ओली-प्रचण्डले निर्णय नदिँदा लुम्बिनीमा एमाले-माओवादीमा दोधार – Nepal Press

ओली-प्रचण्डले निर्णय नदिँदा लुम्बिनीमा एमाले-माओवादीमा दोधार

रुपन्देही । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले लुम्बिनीमा शक्ति बाँडफाँटका लागि मुख्यमन्त्री र प्रदेश सभामुख लिने गरी टुंगाएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेसँगै मुख्यमन्त्री र सभामुख चयनको विषयले प्रवेश पाइसकेको छ ।

दलको नेता छानिइसकेकाले सरकारको नेतृत्व गरेका यी दुई दलबाटै कसलाई सभामुखमा पठाउँछन् भन्ने चासो अहिले बढेको छ । संविधानको व्यवस्थाअनुसार निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाएको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्नेछ ।

यस आधारमा पुसको अन्तिम सातासम्म मुख्यमन्त्री चयन गर्नुपर्नेछ । प्रदेशसभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था संविधानको धारा १८२ मा छ । सोमबार बसेको पहिलो बैठकपछि माघ ३ गते बैठक बोलाइएको छ । लुम्बिनी प्रदेशले माघ ३ मै सभामुख पाउनेछ ।

एमाले शीर्ष नेताहरुका अनुसार मुख्यमन्त्री करिब एमालेले पाउने निश्चित छ । एमालेबाट संसदीय दलको नेतामा लीला गिरी चयन भएकाले उनी नै मुख्यमन्त्री बन्नेछन् ।

‘मुख्यमन्त्रीको टुंगो करिब करिब लागि नै सकेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई नै निर्णयको जिम्मा रहेकाले अन्य प्रदेशमा गठबन्धन दललाई मिलाउँदा छाड्नुपर्ने पनि हुनसक्छ’, एमालेका एक नेताले भने ।

उनका अनुसार मुख्यमन्त्रीका लागि बागमती र लुम्बिनी प्रदेशमा कुन पार्टीले लिने अझै अन्तिम टुंगो लागेको छैन । एमालेले लुम्बिनीको नेतृत्व पाएपछि बागमतीमा माओवादीको नेतृत्व हुनेछ । एमालेले मुख्यमन्त्री पाएपछि लुम्बिनीमा माओवादी केन्द्रले सभामुख पाउनेछ ।

सभामुखमा माओवादीबाट तुलाराम घर्ती हुने करिब टुंगो लागे पनि बुधबार स्वतन्त्रबाट जितेका रोल्पाका दीपेन्द्र पुन सिजल माओवादीमै फर्केपछि उनको सम्भावना बढेको छ । घर्ती यसअघि प्रमुख सचेतक बनिसकेको र अहिले दलको नेतामा दाबी गरेकाले उनैले पाउने सम्भावना बढी छ । एमालेमा जान तयार सिजललाई नेताहरुले आश्वासन दिएर नै फर्काएको आकंलन छ ।

तर, प्रत्यक्षबाट जितेकी एकमात्र प्रदेश सांसद कृष्णा केसी भएकाले उनी पनि बलियो दावेदार हुन् ।

माओवादीले स्थायी कमिटी सदस्य रोल्पाका जोखबहादुर महरालाई दलको नेता चयन गरेको छ । माओवादीले नेतृत्व पाउँदा महरा मुख्यमन्त्री हुनेछन् । संसदीय अभ्यासमा पहिलो पटक आए पनि प्रचण्डको सचिवालयमा बसेर आएको सिनियर नेता भएकाले उनले अवसर पाउनेछन् ।

एमालेले सभामुख पाउने अवस्था आएमा भने भोजप्रसाद श्रेष्ठ वा दिनेश पन्थी सभामुख हुनेछन् । माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा जाने नेताहरुले बताएका छन् । मुख्यमन्त्री र सभामुखको बाँडफाँट करिब सकिएकाले अब उपसभामुख, मन्त्रालय, संसदीय समितिहरुमा गठबन्धन दलहरुबीच भागबन्डा हुनेछ ।

लुम्बिनीमा एमालेको २९, माओवादीको १०, नागरिक उन्मुक्ति र राप्रपाका ४-४, जनमतका ३ सांसदको गठबन्धन छ । जसपाले पनि केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको छ । जसपाका लुम्बिनीमा ३ सांसद छन् । सत्ता बाँडफाँट हुँदा सबै सांसदको प्रतिनिधित्व हुने देखिएको छ ।

यद्यपि राप्रपा र जसपा केन्द्र सरकारमा सहभागी नभएकाले प्रदेशमा के गर्छन् भन्ने टुंगो छैन । सभामुखमा एमाले-माओवादीबाट दाबी भए पनि उपसभामुखमा भने गठबन्धनका अन्य दलको दाब रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर