‘जनयुद्ध दिवस’ प्रति सत्ता साझेदार दलहरूमा असन्तुष्टि, माओवादीमा उत्सव – Nepal Press

‘जनयुद्ध दिवस’ प्रति सत्ता साझेदार दलहरूमा असन्तुष्टि, माओवादीमा उत्सव

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय लिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । स्वयम् सत्ता साझेदार दलहरू नै सरकारको यो निर्णयमा असन्तुष्ट देखिएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले आफैँ ठाडो प्रस्ताव लगेर जनयुद्ध दिवसमा बिदा दिने निर्णय गराएका थिए । यो प्रस्ताव लगिँदैछ भन्ने सुइँको पाएर सत्ता साझेदार दल राप्रपाका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी नै भएनन् । सरकारको यो निर्णयलाई लिएर सबैभन्दा बढी राप्रपामै असन्तुष्टि देखिएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा स्टाटस लेखेर आक्रोश प्रकट गरेका छन् । उनले यसलाई ‘निभ्न लागेको बत्ती चम्किन खोजेको’ भन्दै कटाक्षसमेत गरेका छन् ।

‘नेपालीले नेपाली मारेकोमा दिवस मनाउने ?’ मिश्रको आक्रोशित प्रश्न छ, ‘ठीक छ, यति तल गिर्नै थियो’ गिर्दैछौं । रसातलमा नै पुग्न आँटेका छौँ । त्यसपछि यो राष्ट्रघाती विकृत अग्रगमनको प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ ।’

मिश्रले ४/५ हजार मान्छेले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्न नमिल्ने तर्क गरेका छन् । त्यो केवल सशस्त्र विद्रोह मात्र भएको उनको भनाइ छ ।

यसअघि राप्रपाको जोडबलमा सरकारले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको थियो । त्यसबेला आफ्नो इच्छाविपरीत बिदा दिन बाध्य भएका प्रचण्डले अहिले त्यसको साटो फेर्न खोजेको राप्रपा नेताहरूको बुझाइ छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एउटा हिंसात्मक आन्दोलनलाई ‘दिवस’ को मान्यता दिएर सार्वजनिक बिदा दिनु गलत भएको बताए ।

पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भने कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

यता सबैभन्दा ठूलो सत्ता साझेदार दल एमाले पनि सरकारको निर्णयप्रति बेखुस देखिएको छ । हिजोको बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीले सार्वजनिक बिदा दिन नहुने राय व्यक्त गरेका थिए । आज एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको निर्णयमा घुमाउरो असहमति जनाएका छन् ।

४६ सालपछिका सबैखाले जनसंघर्षको उच्चतम उपलब्धि गणतन्त्रको स्थापना भएको पोखरेलको भनाइ छ ।

‘गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?’ उनले प्रश्न गरेका छन् ।
एमालेकै नेता गोकुल बास्कोटाले पनि सार्वजनिक बिदाको निर्णयलाई लिएर प्रधानमन्त्री प्रचण्डमाथि कटाक्ष गरेका छन् ।

उनी लेख्छन्, ‘अस्तिसम्म बिदा बढी भो भन्थे प्रम पुष्पकमल दाहाल । किन रै’छ भनेको त पूर्व देखाएर पश्चिम हान्न रहेछ । तैं चुप मै चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेको त्यसै होइन रहेछ पुर्खाले ।’

यता सार्वजनिक बिदाको निर्णयपछि जनयुद्ध लडेको पार्टी माओवादीमा भने उत्सवको माहौल देखिएको छ । सो पार्टीका नेता कार्यकर्ताहरू आपसमा खुशी साटासाट गरिरहेका छन् ।

उनीहरूले सामाजिक सञ्जालमा पनि सरकारलाई धन्यवाद दिएका छन् । आज माओवादी मुख्यालय पेरिसडाँडामा जनयुद्ध दिवसका कार्यक्रम राखिएको छ । सरकारी स्तरबाट भने कुनै कार्यक्रम छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर