वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह – Nepal Press

वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह

काठमाडौं । गठबन्धनको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पहिलो चरणको प्रधानमन्त्री स्वीकार गर्न कांग्रेसभित्र समस्या देखिएपछि वाम सरकारको पहल सुरू भएको छ । कांग्रेसले राष्ट्रपति पनि कम्युनिष्टलाई दिन अनिच्छा देखाइरहेका बेला एमाले र माओवादीलाई फेरि मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् ।

यसैक्रममा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेर कोर्स करेक्सन गर्न आग्रह गरेका छन् । एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झासहित शीर्ष नेताहरूलाई भेटेका बस्नेतले वाम सरकार गठनको पहल गर्न सुझाव दिएका हुन् ।

बस्नेत प्रतिनिधिसभामा झिनो मतले पराजित भएका थिए । अध्यक्ष केपी शर्मा ओलीनिकट नेता बस्नेतले प्रचण्ड र माधव नेपाललाई भेट गरेका कारण नेतृत्वको अनुमति लिएरै छलफल भएको स्रोतको दाबी छ ।

२०६४ सालपछि पहिलोपटक संसदमा वामपन्थीले बहुमत गुमाएका छन् । देशलाई अस्थिरता र विदेशी चलखेलबाट जोगाउन वाम नेतृत्वको सरकार गठन होस् भनेर आफूले आफ्नो ठाउँबाट सामान्य पहल गरेको बस्नेतले बताएका छन् ।

प्रचण्ड र माधव नेपालले वाम नेतृत्वको सरकार गठनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।

‘०६४ पछि पहिलो पटक वामहरू बहुमतबाट तल झरेको र सबै शक्ति बाम आन्दोलन कमजोर पार्न लागेको देखेर सके बाम एकता नसके बाम गठबन्धन को पक्षमा पहल गरिएको हो’, बस्नेतले आफू निकटहरूलाई ब्रिफिङ गरेका छन् ।

बस्नेतले शीर्ष नेताहरूलाई भेटेपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीलाई भेट गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएर भने पनि वाम नेतृत्वको सरकार गठन गर्ने राष्ट्रपति, सभामुखजस्ता मुख्य पदहरू एमालेले लिएर राज्यसत्तामा विदेशी चलखे रोक्न दुवै पार्टीभित्र पहल भइरहेको नेताहरूको दाबी छ ।

एमालेले अहिलेसम्म सरकार गठनको पहल गरेको छैन । प्रचण्डले गठबन्धन छाडेर आएमात्र प्रधानमन्त्री दिनेबारे छलफल गर्न सकिने नेताहरूले बताइरहेका छन् । अनौपचारिक रूपमा भने माधव नेपालसँग समेत संवादमा एमालेका नेताहरू जुटेका छन् । केही दिनअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि भेट गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह

  1. कठै महेश जि सत् मा पुगन तपाईं पनि उहीँ र उसतै

  2. बाम एकताकाे आबस्यकता अपरिहायँ छ। बिगतका कमजाेरि हरु आतमआलाेचनागरि सबैले अगाडि बडनु नै ऊचित हाेला लागछ मलाई त ।🙏🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर