चलचित्र ऐनको ड्राफ्ट बनिसक्यो : अध्यक्ष केसी, ‘काँडेतार’ निर्माताको अदालत जाने चेतावनी (भिडिओ) – Nepal Press

चलचित्र ऐनको ड्राफ्ट बनिसक्यो : अध्यक्ष केसी, ‘काँडेतार’ निर्माताको अदालत जाने चेतावनी (भिडिओ)

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माण गर्न सरकारसँग आवश्यक पहल भइरहेको बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा बुधबार भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिबद्धता जनाएको बताएका हुन् ।

‘चलचित्र ऐन बनाएर हामीले मन्त्रालयमा बुझाइसकेका छौं, मन्त्रालय र मन्त्रीज्यूले यसलाई सक्दो चाँडै कार्यान्वयनमा लैजाने आश्वासन दिनुभएको छ’, अध्यक्ष केसीले भने ।

उनले चलचित्र निर्माण गर्न विकास बोर्डले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए ।

अध्यक्ष केसीले सरकार, सम्बन्धित निकाय र कलकार तथा सञ्चारमाध्यम सबै मिलेर चलचित्र विकासमा सहयोग गर्नुपर्ने औंल्याए ।

अदालत जाने ‘काँडेतार’का निर्माता खड्काको चेतावनी

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ‘काँडेतार’ चलचित्रका कुनै दृश्य र संवाद नकाटिकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिए ।

उनले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरु काटेरमात्रै प्रशारण गर्न भन्दै चलचित्र प्रदर्शनमा रोक लगाएको बताए ।

निर्माता खड्काले चलचित्रमा हटाउनैपर्ने कुनै पनि त्यस्ता दृश्य नरहेकाले सबै दृश्य र संवाद राखेर प्रदर्शन गर्न दिन आग्रह गरेको बताए ।

‘सेन्सर सर्टिफिकेट मैले पाएको छैन, सेन्सर बोर्डले सधैंको लागि चलचित्रलाई ब्याण्ड गरेको पनि होइन । त्यहाँ केही संवाद र दृश्यहरु सुधारेर ल्याउन सुझाव दिनुभएको छ । मैले कुनै पनि दृश्य नकाटिकन दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको छु, सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायालय अदालत छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर