सम्बन्ध विच्छेदको बढ्दो ग्राफ- स्वतन्त्रताकाे खाेजी कि सामाजिक विचलन ? – Nepal Press

सम्बन्ध विच्छेदको बढ्दो ग्राफ- स्वतन्त्रताकाे खाेजी कि सामाजिक विचलन ?

काठमाडौं । घटना १

अधिवक्ता अल्पना भण्डारीकहाँ एक महिला सम्बन्ध विच्छेदका लागि आइपुगिन् । उनका ११ र १३ वर्षका बच्चाहरु थिए । ती महिलाको अचानकको निर्णय कतै आवेग हो कि भनेर अधिवक्ता भण्डारीले अझै सोचेर निर्णय गर्न केही समय दिइन् । तर, मुद्दा नै हाल्नुपर्ने अडानमा ती महिला रहेपछि अल्पनाले प्रक्रिया अगाडि बढाइन् ।

ती महिलाले श्रीमानको घर छाडेर मुद्दा हाल्नुपर्ने भयो । बाहिरै बसिन् । मुद्दा चलिरहेको थियो, उनलाई भने आफ्नो बच्चाको मायाले सताउन थाल्यो । श्रीमानको घरमा फोन गरिन् । तर, श्रीमानले उनलाई बच्चासँग बोल्नै दिएनन् ।

त्यसपछि बच्चालाई बन्धक बनाएको भन्दै उनले अर्को मुद्दा हालिन् । कानूनले पाँच वर्षसम्म आमासँगै बच्चा रहने अधिकार दिए पनि १० वर्ष पुगेपछि उनीहरुले कोसँग बस्ने भनेर रोज्न पाउँछन् । मुद्दा हालेपछि बच्चालाई अदालतमा उपस्थित गराइयो । बच्चाहरुले दुवै जनासँग सँगै बस्ने भने ।

यसपछि ती महिला पनि श्रीमानको घरै गएर बस्न थालिन् । तर, घरमा श्रीमान् र श्रीमतीबीचमा झगडा भइरहने माहोलले बच्चाहरुलाई झनै गाह्रो बनायो । यता अदालतमा मुद्दा चलिरहेकै थियो । यहीबीच केही समयपछि ती महिला अधिवक्ता भण्डारीको सम्पर्कबाट टाढिइन् । मुद्दालाई यत्तिकै छाडिदिइन् ।

घटना २

एक जोडीले विवाह गरे । विवाहपछि श्रीमती अष्ट्रेलिया गइन् । तर, श्रीमती विदेश जाँदै गर्दा श्रीमानलाई शंका भयो, ‘श्रीमतीले अन्यसँग शारीरिक सम्बन्ध पो राख्ने हो कि !’ विवाह गरेको केही समयपछि श्रीमतीको पेटमा बच्चासमेत बसेको थियो । अष्ट्रेलियामै बच्चा जन्माउँदा राम्रो हुने दुवैको सल्लाहमा गर्भपतन गरियो । त्यही वेला विदेशमा अन्यसँग शारीरिक सम्पर्क गर्लिन् कि भन्ने भयले श्रीमान्‌ले श्रीमतीको शरीरमा कपर-टी भन्ने अस्थायी साधन राखिदिए ।

श्रीमती विदेश गइन् । अष्ट्रेलिया र नेपालको समय नै फरक ! कलेज पढ्नुपर्‍यो, जागिर गर्नुपर्‍यो । श्रीमती व्यस्त भइन् । त्यसपछि श्रीमान्‌ले दिनदिनै निहुँ खोज्न थाले, ‘फोन किन उठाउँदिनस्, कोसँग जान्छेस् ?’

दुवैले फेसबुकको पासवर्ड पनि शेयर गरेका थिए । श्रीमतीको फेसबुकबाट श्रीमान्‌ले अन्य पुरुषहरुलाई म्यासेज पठाउन थाले । मीठोमीठो कुरा गर्न थाले । त्यही म्यासेज लगेर सासूआमालाई देखाउँदै छोरीको चरित्रमाथि प्रश्न गर्न थाले ।

उता अष्ट्रेलियामा कामको चापले फेसबुक चलाउनै भ्याउँदिन थिइन् श्रीमती । यताबाट श्रीमानले फोन गर्नासाथ जुनसुकै अवस्थामा पनि उठाउनुपर्ने । एक्लै सुतेको आश्वस्त दिलाउन ल्यापटपमा भिडियो अन गरेर निदाउनुपर्ने । एकातिर जागिरको थकान अर्कोतिर पढाइको बोझ । त्यसमाथि घरपरिवारबाट टाढिएकाले होमसिकको समस्या । यी सबै समस्यालाई श्रीमतीले थेगिरहन सकिनन् ।

अति भएपछि उनी बीचमै नेपाल फिरिन् । अधिवक्ता कमल कोइराला र नानी थापाकहाँ सम्बन्ध विच्छेदका लागि पुगिन् ।

कोइराला भन्छन्, ‘एकअर्कालाई अझै पनि केही समय हेर्नुस् । सामाजिक रुपमा तपाईंहरुको सम्बन्ध अगाडि बढेको हो । यतिमै नटुंग्याऔं भन्यौं । तर, उहाँले आफ्नो व्यथा पोख्दै जानुभयो । म्यासेज, च्याटलगायत धेरै कुरा हेर्दै जाँदा हामी यो सम्बन्ध अगाडि बढ्दैन भन्ने निचोडमा पुग्यौं । सम्बन्ध विच्छेदको मुद्दा दायर ग¥यौं । उहाँहरुको सम्बन्ध विच्छेद भयो ।’

घटना ३

अधिवक्ता अल्पना भण्डारीकहाँ सम्बन्ध विच्छेदका लागि एक जोडी पुगे । उनीहरुले अगाडि नै सम्बन्ध विच्छेद गर्ने भनेर सल्लाह गरिसकेका रहेछन् । सम्बन्ध विच्छेद त गर्ने, तर पनि सँगै बस्ने उनीहरुको समझदारी थियो । सम्बन्ध विच्छेदको उद्देश्य थियो, विदेश जाने । उनीहरुको सानो बच्चा पनि थियो ।

अल्पनाले परिवारबारे सोधेकी थिइन् । तर, परिवारकै सहमतिमा आएको उनीहरुले बताएका थिए । अल्पनाले प्रक्रिया अगाडि बढाइदिइन् । उनीहरुको सम्बन्ध विच्छेद भयो । महिलाले अंश पनि लिइनन् ।

अल्पना भन्छिन्, ‘पछि मात्रै थाहा भयो, उहाँ (महिला) लाई फसाइएको रहेछ । अलि पछि मध्यराति मलाई फोन गरेर रुँदै सबै कुरा बताएर आफू सडकमा अलपत्र परेको बताउनुभयो । त्यो सुन्दा एकदमै नमीठो लाग्यो । सम्बन्धविच्छेद गराउँदै गर्दा उनीहरुको परिवार पनि बोलाउनुपर्ने रहेछ ।’

श्रीमान र श्रीमतीबीचको सम्बन्ध विच्छेद यी ३ प्रतिनिधि घटना हुन् । नेपालमा पछिल्लो समय सम्वन्धविच्छेद गर्ने क्रम तीव्र गतिमा बढिरहेको छ । २०७७/७८ सालको सर्वोच्च अदालतको बार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदकै छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीनै तहका अदालतमा कुल मुद्दा २७ हजार ४२५ वटा छन् ।

आजभन्दा १० वर्षअघि २०६७/६८ सालमा सम्बन्ध विच्छेदको मुद्दा जम्मा ७ हजार ७०४ वटामात्रै थियो । तर, १० वर्षको अन्तरालमा सम्बन्ध विच्छेदको मुद्दा झण्डै चार गुणाले बढेको देखिन्छ । हरेक वर्ष सम्बन्ध विच्छेदको मुद्दाको संख्या बढिरहेको सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनले देखाउँछ ।

सम्बन्ध विच्छेदमात्रै होइन, यसले निम्त्याउने समस्या पनि विकराल छ । अदालति प्रक्रियामै मात्र सम्बन्ध विच्छेदपछि अंश मुद्दाको संख्या उत्तिकै रहेको देखिन्छ । २०७५/७६ सालको सर्वोच्चको वार्षिक प्रतिवेदनअनुसार ३० हजार ४९ वटा अंश मुद्दा दर्ता भएका थिए । अदालतमा दर्ता भएका अंशमुद्दामध्ये ७० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्धविच्छेदले नै निम्त्याउने अधिवक्ताहरुको दाबी छ ।

१० वर्षमा ३५६ प्रतिशतले वृद्धि

हामीले गएको दश वर्षसम्मको सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अध्ययन गर्दा सम्बन्ध विच्छेदको मुद्दा १० वर्षको अवधिमा ३५६ प्रतिशतले बढेको पाइयो । २०६८/६९ को तुलनामा २०७७/७८ मा यति धेरै प्रतिशतले वृद्धि देखिएको हो ।

यो दश वर्षमा सबैभन्दा बढी उच्च अदालतमा ४३९ प्रतिशतले सम्बन्ध विच्छेदको मुद्दा बढेको छ । सर्वोच्च अदालतमा १९३ प्रतिशतले मुद्दा बढ्दा जिल्ला अदालतमा ३५५ प्रतिशतले मुद्दा बढेको देखिन्छ ।

२०६८/०६९ मा १३२ वटा सम्बन्ध विच्छेदको मुद्दा उच्च अदालतमा परेको थियो । तर, २०७७/७८ मा आइपुग्दा ४८० वटा मुद्दा परेको छ । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि उच्चमा जान सकिन्छ । उच्चको फैसलासमेत चित्त नबुझे सर्वोच्चमा जान सक्छन् ।

जिल्ला अदालतमा २०६८/६९ मा सात हजार ५४१ मुद्दा परेको थियो । तर, २०७७/७८ मा भने मुद्दाको संख्या २६ हजार ७८५ छ ।

१० वर्षमा दर्ता भएका सम्बन्ध विच्छेद मुद्दा

०००

विवाहमाथि बहस

मार्क्सवादी लेखक आहुति आफू ‘विवाह संस्था’ खारेज गर्नुपर्ने पक्षमा रहेको बताइरहन्छन् । विशेष गरेर मार्क्सवादीहरुले विवाहलाई पुरुषले महिलालाई दमन गर्ने लाइसेन्सको रुपमा व्याख्या गर्ने गरेका छन् । महिलाको मुक्ति, अधिकार र स्वतन्त्रताका लागि विवाहको प्रचलन नै हटाउनुपर्ने उनीहरुको छ । कार्ल मार्क्सले विवाहलाई एउटा पूँजीवादी, शोषण प्रवृत्ति, पितृसत्तात्मक शोषणको सञ्जालभित्र महिलालाई लैजाने बाधक तत्वको रुपमा ्चित्रण गरेका थिए ।

हिन्दू धर्मशास्त्रअनुसार विवाह भनेको सात जुनीसम्म सँगै जिउने कसम खानु हो । सात फेरो लिएर नवविवाहित जोडीलाई कसम खुवाइन्छ । यो नै महिलालाई दमन गर्ने पहिलो खुड्किलो रहेको मानवशास्त्री डम्बर चेमजोङ बताउँछन् । भन्छन्, ‘विवाह भनेको अटुट सम्बन्ध हो भन्नु गफ हो । वास्तविकता चाहीँ विवाह सामाजिक सम्बन्ध हो, सामाजिक सम्झौता हो । लिम्बू समुदायमा पछ्यौरीमा सिक्का बाँधिदिएपछि भनिन्छ, नानी यो पैसा सधैँ सुरक्षित गरेर राख्नू, पछि सौता लगाइदियो भने यो पैसाले निधारमा हानेर आफ्नो बाटो लाग्नू ! तर, हिन्दू विवाहमा सती जानुपर्ने कुरा, श्रीमानको गोडाको पानी खानुपर्ने कुरा, कन्यादानका कुराले महिलालाई शोषण गर्ने मार्ग प्रशस्त गरिदिएको छ ।’

अहिले सम्बन्ध विच्छेदको मुद्दा दिनप्रतिदिन बढेर जानुलाई महिलाले निजत्वको खोजी गरेको अर्थमा लिनुपर्ने चेम्जोङको दाबी छ ।

‘म को हुँ, म के चाहन्छु, समाज र मबीचमा के सम्बन्ध छ, कोही मेरो जीवनमा हुनुको नाताले मेरो जीवनको अर्थ के हो भनेर उनीहरुले बोध गर्न थाले । मेरो अधिकार के हो भनेर बुझे । आर्थिक र राजनीतिक हैसियत बढेर गयो । पितृसत्तात्मक शोषण र दमनलाई बुझे । त्यसैले सम्बन्ध विच्छेदको संख्या दिनप्रतिदिन बढेर गएको हो’, चेम्जोङ भन्छन् ।

पछिल्लो समय सम्बन्ध विच्छेद दुःख होइन, मुक्ति र स्वतन्त्रताको पर्याय नै बनेको देखिन्छ । आर्थिक रुपमा आफ्नो पार्टनरसँग भरपर्नु नपर्ने, आफैं सबल बनेर गएकाले महिलाहरुले ठूलो संख्यामा सम्बन्ध विच्छेदको मुद्दा दायर गरिरहेका छन् ।

‘मुल्लम मलारम’बाट चर्चा कमाएकी भारतीय टीभी अभिनेत्री शालिनीले सम्बन्ध विच्छेदपछि उत्सव मनाउँदै गरेको फोटोसुट केही समयअघि सञ्जालमा भाइरल भयो । उनले श्रीमान् रियाजले मानसिक र शारीरिक यातना दिएको आरोप लगाउँदै सम्बन्ध विच्छेद गरेकी थिइन् ।

रिया नामकी एक छोरीकी आमा शालिनीले सम्बन्ध विच्छेदपछि फोटो सुट गर्दै रियाजसँगको विवाहको फोटो सुट च्यातिरहेको फोटो भाइरल बनेको थियो । गएको नोभेम्बरमा ४३ वर्षीया अमेरिकी महिला किम्बर्ली सेन्टलेबेनले १४ वर्ष लामो वैवाहिक सम्बन्धलाई सम्बन्ध विच्छेदमार्फत तोडिन् । विच्छेदपछि खुशीयालीमा पार्टीमात्रै दिइनन्, विवाहको गाउनलाई विस्फोटक पदार्थ लगाएर डढाइन् ।

नेपाली समाज सम्बन्ध विच्छेदको सेलिब्रेसन गर्नुपर्ने ठाउँमै नपुगे पनि अहिले जुन अनुपातमा सम्बन्ध विच्छेद भइरहेका छन्, त्यसले नेपाली समाज व्यक्तिगत स्वतन्त्रतातर्फ उन्मुख हुँदै गएको चेमजोङको विश्लेषण छ । आत्मनिर्भरताले निजत्वको खोजी पनि गराउने भएकाले टक्सिक सम्बन्धलाई विश्राम दिएर मान्छेहरुले विन्दास जिउन पनि सम्बन्ध विच्छेदको सहारा लिने गरेको उनको बुझाइ छ ।

सम्वन्धविच्छेदका कारण अनेक

अहिले अदालतमा दायर भएका सम्बन्ध विच्छेदका मुद्दाहरु व्यक्तिपिच्छे फरक फरक छन् । कोही घरेलु हिंसामा परेर सहने क्षमता सकिएपछि बाध्य भएर सम्बन्ध विच्छेद गर्नेहरुको संख्या पनि निकै ठूलो छ । घरेलुहिंसा तथा गम्भीर प्रकृतिका अन्याय-अत्याचारमा पुगेर सम्बन्ध विच्छेद गर्न चाहनेहरुको कथा अर्कै छ । उनीहरुको खुशी र हाँसो त्यो सम्बन्ध तोड्दा नै फर्कन्छ भने सम्बन्ध विच्छेद नै गज्जबको आइडिया हुने अधिवक्ता थापा बताउँछिन् ।

मानवशास्त्री चेमजोङ पनि शोषणभित्रको विवाहको सम्बन्धको कुनै अर्थ नभएको बताउँछन् । उनका अनुसार गएको दश वर्षमा महिलाको आर्थिक, सामाजिक र राजनीतिक हैसियत बढेकाले पनि विवाह भनेको सातै जुनीसम्म अन्याय सहँदै बस्नुपर्ने बाध्यकारी सम्बन्ध अब रहेन । दश वर्षे जनयुद्धले महिला, आदिवासी, दलितलाई, उपेक्षित र सीमान्तमा पारिएकाहरुलाई सचेत हुने मौका दिएकाले पनि अहिले मान्छेहरु सहज स्वनिर्णय गर्नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् ।

चेमजोङ भन्छन्, ‘खासगरी हिन्दू धर्मशास्त्रअनुसारको जात व्यवस्थामा बाँचेकाहरुलाई विवाहले अप्ठ्यारोहरु निम्त्याएको हो । अहिलेको पुस्ताले पितृऋण चुकाउन विवाह नगर्ने भएकाले सम्बन्ध विच्छेदलाई सहजरुपमा लिएका हुन् ।’

तर, बाँकी सम्बन्धहरु जो सानातिना झगडा र विवादमा पनि विच्छेदसम्म पुगेका छन्, तिनीहरुले निर्णय लिनुअघि गम्भीर भएर सोच्नुपर्ने बताउँछन् । कोही विदेश जान नै सम्बन्ध विच्छेद गर्न चाहन्छन् । एकै अधिवक्ताले विवाह दर्ता पनि गराइदिन्छन्, विच्छेद पनि गराइदिन्छन् । अर्कातिर सम्पत्ति र विवाहेत्तर सम्बन्धका कारण सम्बन्ध विच्छेद गर्नेहरुको संख्या पनि उत्तिकै छ । फसाएर वा झुक्याएर सम्बन्ध विच्छेद गराउनेहरुको संख्या पनि उत्तिकै छ ।

२०७७/७८ सालमा दुई लाख ६३ हजार ३९३ विवाह कानूनीरूपमा दर्ता भएको देखिन्छ । त्यही वर्ष सम्बन्ध विच्छेद साढे २७ हजार भएको छ । भलै सम्बन्ध विच्छेदको यो रिपोर्टमा अघिल्ला वर्षहरूमा फैसला नभएका मुद्दाहरु जोडिएका छन् । तर, सर्वोच्चको प्रतिवेदन आउन बाँकी २०७८/७९ मा सम्बन्ध विच्छेदको संख्या ३० हजारमाथि हुने गत यस वर्षको वार्षिक प्रतिवेदन तयार गरिरहेका सर्वोच्च अदालतका एक कर्मचारी बताउँछन् ।

विवाह दर्ता संख्या ठूलो भए पनि दर्ता भएकामध्ये २० प्रतिशतभन्दा बढी विवाह विच्छेदमा गएर टुंगिने अभिवक्ताहरुको अनुमान छ । अधिवक्ता भण्डारीकहाँ दैनिक दुई वा तीन जना क्लायन्ट सम्बन्ध विच्छेदका लागि आइपुग्छन् ।

विश्व परिवेश र नेपाल

संसारमा अहिले सबैभन्दा बढी सम्बन्ध विच्छेद माल्दिभ्समा हुन्छ, जहाँ एक हजार जनामध्ये ११० जनाले विवाह गरेको कुनै न कुनै समयमा सम्बन्ध विच्छेद गर्ने विभिन्न रिपोर्टहरुले देखाउँछ । त्यस्तै बेलारुसमा एक हजार जनामध्ये ४७ जनाले विवाहको कुनै न कुनै समयमा सम्बन्ध विच्छेद गर्छन् भने अमेरिकामा यो अनुपात २४ जना रहेको छ ।

अमेरिकामा विवाह गरेको पाँच वर्षभित्र नै २० प्रतिशत जोडीहरुको सम्बन्ध विच्छेद हुने लिगल जब नामक संस्थाको रिपोर्ट छ । त्यस्तै पाँच वर्षभन्दा बढी समय कटाएका विवाहित जोडीको सम्बन्ध विच्छेद हुने सम्भावना ४९ प्रतिशत रहेको उक्त रिपोर्टले देखाउँछ ।

नेपालको हकमा पनि पछिल्लो समय जुन तरीकाले सम्बन्ध विच्छेदका घटना बढिरहेका छन्, त्यसले वैवाहिक संस्था नै समस्यामा पर्दै गएको देखिन्छ । हिजो जस्तो सात जुनीसम्म सँगै कसम खाएर गरिने विवाह अहिले व्यक्तिगत स्वतन्त्रतामा परिणत भएको देखिन्छ ।

तर, गम्भीर प्रकृतिका बाहेक सानातिना विवादले टुंगिएका विवाहलाई भने जोगाउन सकिने ठाउँ भए जोगाउनलाई प्रयत्न गर्नुपर्ने मनोचिकित्सकसमेत रहेकी अधिवक्ता थापा बताउँछिन् । किनभने सम्बन्ध विच्छेद गर्दैगर्दा उनीहरुका बालबच्चाहरुको मनोविज्ञानमा कति ठूलो असर गर्छ, उनीहरुको बौद्धिक र मानसिक विकासमा कस्तो उल्झन आउँछ, त्यसतर्फ गम्भीर हुनुपर्ने थापाको सुझाव छ ।

उनी भन्छिन्, ‘हामीले आफ्नो लागि मात्रै होइन, बालबच्चा छ भने उनीहरुको एंगलबाट पनि हामीले लिने निर्णय कति सही छ भनेर हेर्नुपर्छ । नत्र भोलिका दिनमा अर्को जटिल दुर्घटना घट्न सक्छ ।’

एक हजारभन्दा बढी जोडीको सम्बन्ध विच्छेद गराइसकेकी अधिवक्ता भण्डारी भन्छिन्, ‘बच्चाहरु काँचो माटो हुन् । त्यसबाट के बनाउने, त्यो हाम्रै हातमा हुन्छ । राम्रो वातावरणमा हुर्कन पाउनु बच्चाको अधिकार हो । त्यही भएर श्रीमान–श्रीमतीले सम्बन्ध विच्छेद नै गरे पनि बच्चाको सवालमा संयम हुन आवश्यक हुन्छ । एक-अर्काबीचको झगडालाई टाढै राखेर बच्चाको सुन्दर भविष्यको ढोका खोलिदिन कोसिस गर्नुपर्छ ।’

सम्बन्ध भनेको कर्कलाको पानी हो, जुन दिन झर्‍यो, सकियो : अधिवक्ता कोइराला

सम्बन्ध भनेको भावना हो । वैवाहिक वा पेशागत वा पारिवारिक सम्बन्धहरुलाई भावनाले नै जोड्ने हो । भावना मिलेको आभास हुने चाहिँ रुचि, अनुभव, भूगोललगायत कुराहरु साझा भए भने हो । भावना मिल्नलाई केही न केही साझा हुनुपर्छ भनिन्छ ।

जहाँ ‘यो मेरो हो’ वा ‘आफ्नो हो’ भन्न सकिने भावना हुन्छ, त्यहाँ सम्बन्ध हुँदोरहेछ । जहाँ ‘यो मेरो’ वा ‘ऊ मेरो हो’ भन्न सकिँदैन, त्यहाँ पुगेर सम्बन्ध सकिँदो रहेछ । कर्कलाको पातमा अड्किएको पानीको थोपा हावाहुरी चलेन भने पानी राम्रो देखिन्छ । तर, हुरी चल्नासाथ त्यो पानी खसिदिन्छ । जुन दिनसम्म कर्कलाको पातमा पानी रह्यो, त्यो सम्बन्ध रह्यो । जुन दिन झ¥यो, सम्बन्ध सकियो ।

सम्बन्ध हो र त झगडा पर्छ । जोसँग सम्बन्ध छैन, ऊसँग झगडा नै पर्दैन । पार्टनरबीचको झगडाले अन्य कुरालाई असर गर्छ कि गर्दैन भनेर सोच्न सक्यौं भने धेरै थोक परिवर्तन हुन्छ । सम्बन्ध विच्छेदसम्म पुग्न जुन कारण बनेको छ, त्यसलाई थोरै परिवर्तन गरेर सोच्दामात्रै धेरै बदलाव आउँछ । बाहिरका मान्छेहरुको कुरा सुनेर निर्णय नलिई मेरो सम्बन्ध जोगाउन मैले के पहल गरेको छु भन्ने सोच्दामात्रै धेरै थोक हुन्छ ।

सम्बन्ध जोगाउनमात्रै जोगाउने होइन । तर, एक्लै हुँदा जति शक्ति हुन्छ, दुई हुँदा शक्ति बढेर जान्छ । विवाह भनेको सम्बन्धलाई वैधानिकता दिन हो । अर्को त विवाहले लक पनि लिएर आउँछ । काम गर्ने क्षमता वृद्धि गर्नेदेखि लिएर कामहरू सफल पनि हुने गर्छन् । त्यो पाटोबाट हेर्न सकियो भने सम्बन्ध जोगिन्छ । हामीकहाँ आएका क्लायन्टहरूलाई हामी सुरूमा यही सल्लाह दिन्छौं । यदि अवस्था गम्भीर हो भने पेशागत हिसाबले त्यसैअनुसार कानूनी प्रक्रिया अगाडि बढाइदिन्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *