प्रहरी घेराभित्र प्रदेशसभा सञ्चालन गर्न नैतिकताले दिँदैन : उद्धव थापा – Nepal Press

प्रहरी घेराभित्र प्रदेशसभा सञ्चालन गर्न नैतिकताले दिँदैन : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्नुपर्ने बताएका छन् ।

कोशी प्रदेशसभाको बैठकमा बोल्दै उनले प्रहरी घेराभित्र प्रदेशसभा सञ्चालन गर्नु नैतिकता नभएको बताए ।

‘दोस्रो बैठकमा आउने कुरामा नै नैतिकताको प्रश्न उब्जिएको छ’, उनले भने, ‘वार्ता गर्न के आपत्ति छ, वार्ता गर्दैमा कोशी प्रदेश खारेज गर्नुपर्छ भन्ने छैन ।आन्दोलनरत पक्षलाई हामीले सम्झाइबुझाइ गरेर आन्दोलनलाई शान्त पार्न पनि त सकिन्छ ।’

वार्ता गर्दैमा केही नहुने बताएका थापाले वार्ताको ढोका बन्द गरेको कारणबाट अहिलेको अवस्था जटिल बनेको औंल्याए ।

आफैं सरकारमा बसेर मलाई बन्दुकले झन्डै लाग्यो भनेको भन्दै उनले स्वास्थ्यमन्त्रीमाथि कटाक्ष गरे ।

‘आफैं सरकारमा बस्ने अनि मलाई नै झण्डै बन्दुकको गोली लाग्यो भनेर आउँदै हुनुहुन्छ’, उनले भने, ‘सुरक्षा घेरामा बजेट, नीति तथा कार्यक्रम ल्याउन नैतिकताले दिन्छ कि दिँदैन ।’

नेता थापाले नीति तथा कार्यक्रम, बजेट ल्याउनभन्दा पहिला आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्नेमा जोड दिए ।

नामकरणको बारेमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी कोशीको विपक्षमा रहेको भए पनि पक्षमा उभिएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको मत पनि एक नभएको उनले बताए ।

‘अहिले आन्दोलन चलिरहेको बेलामा हामी तीन वटै दलको मत फरक भइरहेको छ’, उनले भने, ‘नेकपा एमाले आन्दोलनसँग भिडेर जाने हो कि जस्तो देखिएको छ, माओवादी केन्द्रले गल्ती भएछ भनेर विज्ञप्ति निकालेर हातखुट्टा उचालेर बसेको छ । अब नेपाली कांग्रेसको दृष्टिकोण भनेको नामकरणको नैतिक जिम्मेवारी हामी लिन्छौं । तर, वार्ता सरकारले गर्नुपर्छ ।’

कांग्रेस गल्ती भयो भनेर हातखुट्टा उचालेर नबस्ने, एमाले जस्तो भिडेर जाने अवस्थामा पनि नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “प्रहरी घेराभित्र प्रदेशसभा सञ्चालन गर्न नैतिकताले दिँदैन : उद्धव थापा

  1. कुटाई खान मन लागेको भए जाउ न त सडकमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर