‘माया कहाँ सजिलै मर्दोरहेछ र ?’ – Nepal Press

‘माया कहाँ सजिलै मर्दोरहेछ र ?’

जेरी भन्छिन्- डिभोर्सपछि पहिलोपटक भेट्दा झन् धेरै माया लाग्यो

काठमाडौं । लोकदोहोरी क्षेत्रमा अत्यधिक रुचाइएकी गायिका हुन् बबिता बानियाँ उर्फ जेरी । दर्शकबाट अपार माया पाइरहेकी यी सदा हँसमुख गायिकाको व्यक्तिगत जीवनमा हालै मात्र नयाँ ट्विस्ट आयो । लोकसंगीतमै सक्रिय श्रीमान् शंकर क्षेत्रीसँगको वैवाहिक सम्बन्धमा उनले पूर्णविराम लगाइन् ।

जेरी र शंकरको डिभोर्सको खबरले मिडिया र सोसल मिडियामा निकै ठूलो स्पेस पाएको थियो । उनीहरूका शुभचिन्तक दुखी बनेका थिए । छुट्टिने क्रममा दुवैले एक–अर्कालाई नमिठा आरोपहरू पनि लगाए । त्यसले गर्दा अब यो जोडीलाई फेरि एकसाथ देख्न पाइएला भन्नेमा संशय थियो ।

तर, एकाएक जेरी र शंकरका फ्यानहरूले खुशीको समाचार पाएका छन् । सबैलाई सर्प्राइज दिँदै उनीहरू सम्वन्ध विच्छेद भएको ६ महिनामै फेरि जोडिन पुगे । तर, वास्तविक जीवनमा भने होइन । उनीहरूले रिललाइफमा सहकार्य गरेका छन् । एउटा म्युजिक भिडियोमा सँगै अभिनय गरेसँगै जेरी र शंकर रियल लाइफमा पनि फेरि एक हुँदैछन् कि भन्ने अनुमान गर्न थालिएको छ । दर्शकहरू उनीहरूले अभिनय गरेको भिडियोमा व्यग्र पर्खाइमा छन् ।

पानी बाराबार जस्तो अवस्थामा रहेका उनीहरू यति छिटो कसरी सहकार्यका निम्ति तयार भए ? हामीले जेरीसँगको कुराकानी यही प्रश्नबाट सुरु गर्‍यौँ :

जेरीले जवाफ दिइन्–

मैले (डिभोर्सका बेला) भविष्यमा सहकार्य हुन गाह्रो छ भनेकी थिएँ, तर असम्भव छ भनेकी थिइनन् । दुवैजना एउटै क्षेत्रमा छौँ । कतै न कतै ठोक्किनु त स्वभाविक थियो ।

जब मैले ‘तिमी रहरै रहरमा टाढियौ, म बाध्यताले छुटेँ’ गीत लेखेँ, यो गीतमा मैले उहाँलाई बाहेक अरू कसैलाई कल्पना नै गर्न सकिनँ । त्यही भएर मैले नै उहाँलाई प्रस्ताव राखेँ । हाम्रै जीवनसँग मेल खाने गीत भएकाले उहाँले सुनेर प्रतिक्रिया दिन्छु भन्नुभयो । पछि उहाँलाई पनि गीत मन पर्‍यो र सहकार्य गर्ने निधो गरियो।

लामो समयपछि पूर्व श्रीमानसँग सहकार्य कत्तिको सहजता भयो त ?

एकदमै फरक किसिमको अनुभव रह्यो । नटुट्नु पर्ने नाता टुटेकाले पहिलोपटक भेट्दा अलिक असहज नै महसुस भयो । काम गर्न थालेपछि भने मैले त हामी छुटेका हौँ भन्ने पनि बिर्सिएँ ।

भिडियो खेल्ने प्रस्ताव उहाँलाई आफैँले राख्नुभएको थियो कि अरू मार्फत ?

मैले आफैँ सम्पर्क गरेको थिएँ ।

तर सबै माध्यममा ब्लक छौँ भन्ने कुरा गर्नुभएको थियो नि ?

फोन नम्बरमा ब्लक छैनौँ । अरूमा त अहिले पनि ब्लक छौँ । हाम्रो प्रायः व्हाट्सएपमा कुराकानी हुन्छ । एउटा माध्यम त चाहियो नि कुरा गर्न । छोरी छ । उसको विषयमा बेलाबेलामा कुरा गर्नुपर्छ ।

यो गीत कहिले रिलिज हुन्छ त ?

हामीले दुईवटा गीत गरेका छौँ । भिडियोको काम सकिएको छ । चाँडै रिलिज गर्ने तयारी गर्दैछौं ।

‘तिमी रहरै रहरमा टाढियौ, म बाध्यताले छुटेँ’ गीत तपाईँको वास्तविक जीवनमै आधारित हो ?

दुवै गीतमा मेरै शब्दहरू छन् । लगभग सबै गीतहरू सर्जकको जीवनसँग अथवा अरू कुनै व्यक्तिको जीवनसँग मेल खाने प्रकारकै हुन्छन् । ‘तिमी रहरै रहरमा टाढियौ, म बाध्यताले छुटे, यति नै त हो फरक हामीमा’ बोलको यो गीत चाहिँ पक्कै पनि मेरो आफ्नै अनुभूति हो । यसमा गायक कुशल बेलबासे र गायिका शान्ति परियारले स्वर दिनुभएको छ ।

अर्को रोमान्टिक गीत छ– ‘कहिले बुझ्छौ मायालु, हाम्रो पनि मनै त हो नि’ बोलको । यो गीत हामीले छुट्टिनुअघि नै लेखेका थियौँ । उहाँ मलाई संसारमा सबैभन्दा मन पर्ने मान्छे भएकाले उहाँलाई राजकुमारको परिकल्पना गरेर मैले यो गीत लेखेकी थिएँ । अडियो भिडियोको काम पनि त्यही समय सकिएको थियो । तर त्यो बेलाको अडियो–भिडियोमा म आफै सन्तुष्ट थिइनन् । पछि सोचेजस्तो परिणाम पनि आएन । त्यसैले हामीले यो गीतलाई रि–सुट गरेका हौँ । यो गीतमा हामी दुवैले स्वर दिएका छौँ ।

भाइरल हुनका लागि पूर्व श्रीमानसँग गीत निकाल्नुभएको त होइन ?

मान्छेको आ–आफ्नो हेर्ने दृष्टिकोण हो । यो भाइरल भन्ने शब्द मेरो जिन्दगीमा आवश्यक नै छ जस्तो लाग्दैन । हामीलाई किन भाइरल हुनुपर्‍यो ? हामीले अगाडि गरेका कर्मले गर्दा नै दर्शकले हामीलाई चिन्नुहुन्छ । हामी दर्शकले मन पराएर र रुचाएर एउटा लोकप्रियता हासिल गरिसकेका मान्छे हौँ । भाइरल हुन आवश्यक नै छैन । सोच्नेले त के–के सोच्लान् सोच्लान् । नाटक–नौटङ्की गरे भन्लान् । भाइरल बन्न खोजे भन्लान् । सोच्न पाइयो । म यस विषयलाई गम्भीर रूपमा लिन्न । भाइरल नै हुन्छ भन्ने पनि के ग्यारेन्टी छ र ? तर कुनै भाइरल हुनलाई गरेको काम होइन, यो एउटा सांगीतिक सहकार्य हो । मेरो आत्मसन्तुष्टि हो ।

‘तिमी रहरै रहरमा टाढियौ’ गीत लेख्दाखेरि नै पूर्व श्रीमानलाई खेलाउने सोच्नुभएको थियो कि पछि निर्णय लिनुभएको हो ?

भाका बनाउँदा भिडियोको कन्सेप्ट दिमागमा आइसकेको थिएन । सुरुमा लेख्दा जीवनमा आधारित गीत बन्ला जस्तो छ भनेर मैले कोसिस गरेँ । स्टुडियोमा रेकर्ड गर्न गएपछि भने मलाई उहाँको याद आयो । उहाँको अभिनयले यो गीतमा थप यथार्थ झल्काउँछ भन्ने महसुस भयो । त्यसपछि मैले उहाँलाई प्रस्ताव गरेँ ।

यो गीत र तपाईँको भनाइहरूले तपाईँ सम्वन्धविच्छेद गरेर खुशी हुनुहुन्न भन्ने भाव झल्काउँछ नि ?

गीतमा यो शब्द हामी दुवैले प्रयोग गरेका छौँ । गाएका छौँ । बुझाइ आफ्नो–आफ्नो हो । जसरी बुझ्दा पनि भयो ।

तपाईंहरुबीच सुटिङका क्रममा व्यक्तिगत र पारिवारिक कुराकानीहरू पनि भए ?

व्यक्तिगत भन्दा पनि पारिवारिक कुराकानी भए । बच्चाको बुवा आमा भएपछि उसको बारेमा कुराकानी हुनु स्वभाविक हो ।

उहाँलाई पारिश्रमिक दिएर खेलाउनुभएको हो ?

पारिश्रमिक त पराईलाई दिने हो । आफ्नो मान्छेसँग पारिश्रमिकको के गन्ती हुन्छ र ? हामी दुईजना जोडिएर काम गरिसकेपछि त्यहाँ पारिश्रमिकको कुरै आउँदैन ।

उहाँ पनि अर्को विवाह नगरी बस्नुभएको छ । फेरि मिल्ने सम्भावना छ कि छैन ?

यस विषयमा अहिलेसम्म मैले केही सोचेकी छैन । उहाँले पनि सोच्नुभएको छैन होला । बच्चालाई चाहिँ दुवैतर्फबाट राम्रो गर्ने सोच छ । एक–अर्कालाई सक्ने सर्पोट गर्ने भन्ने छ । सांगीतिक सहकार्य हुनेछ । मिल्ने नै भन्ने चाहिँ छैन । सम्भावना त रहन सक्छ ।

पूर्व श्रीमानको अझै माया लाग्छ ?

यो संसारमा जे छ, मायाले गर्दा त छ । मायाबिना केही छैन । मसँग छुटेपछि जिम जान थाल्नुभएछ । अलिकति दुब्लाएको र अनुहार खिस्रिक्क परेको जस्तो देखेँ । त्यो देखेपछि मलाई उहाँको पहिलाभन्दा धेरै माया लाग्यो । ७, ८ वर्ष प्रेम भएर विवाह गरेको मान्छे हो, त्यति सजिलै माया कहाँ मर्छ र ?

डिभोर्स भएपछि तपाईँहरूको कत्तिको भेटघाट हुने गरेको छ ?

मैले एक–दुई चोटि जुनकिरीमा जाँदा उहाँलाई भेटेको थिएँ । तर बोलचाल भने भएन । नानीको विषयमा व्हाट्सएपमै कुरा हुन्छ । प्रत्यक्ष रुपमा चाहिँ मैले उहाँलाई छायांकनमै भेटेकी हुँ ।

शंकरजी छोरीलाई भेट्न आउनुहुन्न ?

आउनुहुन्छ । तर मसँग भेट हुँदैन । उहाँ ट्याक्सीमा आउनुहुन्छ । छोरीलाई लिएर जानुहुन्छ । दिनभरि राख्नुहुन्छ, अनि बेलुका ल्याइदिनुहुन्छ । त्यहीबेला यसो देखादेख हुन्छ ।

सम्बन्ध टुटेपछि तपाईँ जुनकिरीबाट निस्किनुभएको हो र ?

मैले हाम्रो सम्बन्ध विच्छेदपछि जुनकिरी छोडेकी थिएँ । अलिअलि कारोबार मिल्न बाँकी थियो । तर अब परिस्थिति बदलियो भने त्यो सोच पनि परिवर्तन हुनसक्छ ।

परिस्थिति परिवर्तन भनेर सम्बन्ध राम्रो हुन लागेको संकेत दिन खोज्नुभएको हो ?

यो म्युजिक भिडियोमा सहकार्य गर्नु नै एउटा गौड मार्ग हो । (गम्भीर हुँदै) सकारात्मक नै सोचाैँ न ।

–दर्शकहरुले फेरि तपाईँहरू मिल्नुहोस् भन्ने चाहिरहेका छन् । कमेन्टहरू पढ्दा कस्तो महसुस भएको छ ?

हामीलाई निष्पक्ष माया गर्ने दर्शकहरूले हामी फेरि पनि मिलेको हेर्न चाहनुभएको छ । मेरो पनि छोरीको लागि बुवा आमा एक भएको राम्रो हो भन्ने सोच हो । हामी जहाँ भए पनि छोरीप्रतिको माया कहिले कम नहोस् । दर्शकको हामीप्रतिको सकारात्मक शुभकामना, शुभेच्छा र आर्शीवाद त सधैँ रही नै रहनेछ । अब केही दिनमा म युके जाँदै छु । दर्शकको साथ सधैँ यस्तै रहिरहोस् ।

युके कति समयको लागि जान लाग्नु भएको हो ?

यसपालि अलि धेरै समयको लागि जाँदै छु । कार्यक्रम छ । २, ३ महिनै लाग्छ होला ।

तपाईँ उता हुँदा यता छोरीको रेखदेख कसले गर्छ ?

म उता हुन्जेल छोरीलाई शंकरजीले हेर्ने र राख्ने कुरा भएको छ ।

तपाईँलाई छोड्न शंकरजी एयरपोर्ट आउनुहोला ?

त्यो त मलाई थाहा भएन । तर हिँड्नुस् भन्यो भने सायद जानुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *