ओली-प्रचण्ड मिलनको दोस्रो चरण- होला त असफल पार्टी एकताको दोस्रो संस्करण ? – Nepal Press

ओली-प्रचण्ड मिलनको दोस्रो चरण- होला त असफल पार्टी एकताको दोस्रो संस्करण ?

माधव नेपाललाई सत्ता गठबन्धनमा मिसाएर घाँडो भिर्न एमालेको मुख्य नेतृत्व अनिच्छुक

काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ ।

दुई ठूला कम्युनिष्ट पार्टीसहित ७ दल मिलेर सरकार गठन गरेपछि फेरि वाम एकताको बहस चल्न थालेको हो । यही गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेत मिलाउन केही नेता लागेका छन् ।

यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ सालमा चुनावी तालमेलसहित पार्टी एकता गरेर नेकपा गठन गरेका थिए ।

ओली र प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति तोडिएपछि नेकपाभित्र विवाद चर्किएको थियो । प्रचण्डले एमालेसँग एकता गरेपछि माधव नेपाल र झलनाथ खनाल खेमाका नेताहरुको आडमा ओलीविरुद्ध मोर्चाबन्दीसमेत गर्न भ्याए ।

तर, ओलीले पार्टीभित्र आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने प्रयासपछि दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि विवाद उत्कर्षमा पुग्यो । पार्टी एकतापछि ओली र प्रचण्डबीचको आन्तरिक द्वन्द्वका बीचमा सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपाको एकता भंग गरेपछि अलग भए ।

पार्टीबाट अलग भएपछि एक-अर्काविरुद्ध खरो रुपमा आरोप-प्रत्यारोपमा उत्रिएका ओली र प्रचण्ड अहिले एकै ठाउँमा उभिन पुगेका छन् । ओलीलाई कांग्रेस नेतृत्वको गठबन्धन टुटाउनुपर्ने र प्रचण्डलाई प्रधानमन्त्री बन्नुपर्ने दुवैको स्वार्थ मिलेपछि अहिले एकै ठाउँमा उभिन पुगेका हुन् ।

ओली र प्रचण्डको एकअर्काको स्वार्थको बीच कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछि ओलीलाई फाइदा पुग्यो । ओलीले पाँच दलीय गठबन्धनको एउटा घटक जसपालाई चुनावअघि नै आफूतिर तानिसकेका थिए ।

त्यसो त देउवासँग ‘बार्गेनिङ’ गर्दैगर्दा प्रचण्डले दोस्रो तहका नेताहरुलाई एमाले नेताहरुसँग निरन्तर संवादमा लगाएका थिए । अहिले प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा १६९ सांसदको समर्थनमा देशको ४४औं प्रधानमन्त्री बने ।

यद्यपि नेकपाभित्रको विवादमा आफूलाई निरन्तर साथ दिएका माधव नेपाललाई भने प्रचण्डले एक्ल्याएका छन् । प्रचण्डले गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेपछि एमालेबाट अलग्गिएर एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेपाल अहिले अलमलमा छन् ।

प्रचण्डले नेकपा एसलाई पनि सरकारको समर्थनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, एमाले नेतृत्व माधव नेपाललाई ल्याउन इच्छुक छैन । मानमात्र खोज्ने नेपाललाई ल्याउँदा अर्को घाँडो हुने तर्क कतिपय नेताहरुको छ ।

एमाले नेताहरु भन्छन्, ‘अब माधव नेपालहरु जस्तालाई फेरि मिसाएर पार्टीमा समस्या सिर्जना गर्नु छैन । उसै पनि जनता र कार्यकर्ता त्यहाँ छैनन्, एकताका नाममा डेट एक्सपायर र अनैतिकहरुलाई हुलेर पार्टीमा फेरि हुँडलो मच्चाउनु जरुरी छैन । व्यक्तिगत रुपमा एमालेमा फर्किन सबै स्वतन्त्र छन् ।’

निर्वाचनबाट कम्युनिष्टहरु निरन्तर ओरालो लाग्ने नतिजा देखिएको वेलामा ओली र प्रचण्ड फेरि सँगै हिँडेपछि फेरि वामपन्थीहरुको एकता हुनसक्ने आँकलन भने हुन थालेको छ । यद्यपि एमाले पंक्ति पार्टी एकताप्रति इच्छुक देखिन्न ।

हिजो प्रचण्डले माधव नेपालहरुसँग मिलेर झण्डै कब्जा गरिसकेको पार्टी केपी ओलीले पुस ५ को कदम चालेर जोगाएको निष्कर्ष आम एमाले पंक्तिको छ । अब प्रचण्डको स्थायी व्यवस्थापन भएपछि मात्र माओवादीको बाँकी रहेको हिस्सा एमालेमा विलय हुने एमालेको कोर पंक्तिको बुझाइ छ ।

‘तत्काल सम्भव छैन’

सत्ता स्वार्थको लागि बनेको गठबन्धन भएकाले स्थिर हुनसक्ने सम्भावना कमै रहेको राजनीतिक विश्लेषक हरि रोक्का तर्क गर्छन् ।

उनी भन्छन्, ‘यसअघि पनि उहाँहरु नमिलेको होइन । सत्ता स्वार्थकै कारणले अलग हुनुभयो । अहिले सत्ताकै कारणले जोडिनुभयो । त्यसैले फेरि पछि भागबन्डा नमिल्दा अलग नहोलान् भन्ने अवस्था छैन ।’

कम्युनिष्ट भन्नेहरुमा सिद्धान्त, नीति केही नभएको उनको भनाइ छ ।

तर, पाँच दलीय गठबन्धनलाई पराजित गरेका एमाले सांसद तथा पोलिटव्युरो सदस्य सूर्य थापा सत्ता सहकार्यलाई पार्टी एकताको रुपमा रुपान्तरण हुन नदिने बताउँछन् ।

उनी भन्छन्, ‘पार्टी एकता हुन्न, गठबन्धन नै अगाडि बढ्छ । झुक्किएर पनि पार्टी एकता गर्न दिइनेछैन । पार्टी एकताको नाममा पार्टी कब्जा गर्ने विगतमा अभ्यास भयो । हामीले शिक्षा लिइसक्यौं ।’

विचार र व्यवहार मिल्नेबीच एकता हुनसक्ने भए पनि आजको स्थितिमा माओवादीसँग एकता हुन नसक्ने उनको दाबी छ ।

उनले भने, ‘एकातिर माओवादीको ट्याग झुण्ड्याएर अर्कोतिर जनताको बहुदलीय जनवाद बोकेर आजको स्थितिमा पार्टी एकता सम्भव छैन ।’

एमाले र माओवादीबीच हालैमात्र सहकार्य सुरु भए पनि पार्टी एकताको विषयले राजनीतिक रुप लिएको छैन ।

माओवादीलाई अस्तित्वको चिन्ता

दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको माओवादी २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो ।

तर, २०६४ देखि २०७९ सम्म आइपुग्दा निरन्तर ओरालो लागेको छ । जनमत निरन्तर घटेर प्रतिनिधिसभाको तेस्रो शक्ति बने पनि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका छन् ।

माओवादीले मंसिर ४ को निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सीट जितेको छ । तर, २०७४ को निर्वाचनमा प्रत्यक्षमै ३६ सीट जितेको थियो भने समानुपातिकमा १७ सीट ल्याएको थियो ।

तेस्रो शक्तिको लाभ लिँदै आएको प्रचण्ड तेस्रो पटक देशको प्रधानमन्त्री बने पनि पार्टीको अस्तित्व जोगाउन उनलाई चुनौती छ । कांग्रेससँगको चुनावी गठबन्धनबाट सोचेजस्तो परिणाम नआएपछि प्रचण्ड सन्तुष्ट छैनन् ।

चुनावबाट सोचेजस्तो नतिजा नपाउनु र कांग्रेसले पूर्वसहमति तोडेपछि आफूहरु बाध्य भएर विकल्प खोजेको माओवादीका सचिव दिनानाथ शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘चुनावमा पनि कांग्रेसी नेताहरुले माओवादीको विकल्पमा घण्टीलाई भोट हालेको प्रस्टै देखियो । अहिले पनि पावर शेयरिङका आधारमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने अडान लियो । त्यसैले कांग्रेसले धोखा दिएपछि हामीले विकल्प खोजेका हौं ।’

उनले अहिले एमालेसँग सत्ता सहकार्यमात्रै गरेको उल्लेख गर्दै पार्टी एकताबारे अहिल्यै भन्न नसक्ने बताए ।

शर्माले भने, ‘हामीले पहिला पनि चुनावी तालमेलसहित पार्टी एकता गरेका थियौं । जनताले मत पनि दिएका हुन् । तर, हामीले जोगाउन सकेनौं । त्यसको समीक्षा होला नै ।’

अहिलेको जनादेशअनुसार अब एमाले र माओवादी मिलेर जानुपर्ने उनको राय छ । ‘कम्युनिष्टहरुबीच आपसमा फुट्ने र जुट्ने भइरहे पनि अब सहकार्य गरेरै जानुपर्छ’, शर्माले भने ।

त्यसो त चुनावअघि प्रचण्डले एमालेबाहेकको कम्युनिष्टहरुलाई एकजुट बनाएर समाजवादी केन्द्र निर्माणको पहल थालेका थिए । उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपालगायतलाई समेटेर जाने प्रयास गरेका थिए । तर, त्यो प्रयास असफल भएको थियो ।


प्रतिक्रिया

One thought on “ओली-प्रचण्ड मिलनको दोस्रो चरण- होला त असफल पार्टी एकताको दोस्रो संस्करण ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर