सीमा क्षेत्रमा लागुऔषधको गोदाम राख्ने महिला पक्राउ – Nepal Press

सीमा क्षेत्रमा लागुऔषधको गोदाम राख्ने महिला पक्राउ

रूपन्देही । रुपन्देही प्रहरीले जिल्लाको भैरहवास्थित सीमा क्षेत्रमा लागुऔषधको गोदामसहित सप्लाइमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको छ ।

बेलहियाबाट पक्राउ परेकी महिलाले घरमै लागुऔषध भण्डारण गर्ने र सप्लाइ गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- १ बस्ने २६ वर्षीया मञ्जु गुप्ता रहेकी छन् । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गुप्ता बस्दै आएको घरमा पुगेको इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीको प्रहरी टोलीले गुप्ताको शरीर तथा उनी बस्दै आएको घरकोठा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित औषधि तथा चरेश फेला पारेको छ ।

प्रहरीले गुप्ताको घरकोठाबाट चरेश १ केजी ७५० ग्राम, फेनारागन १४१ एम्पुल, आईपीपीएल १३६ एम्पुल, डाइजेपाम (सिरिजेक) १४१ एम्पुल, स्पास्मो १७० क्याप्सुल तथा कोरेक्स २ बोतल बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।

पक्राउ परेकी गुप्तामाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *