डीपी अर्याल भन्छन्- मन्त्रीबाट हट्दा दु:खी छैन, सरकारलाई दिएको समर्थनमा १०० दिनपछि पुनर्विचार – Nepal Press

डीपी अर्याल भन्छन्- मन्त्रीबाट हट्दा दु:खी छैन, सरकारलाई दिएको समर्थनमा १०० दिनपछि पुनर्विचार

काठमाडौं । श्रममन्त्री नियुक्त भएसँगै मिडियामा निकै विवादित बनाइए राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल । स्वार्थको द्वन्द्व हुने गरी उनलाई श्रममन्त्रालयमा पठाइएको भन्दै रास्वपाको आलोचना भयो ।

जब त्यो विषय ओझेल पर्दै थियो र अर्याल मन्त्रालयको काममा केन्द्रित बन्दै थियो, उनले पदबाटै राजीनामा दिनुपरेको छ । आफ्नो पार्टीबाट गृहमन्त्रालय खोसिएपछि रास्वपाले सरकार छाड्ने निर्णय लियो र त्यसको कोपभाजनमा परे पार्टीका तीन मन्त्री । उनीहरूले त्यही दिन प्रधानमन्त्रीलाई राजीनामा बुझाए ।

रास्वपाबाट मन्त्री बनेका तीनैजनाको पहिलो सिंहदरबार यात्रा थियो । निकै आशा र उमंग अनि योजनाहरू बुनेर उनीहरूले पदभार ग्रहण गरेका थिए । तर, २० दिनमै कुर्सी छोड्नुपर्दा उनीहरूको अनुहारमा उत्साहमा ग्रहण अवश्य लाग्यो । यद्यपि, पार्टीको निर्णयमा कसैले पनि असहमति जनाएका छैनन् ।

रविले छोडेपछि रास्वपाका तर्फबाट सिनियर मन्त्री थिए अर्याल । वैदेशिक रोजगारीको क्षेत्रमा अनुभवी उनी आफ्नो विज्ञताको मन्त्रालय पाउँदा हर्षित पनि थिए । तर, हठात सरकार छाड्नुपर्दा अहिले कस्तो अनुभव गरिरहेका छन् ?

नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै अर्यालले आफू कत्ति पनि दु:खी नरहेको बताए ।

‘म पटक्कै दु:खी छैन । म २० दिन मन्त्रालयको जिम्मेवारीमा रहँदा आफूले गर्नसक्ने उच्चतम काम गरेको छु । मन्त्रालयमा गएर बुझ्दा पनि थाहा हुन्छ,’ उनले भने ।

आफूले प्रत्येक सेकेन्ड महत्व राखेर काम गरेको अर्याल बताउँछन् ।

‘के-के न गर्छु भनेको पनि थिइनँ । तर, प्रक्रियागतरूपमा गर्न सकिने कामहरु मैले जति दिन बसेँ त्यति दिन गरेँ । म आफूले पाएको जिम्मेवारीमा न्याय गर्ने कोसिस गर्दै थिएँ । यति छोटो कार्यकाल होला भन्ने त थिएन, तर राजनीतिक परिस्थिति त्यस्तै भयो । मलाई कुनै दु:खमनाउ छैन,’ उनले भने ।

नेपालको राजनीति नै पहिलेदेखि अस्थिर रहेको र विगतमा आफूहरूभन्दा पनि छोटो समयमा मन्त्रीबाट बाहिरिहनुपरेको दृष्टान्त उनले उल्लेख गरे ।

अब तत्काल फेरि मन्त्रीका रुपमा कमब्याक गर्ने उनको आशा छैन ।

‘सबै सम्भावना समाप्त भइसकेको छ । हामीले सरकारबाट हट्ने निर्णय लिइसकेपछि फेरि फर्किने भन्ने काल्पनिक कुरा मात्र हुन्छ । अब पार्टी संगठनलाई मजबुत बनाउन लाग्नेछौं,’ उनले भने ।

रास्वपाले सरकारलाई दिएको समर्थन कम्तिमा १०० दिनसम्म कायम राख्ने अर्यालको भनाइ छ ।

उनले थपे, ‘१०० दिनसम्म समर्थन झिक्दैनौं । त्यसपछि पार्टीले जे निर्णय लिन्छ त्यही हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर