प्रधानमन्त्रीको दाबी- गणतन्त्रप्रति वितृष्णा जगाएर परिवर्तन उल्ट्याउने कसरत भइरहेका छन् (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको दाबी- गणतन्त्रप्रति वितृष्णा जगाएर परिवर्तन उल्ट्याउने कसरत भइरहेका छन् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै संविधान र व्यवस्थाअनुरूप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ । लोकतन्त्रमा विभिन्न धारणा र विचारहरू हुनु स्वाभाविक हो । यसो भए तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई अझ मजबुत बनाउन सकिन्छ ।’

ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गरे ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरू कदापी सफल हुने छैनन् । किनकी लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो ।’

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका जिकिर गरे ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्रीको दाबी- गणतन्त्रप्रति वितृष्णा जगाएर परिवर्तन उल्ट्याउने कसरत भइरहेका छन् (भिडिओ)

  1. यसो भन्दै लुटतन्त्र त तिमीले मच्चाईरहेका छौ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर