी छ भन्ने एउटा भजन छ-
सुरमुनिदेखि भुसुनासम्म
प्रभु नै सबका घटमा टम्म
प्रभुका लेखा प्राणी मात्र
पुत्र बराबर करुणा पात्र

र पनि, देश डुबिहालेको छैन, डुब्न लागेको छ । साझा इच्छा शक्ति हुन्छ भने यसलाई बचाउन सकिन्छ । सिद्धार्थ गौतम बुद्धका चार आर्य सत्य छन्- संसारमा दुःख छ । दुःखका कारण छन् । दुःख निवारण गर्न सकिन्छ । निवारणको उपाय अष्टाङ्गिक मार्ग हो । हाम्रो मुलुकलाई डुबाउने कारकतत्व भ्रष्टाचार हो । इच्छाशक्ति हुन्छ भने यसलाई नियन्त्रण गर्न सकिन्छ । नियन्त्रणको लागि उपयुक्त समय पनि आएको छ । साझा इच्छाशक्ति बनाएर भ्रष्टाचारीलाई निर्मम प्रहार गरौं, दोषीलाई हदैसम्मको कारबाही गरौं, निर्दोषलाई बचाऔं, राम्रो हुन्छ । अहिले भ्रष्टाचार मुलुकभरि छरपष्ट भएको छ । यसका विरुद्ध जनआक्रोश चरम उत्कर्षमा छ । जनआक्रोशको एउटै भाषा छ- निर्दोषीलाई नफसाऊ, दोषीलाई नबचाऊ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *