देशमा ठूलो सुरक्षा चुनौती छैन : प्रधानसेनापति शर्मा (भिडिओ) – Nepal Press

देशमा ठूलो सुरक्षा चुनौती छैन : प्रधानसेनापति शर्मा (भिडिओ)

काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका हुन् ।

संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको उनले स्पष्ट पारे ।

उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ति समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका बताए । उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए ।

उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे । त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपुर्याएको उनको भनाई छ ।

शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए । उनले भारत र चीनबिच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए ।

त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताए । यद्यपी उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको विरोध गर्नुपर्ने उनको भनाइ छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताए । देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ ।

उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताए ।

यस्तो छ प्रधानसेनापति शर्माको भनाइः

नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतिहरु देखापरेका छन् ।

यसका साथसाथै कहिलेकाहीँ धार्मिक, सांस्कृतिक एवं जातिय पहिचानको आधारमा सञ्चालन भएका सानातिना घटनाहरु र गतिविधिले गर्दाखेरी हाम्रो नेपाली जनताको एकतामा कतै खलल पुग्छ कि भन्ने परिवेशको आँकलन पनि गरेको छौँ तर अहिलेसम्म हाम्रो एकतामा कुनै असर पुगेको छैन ।

विशेषगरी तराई क्षेत्रमा धार्मिक समस्याहरु बेलाबेलामा उठ्ने गर्छ जुन स्थानीय राजनीतिक पार्टीले नै समाधान गर्न सक्षम भएको पाइएको छ । राष्ट्रिय राजनीतिक जहिले पनि तरल रुपमा हुन्छ । त्यो जस्तै देशमा पनि । त्यो कुनै नयाँ कुरो होइन । यसप्रति हामी चनाखो भएर रहेका छौँ भन्न चाहन्छु ।

ठाउँ ठाउँमा मंगोल नेशनल अर्गनाइजेशन र पहिचानवादी साथीभाईहरु कहिलेकाहीँ विचलित हुन खोजेको हो कि ? भन्ने छ । तर राजनीतिक पार्टीहरुले उहाँहरुलाई बेलैमा राम्रोसँग समन्वय र समझदारीपूर्वक राजनीतिक बाटोमै डोहोर्याएको पाइएको छ । राष्ट्रिय रुपमा समस्याको रुपमा देखिएको छैन ।

धार्मिक गुरुहरुले नचाहिँदो अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा नचाहिँदो कुराहरु प्रविष्ट गर्ने र दुरुपयोग गर्ने र स्थानीय रुपमा एकआपसमा विवाद ल्याउन कोसिस गर्ने । त्यो नै हाम्रो कमजोरी भन्ने बुझिएको छ । राष्ट्रिय एकता कुनैपनि किसिमका यस्ता धार्मिक, सांस्कृतिक क्रियाकलापले खलल पुग्नु हुन्न भन्ने हामी लागेका छौँ ।

सबैलाई त्यही नै भन्ने गरेका छौँ । दुर्गा प्रसाईँ नेतृत्वको गतिविधि अहिलेपनि भइरहेको छ तर सुरक्षालाई असर परेको छैन । संघ र प्रदेश सरकारको स्थायित्वले नै राष्ट्रिय सुरक्षा स्थितिमा पनि सकारात्मक प्रभाव पर्छ ।

विश्व राजनीतिमा चिनको बढ्दो उपस्थिति हुनसक्ने आँकलन हामी गर्छौं । किनकी चिन हाम्रो मित्र राष्ट्र हो । उत्तरपट्टिको एउटा असल छिमेकीको रुपमा रहेको छ ।

साथै साउथ चाइना सिको सुरक्षाको बारेमा युरोपियन थिएटरमा अवश्य पनि उहाँहरुले आफ्नो समस्याहरु राख्न सक्नुहुन्छ । क्षेत्रीय सुरक्षा वातावरणको कुरा गर्ने हो भने अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले हाम्रो क्षेत्रमा केही न केही असर पारिरहेको छ ।

सुरक्षा स्थितिलाई नकारात्मक रुपमा अगाडि बढाउनलाई त्यस्ता सम्बन्धहरुले सघाउ पुर्याउँछ । म्यानमारमा जारी गृहयुद्ध, भारत र चिनबिच दक्षिण एशियाली क्षेत्रमा बढीरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढीरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा परिस्थितिहरुले क्षेत्रिय शक्ति सन्तुलन र स्थिरतामा केही न केही प्रभाव पारिरहेको पाइन्छ । त्यसको असर अवश्यपनि हाम्रो जस्तो देशलाई पर्दछ ।

म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा समेत केही संख्यामा शरणार्थीहरु जसलाई हामी रोहिङ्या शरणार्थी आएर बसेका छन् । तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउनसक्ने सम्भावनाहरु देखिन्छ ।

राष्ट्रिय सुरक्षाको सवाल उठ्दाखेरी हामीले दुईवटा देश आफ्नो छिमेकीहरुलाई कहिल्यैपनि चिढ्याउनु हुँदैन । र उनीहरुले नचाहिँदो कुरा गरेभने बिरोध पनि गर्नुपर्छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि इन्ट्रेष्ट छ । उनीहरुसँग पनि ब्यालेन्स गर्नुपर्छ । चीन, भारत, युरोपियन युनियन र अमेरिकाले जे भन्यो त्यो गर्ने होइन कि हामीले यि छिमेकीलाई चिड्याउनु हुँदैन ।

यिसित मिलेर सकेसम्म फाइदा लिने हो । वार्ता गरेर, कुरा गरेर देशको हितका लागि फाइदा लिने हो । त्यो रुपमा लागेका छौँ । चाहे अमेरिकनसँग कुरा गर्नुपरोस् । सैन्य सहयोग लिनुपर्यो । अभ्यास गर्नुपर्यो ।

चीन, भारतसँग गर्नुपर्यो भनेपनि एकले अर्काको चित्त दुखाउने काममा गर्नु हुँदैन । हामी सजग लिएर काम गरेका छौँ । सबैको सहयोग चाहिन्छ हामीलाई । त्यो सन्तुलन गर्ने काममा हामी अति नै संवेदनशील भएर लागेका छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर