सयभन्दा बढी जोडीको डिभोर्स गराएका वकिल जोडीलाई प्रश्न- सम्बन्ध जोड्ने कि तोड्ने ? (भिडिओ) – Nepal Press

सयभन्दा बढी जोडीको डिभोर्स गराएका वकिल जोडीलाई प्रश्न- सम्बन्ध जोड्ने कि तोड्ने ? (भिडिओ)

काठमाडौं । कमल कोइराला र नानी थापा पेशाले अधिवक्ता हुन् । व्यक्तिगत जीवनमा श्रीमान-श्रीमती हुन् । विगत ६ वर्षदेखि उनीहरु वकालती पेशामा सक्रिय छन् । कोइराला र थापाकहाँ कानूनी पराशर्मका लागि आइपुग्ने सेवाग्राहीहरुका समस्या विविध छन् । त्यसमध्ये सम्बन्ध विच्छेदको मुद्दा लिएर सयभन्दा बढी जोडी उनीहरुकहाँ पुगेका छन् ।

केही उदाहरण हेरौं :

उदाहरण १

एक जोडीले विवाह गरे । विवाहपछि श्रीमती अष्ट्रेलिया गइन् । तर, श्रीमती विदेश जाँदै गर्दा श्रीमान्लाई शंका भयो, ‘श्रीमतीले अन्यसँग शारीरिक सम्बन्ध पो राख्ने हो कि !’

विवाह गरेको केही समयपछि श्रीमतीको पेटमा बच्चा बसेको थियो । अष्ट्रेलियामै बच्चा जन्माउँदा राम्रो हुने सल्लाह गरेर दुवैको सहमतिमा गर्भपतन गराए । त्यहीवेला विदेशमा अन्यसँग शारीरिक सम्पर्क गर्ला कि भन्ने भयले श्रीमान्ले श्रीमतीलाई कपर-टी भन्ने साधन राखिदिए ।

श्रीमती विदेश गइन् । अष्ट्रेलिया र नेपालको समय नै फरक ! कलेज पढ्नुपर्‍यो, जागिर गर्नुपर्‍यो । श्रीमती व्यस्त भइन् । त्यसपछि श्रीमान्ले दिनदिनै निहुँ खोज्न थाले, ‘फोन किन उठाउँदैनस्, कोसँग जान्छस् ।’

दुवैले फेसबुकको पासवर्ड पनि शेयर गरेका थिए । श्रीमतीको फेसबुकबाट श्रीमानले अन्य पुरुषहरुलाई म्यासेज पठाउन थाले । मीठोमीठो कुरा गर्न थाले । त्यही म्यासेज लगेर सासूआमालाई देखाउँदै छोरीको चरित्रमाथि प्रश्न गर्न थाले ।

उता अष्ट्रेलियामा कामको चापले फेसबुक चलाउनै भ्याउँदिन थिइन् श्रीमती । यताबाट श्रीमानले फोन गर्नासाथ जुनसुकै अवस्थामा पनि उठाउनुपर्ने । एक्लै सुतेको पक्का गर्न ल्यापटपमा भिडियो अन गरेर निदाउनुपर्ने । एकातिर जागिरको थकान अर्काेतिर पढाइको बोझ । त्यसमाथि घरपरिवारबाट टाढिएकाले होमसिकको समस्या । यी सबै समस्यालाई श्रीमतीले थेगिरहन सकिनन् ।

बीचमै नेपाल फिरिन् र कोइराला अनि थापाकहाँ सम्बन्ध विच्छेदका लागि पुगिन् । कोइराला भन्छन्, ‘एकअर्कालाई अझै पनि केही समय हेर्नुस् । सामाजिक रुपमा तपाईंहरुको सम्बन्ध अगाडि बढेको हो । यतिमै नटुंग्याऔं भन्यौं । तर, उहाँले आफ्नो व्यथा पोख्दै जानुभयो । म्यासेज, च्याटलगायत धेरै कुरा हेर्दै जाँदा हामी यो सम्बन्ध अगाडि बढ्दैन भन्ने निचोडमा पुग्यौं । डिभोर्सको मुद्दा दायर गर्‍यौं । उहाँहरुको सम्बन्ध विच्छेद भयो ।’

उदाहरण २

विवाह गरेको चौथो दिनमै एक महिला डिभोर्सका लागि कोइराला र थापाकहाँ आइन् । तीसौं लाख खर्च गरेर धुमधामका साथ विवाह गरिएको थियो । केटा अमेरिकामा थिए । केटी नेपालमै थिइन् ।

सबैका पुराना सम्बन्धहरु हुन्छन् । श्रीमतीले पुरानो सम्बन्धसँग जोडिएका सबै चिज हटाइसकेकी थिइन् । फोन नम्बर बदलेकी थिइन् । म्यासेजहरु डिलेट गरेकी थिइन् । फोटो, भिडियो सबै डिलेट गरेकी थिइन् । तर, श्रीमानले बिहेको दोस्रो दिन श्रीमतीको जिमेल आईडी र पासवर्ड मागेर पुरानो सम्बन्धको सबै प्रमाणहरु रिट्राइभ गरे ।

श्रीमतीको पूर्वसम्बन्ध भएको व्यक्तिसँगका न्युड कन्टेन्टहरुमा श्रीमानको एक्सेस भयो । त्यसपछि श्रीमान्ले श्रीमतीका हातखुट्टा बेडमा बाँधे, त्यो पनि नांगो बनाएर । ४८ घण्टासम्म त्यसरी राखेर पुरानो प्रेमीसँगको भिडियो देखाए । चुरोट खाएर श्रीमानले श्रीमतीको तिघ्रामा निभाइदिए । कतिवेला मनलाग्छ, त्यतिवेला बलात्कार गरे । परिवारको फोन ब्लक गरिदिए ।

चौथो दिनमा कोइराला-थापाकहाँ कानूनी उपचारका लागि ती महिला आइन् ।

थापा सुनाउँछिन्, ‘रातारात सातआठ मुद्दा तयार गर्‍यौं । मानव अधिकार, बलात्कार, साइबर क्राइम, घरेलु हिंसा, ज्यान मार्ने उद्योगलगायत मुद्दा थिए । तर, १५औं दिनमा उनले मुद्दा फिर्ता गरिदिनुपर्यो भनिन् । त्यत्रो लगानी गरेर बिहे गरिदिएको, टोलमा मुख देखाउनै गाह्रो भयो भनेर परिवारले दबाब दिएछन् । तर, पीडितको मनमा के गुज्रिएको छ, ऊ के चाहन्छे भन्ने नसोची परिवारले सामाजिक प्रतिष्ठामा खलल पुगेको सोचे । अनि सारा परिवार मिलेर बयान कमजोर बनाउँदै लगे । त्यसपछि यो मुद्दा हेर्न सक्दैनौं भनेर हामीले हात झिक्नुपरेको थियो ।’

कोइराला-थापाकहाँ यस्ता डरलाग्दो घटना लिएर सम्बन्ध विच्छेद गर्न आउनेहरुको संख्या धेरै छन् । थापा मनोवैज्ञानिक परामर्शदाता पनि भएकीले उनले मनोपरामर्श पनि दिने गर्छिन् । कतिपय जोडी यस्ता हुन्छन्, जो अरुको बिहेको फोटो/भिडियो हेरेर प्रभावित हुँदै बिहे गर्न तम्सिएका हुन्छन् । श्रीमान-श्रीमतीमध्ये एकजना विदेशमा रहेकाहरु पनि कोइराला-थापाका क्लायन्ट हुन् ।

कोही डिपेन्डेन्टमा विदेश जान कानूनी विवाह गराइमाग्न आइपुग्छन् । जुन विवाहले सामाजिक जीवनमा कुनै असर गर्न सक्दैन । कोइराला-थापासँग डिपेन्डेन्टवालाहरुको विवाहसँगै डिभोर्स गराएको अनुभव पनि छ ।

कोही यस्ता क्लायन्टहरु पनि हुन्छन्, जो वृद्धावस्थामा छोराछोरीमध्ये कसले पाल्ने भनेर अंशको लफडा हुँदा डिभोर्स गर्न बाध्य हुन्छन् । कोइराला-थापाको अनुभवले भन्छ, ‘जोडीमध्ये एकले रिजर्भेसन राख्न थाल्यो भने, सहअस्तित्वको वातावरण छैन भने डिभोर्सको अवस्थासम्म पुग्छन् । यस्तै घरेलु हिंसा पनि डिभोर्सको अर्को कारण हो । दुवै जना आत्मनिर्भर छन् भने सानोतिनो विमति हुँदा पनि डिभोर्सको अवस्थासम्म पुग्छन् ।’

कोइराला-थापा थप्छन्, ‘हामीले सय वटाभन्दा बढी डिभोर्सका मुद्दा हेरिसकेका छौं । प्रत्येक डिभोर्सका कारण र पृष्ठभूमि फरक छन् ।’

वकिल जोडीलाई सम्बन्ध भनेको के लाग्छ ?

सम्बन्ध भनेको भावना हो । वैवाहिक वा पेशागत वा पारिवारिक सम्बन्धहरुलाई भावनाले नै जोड्ने हो । भावना मिलेको आभास हुने चाहिँ रुचि, अनुभव, भूगोललगायत कुराहरु साझा भए भने हो । भावना मिल्नलाई केही न केही साझा हुनुपर्छ भनिन्छ ।

तर, हामीले डिभोर्स गरिदिएपछि एक वर्षसम्म कोर्टले फैसला गर्न पाउँदैन । जोडी पुनः मिल्न सक्छन् कि भनेर मेलमिलाप विभाग पनि हुन्छन् । न्यायालयले पनि सकेसम्म उनीहरु मिलून् भन्ने नै चाहन्छन् ।

कहिलेकाहीं हाम्रो ल फर्ममा आएका क्लायन्टलाई मनोपरामर्श क्लिनिकमा रिफर गरिदिन्छौं । त्यस्तै गर्नुपर्ने पनि हुन्छ । घरेलु हिंसासहितका समस्या छन् भने कानूनी बाटो नै अपनाउनुपर्ने हुन्छ । कतिपय जोडीका बालबच्चा छन् भने मुद्दाको प्रक्रियामा गइहाल्दैनौं । दुईको सम्बन्धमा ठूला बच्चाबच्ची छन् भने डिभोर्सका लागि प्रश्रय दिन्नौं ।

अहिले मिलापत्रमार्फत् नै डिभोर्स हुन्छ । त्यसका लागि पक्ष र विपक्ष सहमत हुनुपर्‍यो । सम्बन्ध जटिल विषयवस्तु हो । सम्बन्धलाई पातलो डोरी वा धागोले छुट्याएको हुँदो रहेछ । सम्बन्ध जोडिइरहँदा त्यो धागो नदेखिँदो रहेछ । तर, छुटिँदा भने ठूलो र डरलाग्दो देखिँदो रहेछ त्यो धागो ।

जहाँ ‘यो मेरो हो’ वा ‘आफ्नो हो’ भन्न सकिने भावना हुन्छ, त्यहाँ सम्बन्ध हुँदोरहेछ । जहाँ ‘यो मेरो’ वा ‘ऊ मेरो हो’ भन्न सकिँदैन, त्यहाँ पुगेर सम्बन्ध सकिँदो रहेछ । कर्कलाको पातमा अड्किएको पानीको थोपा हावाहुरी चलेन भने पानी राम्रो देखिन्छ । तर, हुरी चल्नासाथ त्यो पानी खस्छ । जुन दिनसम्म कर्कलाको पातमा पानी रह्यो, त्यो सम्बन्ध रह्यो । जुन दिन झर्‍यो, सम्बन्ध सकियो ।

सम्बन्ध जोड्ने कि तोड्ने ?

सम्बन्ध त सकेसम्म जोडिदिने नै हो । त्यही भएर नै कतिपय क्लायन्टलाई हामी मुद्दा मामिलामा नगई एक अर्कालाई केही समय हेरेर, बुझेर निर्णय लिनुस् भनेर समय दिन्छौं । यदि कुनै सम्बन्ध सँगै रहेर पनि त्यसको अर्थ छैन भने कानूनी प्रक्रियाका लागि हामी सहयोग गर्छौं ।

मुख्य कुरा त कसैले डिभोर्स गर्न चाहँदैछ भने किन चाहँदैन भनेर अर्को पक्षले जवाफ खोज्नुपर्‍यो । आफू स्वयंले डिभोर्स फाइल गर्दैछ भने किन यस्तो गर्न खोज्दैछु भनेर सोच्नुपर्‍यो । यसमा अलिकति सोच्दामात्रै पनि परिस्थिति परिवर्तन हुने रहेछ ।

सम्बन्ध हो र त झगडा पर्छ । जोसँग सम्बन्ध छैन, ऊसँग झगडा नै पर्दैन । पार्टनरबीचको झगडाले अन्य कुरालाई असर गर्छ कि गर्दैन भनेर सोच्न सक्यौं भने धेरैथोक परिवर्तन हुन्छ । सम्बनध विच्छेदसम्म पुग्न जुन कारण बनेको छ, त्यसलाई थोरै परिवर्तन गरेर सोच्दामात्रै धेरै बदलाव आउँछ । बाहिरका मान्छेहरुको कुरा सुनेर निर्णय नलिई मेरो सम्बन्ध जोगाउन मैले के पहल गरेको छु भन्ने सोच्दामात्रै धेरै थोक हुन्छ ।

सम्बन्ध जोगाउनमात्रै जोगाउने होइन । तर, एक्लै हुँदा जति शक्ति हुन्छ, दुई हुँदा शक्ति बढेर जान्छ । विवाह भनेको सम्बन्धलाई वैधानिकता दिन हो । अर्को त विवाहले लक पनि लिएर आउँछ । काम गर्ने क्षमता वृद्धि गर्नेदेखि लिएर कामहरु सफल पनि हुने गर्छ । त्यो पाटोबाट हेर्न सकियो भने सम्बन्ध जोगिन्छ । हामीसम्म आएका क्लायन्टहरुलाई हामी सुरुमा यही सल्लाह दिन्छौं । यदि अवस्था गम्भीर हो भने पेशागत हिसाबले त्यसैअनुसार कानूनी प्रक्रिया अगाडि बढाउँछौं ।

याे पनि पढ्नुस् : सम्बन्ध विच्छेदको बढ्दो ग्राफ- स्वतन्त्रताकाे खाेजी कि सामाजिक विचलन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर