नीता र हरिहरको ड्रिम प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को छायांकन सुरु – Nepal Press

नीता र हरिहरको ड्रिम प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को छायांकन सुरु

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको ड्रिम प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को छायांकन सुरु भएको ।

प्रि-प्रोडक्सनमा लामो समय बिताएको सिनेमाको सोमबारदेखि भारतको हैदरावादमा अवस्थित ‘रामोजी फिल्म सिटी’बाट छायांकन सुरु भएको हो । संसारकै ठुलो फिल्म स्टुडियोमा यसअघि ‘बाहुबली’, ‘केजिएफ’, ‘पीएस’, ‘पुष्पा’ जस्ता ठुला सिरिज छायांकन भैसकेका छन् ।

चन्द्र पन्तको डेब्यु निर्देशनमा बन्ने यो सिनेमाले ‘रामोजी फिल्म स्टुडियो’मा छायांकन हुने पहिलो नेपाली सिनेमाको इतिहास कोर्न सफल भएको छ ।

छायांकन सेटबाट अभिनेत्री ढुंगानाले दर्शकलाई सम्बोधन गर्दै आफुले ‘रामोजी’मा पहिलो पटक नेपाली सिनेमा खिच्ने जमर्को गरेको र आफ्नो यस कदममा सबै नेपालीहरुले साथ दिने विश्वास व्यक्त गरिन् ।

नीता फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमामा नीता र हरिहरसंगै सरोज खनाल, विपना थापा, रविन्द्र झा, नरेन खड्का, आदर्श मिश्र, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजालगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यस्तै सिनेमामा दक्षिण भारतीय लोकप्रिय कलाकार ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अलीकोपनि अभिनय रहनेछ । यी कलाकारले पहिलो पटक नेपाली सिनेमामा अभिनय गर्न लागेका हुन् ।

बलिउड छायांकार कवीरलालले यो सिनेमा खिच्नेछन् । उनले खिचेका सयौं भारतीय सिनेमा मध्ये ‘हम आपके दिल में रह्ते हे’, ‘कहो ना प्यार हे’ र ‘ताल’ले उत्कृष्ट छायांकार विधामा फिल्म फेयर अवार्ड जितेका थिए ।

‘रामोजी’पछि सिनेमाको छायांकन नेपालमा पनि हुनेछ । नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने सिनेमालाई नेपाल तथा भारतका सिनेमा हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर