जसपाको बटमलाइन- उपराष्ट्रपतिसहित तीन मन्त्री र मधेसको मुख्यमन्त्री – Nepal Press

जसपाको बटमलाइन- उपराष्ट्रपतिसहित तीन मन्त्री र मधेसको मुख्यमन्त्री

मनिष सुमन भन्छन् : हामीले उठाएको मुद्दा सरकारले कार्यान्वयन गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि जसपा सरकारमा सहभागीबारे ‘पर्ख र हेर’को अवस्थामा छ ।

प्रधानमन्त्री प्रचण्डले जसपासहित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका छन् ।

तर, दुवै दलहरु आन्तरिक गृहकार्यमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धन छाडेर चुनावअघि नै एमाले कित्तामा उभिएको थियो । अहिले एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताबारे निर्णय गर्न सकेको छैन ।

सरकारमा जाने वा नजाने निर्णय गर्न पुुस १६ गते केन्द्रीय कार्यकारिणी समिति र १८ र १९ गते राजनीतिक समितिका बैठक बस्ने प्रवक्ता मनिष सुमनले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘सरकारमा जानेबारे अहिले हामीले कुनै निर्णय गरेका छैनौँ । चुनावी समीक्षासहित सरकारमा सहभागी हुनेबारे त्यही बैठकबाट निर्णय हुन्छ ।’

उनले सरकारले राख्दै आएको मधेशको मुद्दा सम्बोधन गर्ने परिस्थिति बनेमा सरकारमा सहभागी हुनसक्ने तर्क गरे ।

उनले भने, ‘सरकारमा जान हामीलाई त्यस्तो धेरै गाह्रो छैन । तर, हामीले उठाउँदै आएको माग सम्बोधन गर्न अहिलेसम्मका सरकारले आश्वासन मात्रै दिए । कार्यान्वयन गरेनन् । त्यसैले अहिले हामीले पहिला शर्त अघि सारेका हौँ ।’

जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुन पावर शेयरिङको विषयमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा छन् ।

प्रचण्ड र ओलीसँगको भेटमा अध्यक्ष यादवले सरकारमा सहभागीतासहित मुख्य एक संवैधानिक पदमा दाबी गरेको एक नेताले बताए ।

ती नेताले भने, ‘बैठकले सरकारमा सहभागी हुने निर्णय गर्छ होला । सरकारमा जाँदा हामीले मुख्य संवैधानिक पदमध्ये उ पराष्ट्रपतिमा हाम्रो स्वभाविक दाबी रहन्छ ।’

उनले दलहरुबीच प्याकेजमै भागबण्डा हुने भएपछि उपराष्ट्रपतिसहित तीन मन्त्री र मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरे ।

तर, संघीय सरकारको दुई मन्त्री र मधेस प्रदेशको मुख्यमन्त्री डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग आलोपालो दिनेगरी सहमतिको प्रयास भइरहेको छ ।

तर, ओली र प्रचण्डको आलोपालो प्रस्तावमा अध्यक्ष यादव सकारात्मक बनेका छैनन् ।

पार्टीको बैठक आह्वान भइसकेकाले सरकारमा जाने वा नजाने भन्ने कुरा त्यहीबाट टुंगो लाग्ने जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले बताए ।

उनले भने, ‘जसपा सरकारमा गएपनि नगएपनि आफ्नो एजेण्डा उठाउन छाड्दैन । सडकदेखि संसद हुँदै सरकारमा गएपनि हाम्रो भूमिका सशक्त रुपमा प्रस्तुत हुन्छौँ । जनताको माग र मुद्धालाई सम्बोधन गर्नमा लाग्छौँ ।’

मधेशको अंकगणित

मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जसपासहित जनमत पार्टीले पनि दाबी गरेको छ । संघदेखि प्रदेशसम्म प्याकेजमा भागबण्डा मिलाउने भएकाले मधेश प्रदेशको मुख्यमन्त्री जसपा र जनमतलाई आलोपालो गरि नेतृत्व छाड्न ओली र प्रचण्ड सहमत छन् ।

प्रारम्भिक प्रस्तावअनुसार एमालेलाई ४, माओवादीलाई २ र मधेशमा जसपा र जनमतको आलोपालो हुनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ । तर, यसबारे औपचारिक निर्णय भएको छैन । तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा आए यो सहमतिमा फेरबल हुनसक्ने नेताहरुले बताएका छन् ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार निर्माणको लागि आवश्यक ५४ सांसद आवश्यक पर्छ। मधेशमा २३ सीटसहित एमाले पहिलो दल बनेको छ। कांग्रेसले २२, जसपाले १६, जनमतले १३, लोसपाले ९, माओवादीले ८ र नेकपा एसले ७ सीट जितेको छ ।

यहाँ राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सीट जितेको छ भने ६ स्वतन्त्र सांसद छन् ।

सत्ता गठबन्धनमा रहेको एमाले, माओवादी, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टी पार्टी मिल्दा सरकार गठनका लागि सुविधाजनक बहुमत पुग्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर