महिला कर्मचारीसँग डीनको अश्लील हर्कत प्रकरण-छानबिन समितिका संयोजक र सदस्यको राजीनामा – Nepal Press

महिला कर्मचारीसँग डीनको अश्लील हर्कत प्रकरण-छानबिन समितिका संयोजक र सदस्यको राजीनामा

काठमाडौं । महिला कर्मचारीसँग कार्यकक्षमा अश्लील हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तमाथि छानबिन गर्न गठित समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन् । जुम बैठक चलिरहेको बेला महिला कर्मचारीलाई तानेर अश्लील व्यवहार गरेको भिडिओ सार्वजनिक भएसँगै दत्त निलम्बित भइसकेका छन् ।

उक्त घटनाको छानबिनका लागि गठित समितिका संयोजक प्रा.डा. श्रवणकुमार साह र प्रा. नारायणराज जोशीले रजिष्ट्रारसमक्ष राजीनामा दिएका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको कार्यालयले छानबिन समिति बनाएको थियो ।

संयोजक साह र सदस्य जोशीले विषय संवेदनशील भएको र यस विषयमा आफ्नो दख्खल नभएको भन्दै आइतबार राजीनामा दिएका हुन् ।

प्राध्यपकद्वयले कृषि संकायका डीन प्रा. जय प्रकाश दत्तसँग सम्बन्धित समाजिक संजालमा देखिएको विषयवस्तु संवेदनशील भएको हुँदा सो सम्बन्धमा के कसो भएको हो अध्ययन गरी सत्य तथ्यसहित राय सुझाव प्रतिवेदन पेश गर्न भनिएकोमा आफूहरूमा उक्त विषय सम्बन्धि कुनै सीप तथा दख्खल नभएकाले राजीनामा बुझाएको बताए ।

हामीसँग यस सम्बन्धी दख्खल छैन त्यसकै असमर्थता प्रकट गर्दै राजीनामा दिएको प्राडा श्रवणकुमार साहले बताए । उनले भने,‘हाम्रो असमर्थता रहेको आफ्नै कार्य व्यस्तता र स्वास्थ्यको कारणले पनि छानविनमा समय दिन न सकिने अवस्था रहेकोले सो छानबिन समितिबाट राजिनामा दिएको हौं । ’

जुम बैठक चलिरहँदा चियाको गिलास लिएर आएकी महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तलाई बिहीबार निलम्बन गरेको थियो । विश्वविद्यालयले उनलाई निलम्बन गरेर थप अनुसन्धान गर्न छानविन समिति बनाउने निर्णय गरेको थियो ।

सेवा निवृत्त प्रा.डा.श्रवणकुमार साहको संयोजकत्वमा छानविन समिति बनाइएको थियो । उनको संयोजकत्वमा सदस्य, प्रा.डा. दुर्गा देवकोटा र सदस्य प्रा. नारायणदत्त जोशीसहित तीन सदस्यीय रहेका थिए ।

उनीहरूले पत्र बुझ्न अस्वीकार गरेपछि बलजफ्ती ईमेलबाट हालिएको स्रोतले बतायो । प्रा.डा. दुर्गा देवकोटा पनि छानविन समितिमा नबस्ने भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *