एमाले नेता उत्पादन गर्ने रत्न राज्यलक्ष्मी: तालाबन्दीका कारण चुनाव अनिश्चित – Nepal Press

एमाले नेता उत्पादन गर्ने रत्न राज्यलक्ष्मी: तालाबन्दीका कारण चुनाव अनिश्चित

काठमाडौं । यही चैत ५ गते देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा हुने स्ववियु निर्वाचन काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा भने अनिश्चित भएको छ । पाँच हजार हाराहारी मतदाता भएको आरआरमा त्रिभुवन विश्वविद्यालयले तोकेकै मितिमा निर्वाचन हुने सम्भावना लगभग सकिएको बताउँछन् निर्वाचन समितिका अध्यक्ष विनोद मन्जन । चाँडोभन्दा चाँडो विद्यार्थी संगठनबीच सहमति नभए निवार्चन पछाडि धकेलिने उनले बताए ।

गएको २६ गते नेकपा एकीकृत समाजवादी निकट अखिल, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरेका थिए । अनलाइनमार्फत् सार्वजनिक गरिएको मतदाता नामावलीलाई क्याम्पस प्रशासन र निर्वाचन समितिको संलग्नतामा हेरफेर गरिएको भन्दै एमाले निकट अखिलबाहेकका विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए ।

उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै कुनै एउटा संगठनलाई फाइदा पुग्ने गरी गतिविधि भइरहेकाले तालाबन्दी गर्न बाध्य भएको उल्लेख गरेका थिए । उनीहरुले अनेरास्ववियुलाई लक्षित गर्दै विज्ञप्तिमा लेखेका थिए, ‘कुनै अमुक एउटा संगठनलाई फाइदा पुग्ने गरी षड्यन्त्र र जालझेलपूर्ण तरीकाले व्यापक चलखेल गरी मतदाता नामावली सार्वजनिक गरिएको हुँदा हामी उक्त हर्कतप्रति गम्भीर आपत्तिसहित खेद प्रकट गर्दछौं ।’

तालाबन्दीकै कारण आरआर क्याम्पसमा उम्मेदवारी मनाेनयन भएको छैन । निर्वाचन आयुक्त मन्जन त्रिविले तोकेको मिति ५ गते नै निर्वाचन हुने सम्भावना कमै रहेको बताउँछन् । उनी भन्छन्, ‘वेलैमा सबै मिलेर गए भने चुनाव हुनसक्छ ।’

पहिलो खोलिएको भोलिपल्टै फेरि लाग्यो तालाबन्दी

क्याम्पसमा लागेको ताला खाेल्ने र निर्वाचनको प्रक्रिया अगाडि बढाउने कुरामा आफूहरु सकारात्मक रहेको सत्ता गठबन्धनका तर्फबाट सभापतिका उम्मेदवार मुकेश कुँवर बताउँछन् । तर, निर्वाचन अधिकृत र क्याम्पस चिफ नै समस्या सल्टाउनुको साटो भागेर झनै जटिल र परिस्थिति बनेको कुँवरको भनाइ छ ।

उनले भने, ‘क्याम्पस चिफ र निर्वाचन अधिकृत नै गायब हुनुभएको छ । हामीले गएको २६ गते ताला लगाएपछि उहाँहरु देखिनुभएको छैन ।’

नियमविपरीत फर्जी भर्ना गर्नेलगायतका क्रियाकलाप भएकाले त्यसलाई रोक्न आफूहरुले ताला लगाएको कुँवरको दाबी छ । उनका अनुसार गएको फागुन ४ गतेसम्म भर्ना गर्नुपर्ने हो । तर, पछि पनि क्याम्पस प्रशासनले फर्जी भर्ना लिएको कुँवरको दाबी छ ।

तालाबन्दी खोल्न पहिलो सर्त नै फर्जी भर्ना स्थगित गर्नुपर्ने आफूहरुको माग रहेको बताउँछन् कुँवर । ‘गएको चैत दोस्रो साता नामावली प्रकाशन गर्दा पुरानो बीए दोस्रो वर्षको ब्याचमा १३ सय विद्यार्थी थिए । तर, अहिले नामावलीमा हजारमात्रै निस्किएको छ । किन त्यसरी नामावली निस्कियो, स्पष्ट छानबिन हुनुपर्छ’, कुँवर भन्छन्, ‘उहाँले (विनोद मन्जन) आफ्नो संगठनलाई घाटा लाग्ने भएकाले त्यस्तो काम गर्नुभएको हो । निर्वाचन समितिले त समन्वयकारी भूमिका पो निर्वाह गर्नुपर्छ । विनोदजी र क्याम्पस चिफको फोन उठ्दैन । हामी कलेजमा भएको विद्यार्थीसँग कुरै गर्न चाहनुहुन्न । म त गठबन्धनको सभापतिको उम्मेदवार हो ।’

तर, मन्जन भने आफूले सबै विद्यार्थी नेताहरुको फोन उठाइरहेको र समन्वयका लागि भूमिका निर्वाह गरिरहेको बताउँछन् । आफूहरुले नामावली सार्वजनिक गर्दा पनि तथ्यमा आधारित रहेर नै सावर्जनिक गरिएको उनको दाबी छ ।

आरआर क्याम्पसका पूर्वस्ववियु सभापति मन्जनले भने, ‘तथ्य हेरे भइहाल्छ । सबैले दुवै पटक सार्वजनिक गरिएको नामावलीको लिस्टलाई वेबसाइटमा सार्वजनिक गरेका छौं । हामीले २१ गते नेविसंघले लगाएको तालाबन्दी २५ गते खोलेको हो । तर, दोस्रो नामावली निकालेपछि २६ गतेबाट फेरि तालबन्दी लगाइयो ।’

अदालतको आदेश लिएर भए पनि चुनाव लड्ने रणनीतिमा अखिल

आउँदो चैत ५ मा चुनाव नभए पनि अदालतबाट आदेश लिएर भए पनि चुनाव लड्ने रणनीतिमा एमाले निकट अखिल छ । अखिलले सबै उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रिएको छ । तर, सत्ता गठबन्धनले भने अनधिकृत रुपमा उम्मेदवार घोषणा गरेको छैन । भागबन्डामा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका कुँवर आधिकारिक उम्मेवदार हुन् ।

नेविसंघका नेताहरु भने २६ गतेको तालाबन्दी अखिल क्रान्तिकारी र अनेरास्ववियूले गरेको दाबी गर्छन् । भर्नामा समस्या भएपछि क्याम्पसमा लफडा भएको र छानबिन समितिले काम गरिरहेको उनीहरुको भनाइ छ ।

सत्ता गठबन्धनका कारण अनेरास्ववियू पनि बलियो भएकाले चुनाव कसले जित्न सक्छ, दृश्य स्पष्ट भइनसकेको बताइन्छ । तर, केही विद्यार्थी नेताहरु भने कसले जित्छ भन्ने स्पष्ट नभएकैले आरआरमा निर्वाचन हुनेमा संशय प्रकट गर्छन् । उनीहरुका अनुसार यदि निर्वाचन भएमा जसले पनि जित्नसक्ने माहोल छ । पछिल्लो पटक सार्वजनिक भएको मतदाता नामावलीअनुसार ४८ सय विद्यार्थी आरआरमा छन् ।

अखिलका सभापति उम्मेदवार भण्डारी भने आफूहरुको जीत स्पष्ट भएको बताउँछन् । भन्छन्, ‘जीत हाम्रो सुनिश्चित छ । अन्य संगठनका साथीहरु चुनाव भाँड्नतिर लाग्नुभएको छ । अदालतबाट विशेष आदेश लिएर भए पनि चुनाव हुन्छ, हामी जित्छौं ।’

आरआर : एमाले नेताहरु जन्माउने कारखाना

आरआर क्याम्पसमा अहिलेसम्म भएका १४ वटा निर्वाचनमा एमाले निकट अखिलले सबै सभापति जितेको छ । अखिलको गढको रुपमा पनि आरआर क्याम्पसलाई लिइन्छ । यही क्याम्पसमा विद्यार्थी राजनीति गरेका धेरै नेताहरु अहिले मूल पार्टीमा निर्णायक छन् ।

२०३६ सालमा केशरबहादुर खत्रीले जितेका थिए । उनैले २०३८ सालमा पनि जिते । तर, अहिले सक्रिय राजनीतिमा भने छैनन् । २०४१ सालमा कृष्णप्रसाद भट्टराईले स्ववियु सभापति जितेका थिए । २०४८ सालमा उनी पर्वतबाट सांसद निर्वाचित पनि भएका थिए । भट्टराई पनि अहिले सक्रिय राजनीतिको दृश्यमा छैनन् ।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले २०४३ सालमा आरआरमा स्ववियु सभापति जितेका थिए । नेकपा एसकै केन्द्रीय सदस्य दामोदर अर्याल २०४५ सालमा सभापति निर्वाचित भएका थिए । नेकपा एसकै नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई पनि २०४९ सालमा आरआरका निर्वाचित स्ववियु सभापति हुन् ।

२०५१ सालमा अखिलबाट राजन बस्नेतले जितेका थिए । अष्ट्रेलियामा रहेका बस्नेत अहिले नेकपा एसमा सक्रिय छन् । २०५१ सालमै आरआरबाट टिकट नपाएपछि ताहाचल गएर लडेका एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराई ताहाचल क्याम्पसमा गएर सभापतिमा निर्वाचित भएका थिए । २०५१ सालमै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी अखिलबाटै स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।

एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार २०५३ सालमा स्ववियु सभापति निर्वाचित भएका थिए । राष्ट्रिय खेलकुद परिषदमा रहेका महेन्द्र राई अखिलबाटै २०५५ सालमा सभापति निर्वाचित भएका थिए । अहिले निर्वाचन समितिको अध्यक्ष रहेका मन्जनले २०५७ मा सभापति जितेका थिए । २०५९ मा अखिलकै बालगोपाल उपाध्याय सभापति निर्वाचित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् ।

२०६२ मा अखिलबाट जितेका नवराज पौडेल अहिले नेकपा एसको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष छन् । २०६५ मा जितेका राजकुमार राई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका स्वकिय सचिव थिए । २०७३ मा अन्तिमपटक अखिलबाट तपेन्द्रबहादुर शाहीले सभापति जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर