कान्स महोत्सवमा भारतीय अभिनेत्रीको बोलवाला, कसको पहिरन कस्तो ? – Nepal Press

कान्स महोत्सवमा भारतीय अभिनेत्रीको बोलवाला, कसको पहिरन कस्तो ?

काठमाडौं । वर्ष २०२३ को कान्स रेड कार्पेट फ्रान्समा भइरहेको छ । कान्स विश्वभर मनाइने सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो । यो एक वार्षिक कार्यक्रम हो, जहाँ विश्वभरका चलचित्र निर्माता, निर्देशक, अभिनेता, वितरक र समीक्षकहरू एकसाथ भेटिन्छन् । यो विश्वकै सबैभन्दा प्रतिष्ठित र मान्यता प्राप्त चलचित्र प्रतियोगिताहरूमध्ये एक हो ।

यस महोत्सवको लागि प्रत्येक वर्ष विभिन्न देशबाट निश्चित सेलिब्रेटीहरु आफ्नो देशलाई प्रतिनिधित्व गरेर जाने गर्दछन् । नेपालबाट भने कान्सको रेड कार्पेटमा हिँड्ने मौका कसैले पाएका थिएनन् । तर, वर्ष २०२२ भने शो रेकर्ड तोडियो । अभिनेत्री सुरक्षा पन्तले उक्त रेर्कड तोडिन् ।

सन् २०२२ मा उनी कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडिन् । उनी कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनिन् । नेपाल र इटालीमा छायांकन गरिएको फ्रान्सेली फिल्म ‘द एट माउन्टेन्स’ ले उनलाई कान्स फिल्म फेस्टिबलको रेड कार्पेटसम्म पुर्‍याएको थियो । उनले अभिनय गरेको यो पहिलो विदेशी फिल्म हो । यो फिल्म मे १९ मा विश्वको सबैभन्दा ठूलो फिल्म फेस्टिभल ‘कान्स’मा प्रिमियर भएको थियो । उनी महोत्सवमा तेन्जिन भुटियाले डिजाइन गरेको रातो गाउनमा सजिएर पुगेकी थिइन् ।

नेपालबाट कान्समा पुगेको यो नै पहिलो रेकर्ड हो । भारतबाट भने वर्षैपिच्छे छनोटमा परेका कलाकारहरु यो महोत्सवमा जाने गर्दछन् । यसपालि पनि फ्रान्समा आयोजित ७६औं संस्करणको यो महोत्सवका लागि भारतबाट अभिनेत्री तथा पूर्वविश्व सुन्दरी ऐश्वर्या राय, अभिनेत्री सारा अली खान, अभिनेत्री तथा पूर्वविश्व सुन्दरी मानुषी छिल्लर र अभिनेत्री तथा पूर्वमिस इन्डिया इन्टरनेसनल ईशा गुप्ता पुगेका थिए ।

कान्समा कलाकारले लगाएको पहिरन र उनीहरुको उपस्थित हुने शैलीले हरेक वर्ष माहोल गर्माउने गरेको छ । यही रेड कार्पेटबाट कतिले तारिफको वर्षा पाउँछन् त कति आफ्नो पहिरनकै कारण ट्रोलको शिकार बन्छन् । यस वर्ष भारतबाट कान्स पुगेका कलाकारले कस्तो पहिरन लगाएका थिए त ?

ऐश्वर्या राय

छोरी आराध्यासँग कान्समा पुगेकी रायले यसपालि पनि रेड कार्पेटमा आफ्नो अदाको जादु छरिन् । आफ्नो शैली र पहिरनले यसपालि पनि उनले दर्शकको मन जितिन् । उनको महोत्सवमा उपस्थित हुने शैली र पहिरनले उनको उमेरसम्म ढाकेको थियो । उनी चाँदीको पोशाक लगाएर रेड कार्पेटमा पुगेकी थिइन् । जुन सोफी कउचरले डिजाइन गरेका हुन् ।

कालो हुड र चाँदीको गाउनमा देखिएकी रायको कान्समा यो २१औं पटकको उपस्थिति हो । झण्डै दुई दशकदेखि कान्समा कस्मेटिक कम्पनी लोरियलको प्रतिनिधित्व गर्दै आएकी राय ह्यारिसन फोर्ड अभिनित पाँचौं इन्डियाना जोन्स फिल्म ‘इंडियाना जोन्स र द डायल अफ डेस्टिनी’को प्रिमियरमा रेड कार्पेट हिँडेकी हुन् ।

डिजाइनर सोफीका अनुसार ऐश्वर्याले यही पोशाक लगाएर कान्समा डेब्यु गरेकी थिइन् । फिल्म फेस्टिभलमा उनको पहिलो उपस्थिति ‘देवदास’को स्क्रिनिङको लागि थियो ।

सारा अली खान

सारा अली खानको भने कान्समा यो डेब्यु उपस्थिति हो । उनले फेसन डिजाइनर डुओ अबु जानी र सन्दीप खोसलाले तयार पारेको पेस्टेल लेहेंगा लगाएर आफ्नो कान्स डेब्यु गरेकी हुन् । लेहेंगामा उनले परम्परागत भारतीय गहना लगाएर आफ्नो लुक्स पूरा गरेकी थिइन् । उनले लगाएको ब्लाउजमा क्रिस्टल र मोतीको वर्क गरिएको थियो ।

मानुषी चिल्लर

पूर्वमिस वर्ल्ड विजेता मानुषी चिल्लर भने रेड कार्पेटमा साधा अनि सामान्य गाउन लगाएर पुगेकी थिइन् । फेसन डिजाइनर हाउस फोवरीको सेतो ट्युल गाउनमा कान्स पुगेकी चिल्लरले भने दर्शकको खासै मन जित्न सकिनन् । उनले अफ सोल्डर लामो सेतो गाउनमा हरियो नेकलेस लगाएकी थिइन् ।

ईशा गुप्ता

ईशा निकोलस जेब्रन कोचरले डिजाइन गरेको पिंक गाउन लगाएर रेड कार्पेट पुगेकी थिइन् । तिघ्राको भागमा माथिसम्म चिरिएको ड्रेसले उनलाई केही असहज महसुस भएको देखिन्थ्यो । उनले कासाडेइको सिल्भर ब्लक हिल र झुम्का लगाएर गुलाबी टोनको मेकअप गरेकी थिइन् ।

उर्वशी रौटेला

उर्वशी रौटेला सारा, मानुशी र ईशाभन्दा केही फरक पहिरनमा रेड कार्पेट पुगेकी थिइन् । गुलाबी रंगको गाउनले उनको सुन्दरतालाई थप निखारेको थियो । उनको पोशाकमा फ्लोरल डिजाइन गरिएको थियो । ड्रेससँग म्याच गर्न उनले मेकअप पनि गुलाबी रंगकै गरेकी थिइन् ।

उनले घाँटीमा लगाएको गोही डिजाइनको नेकलेसले धेरैको ध्यानाकर्षण बढाएको थियो । उनले लगाएको उक्त नेकलेसलाई लिएर उनलाई ट्रोल पनि गरिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर