राप्रपाले राष्ट्रपति चुनावमा भाग लिन नहुने प्रवक्ता शाहीको तर्क, पार्टीमा प्रस्ताव लैजाने – Nepal Press

राप्रपाले राष्ट्रपति चुनावमा भाग लिन नहुने प्रवक्ता शाहीको तर्क, पार्टीमा प्रस्ताव लैजाने

काठमाडौं । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका एक उच्च तहका नेताले भावी राष्ट्रपतिको चुनावमा पार्टी सहभागी हुन नहुने मत सार्वजनिक गरेका छन् । यस विषयमा पार्टीभित्र आफूले औपचारिक प्रस्ताव लैजाने उनको भनाइ छ ।

राप्रपा प्रवक्ता तथा कार्यसम्पादन समिति सदस्य ज्ञानेन्द्र शाहीले यस्तो बहस सुरु गरेका हुन् । राजावादी पार्टीले राष्ट्रपतिको चुनावमा भोट हाल्नु विरोधाभासपूर्ण हुने तर्क उनले गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै शाहीले आफू व्यक्तिग रुपमा राष्ट्रपतिको चुनावमा भाग नलिने पक्षमा रहेको बताए । उनले भने, ‘व्यक्तिगत हिसाबले म मतदान नगर्ने पक्षमा छु । तर, पार्टीले के निर्णय गर्छ त्यसमा भर पर्छ । मेरो आफ्नो रिजर्भेसन रहे पनि पार्टीको निर्णय मान्नै पर्छ ।’

उनले पार्टीको संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफूले राष्ट्रपति निर्वाचन ‘बहिष्कार’ को मुद्दा लैजाने पनि बताए ।
‘म अवश्य प्रस्ताव लैजान्छु । हामी राजसंस्था मान्छेले राष्ट्रपतिको चुनावमा सहभागी हुन नैतिक रुपमा मिल्दैन,’ उनले भने ।

त्यसो त राप्रपा संघीयताको खिलाफमा भए पनि प्रदेश चुनाव लडिरहेको छ । अहिले केही प्रदेशमा राप्रपा सरकारमा समेत गएको छ ।

यस विषयमा प्रश्न गर्दा शाहीले भने, ‘चुनाव लड्नु, सरकारमा जानु भनेको यही संविधानको परिधिभित्र रहेर हामी यो सिस्टम बदल्छौँ भन्ने हो । मैले देशमा भएको राष्ट्रपति नमान्ने भनेको होइन, राष्ट्रपति छान्ने प्रक्रियामा चाहिँ सहभागी नहोऊँ भनेको हो ।’

अस्ति वीर अस्पताल अगाडिको घटना लगत्तै अन्तरवार्ता दिँदै शाहीले नेपालको ‘राष्ट्रपति’ राख्नुको औचित्य नै नरहेको बताएका थिए । उनले सो घटनाका सन्दर्भमा राष्ट्रपतिले क्षमा याचना गर्नुपर्ने माग पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर