मेस्सीसँगै खेलेका स्कोलोनी जो उनकै प्रशिक्षक बनेर विश्व च्याम्पियन बन्न खोज्दैछन् – Nepal Press

मेस्सीसँगै खेलेका स्कोलोनी जो उनकै प्रशिक्षक बनेर विश्व च्याम्पियन बन्न खोज्दैछन्

दोहा। अन्य प्रशिक्षकको तुलनामा उनी बढी शान्त देखिन्छन्। खेल भइरहँदा निकै गमेर खेल हेरिरहेका देखिने ४४ वर्षीय प्रशिक्षक लियोनल स्कालोनीले आइतबार हुने फाइनलमा जित हात पार्ने सके गौरवशाली इतिहास कोर्ने छन्। साबिक विजेता फ्रान्सविरुद्धको भिडन्तमा स्कालोनी अर्जेन्टिनी टोलीका प्रशिक्षक रहेका छन्।

स्कालोनीले कुनै समय हाल अर्जेन्टिनी टोलीका कप्तान रहेका लियोनल मेस्सीसँगै खेलेका थिए। सन् २००६ को विश्वकपअन्तर्गत मेक्सिकोविरुद्ध भएको प्रिक्वाटरफाइनलमा मेस्सी र स्कालोनी एकसाथ मैदानमा थिए। राष्ट्रिय टोलीमा उनी जम्न सकेनन्।

सन् २००३ मा सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेका स्कालोनीका लागि सन् २००६ को विश्वकपमा मेक्सिकोविरुद्ध खेलेको खेल नै अर्जेन्टिनाका लागि खेलेको अन्तिम खेल बनेको थियो।

विङ ब्याक पोजिसनबाट खेल्ने गरेका स्कालोनी व्यावसायिक फुटबलमा भने सन् २०१५ सम्म खेलाडी बनेर उत्रिएका थिए। त्यसबीचमा उनले इटालीका डिपोर्टिभो लाकोरुना, एटालान्टा, लाजियो, मालोर्काजस्ता क्लबका लागि धेरै खेले।

सन् २०१६ को अन्त्यतिर उनलाई अर्जेन्टिनी टोलीको सहायक प्रशिक्षक नियुक्त गरिएको थियो। त्यसअघि उनी एक वर्ष स्पेनिस क्लब सेभिल्लाको सहायक प्रशिक्षक रहेका थिए। सन् २०१८ को विश्वकपमा अर्जेन्टिना प्रिक्वाटरफाइनलबाटै बाहिरिएर जर्जी साम्पोलीले राजीनामा दिएपछि स्कालोनीले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए।

उनकै प्रशिक्षणमा अर्जेन्टिना सन् २०१९ को कोपा अमेरिकामा सेमिफाइनलसम्म पुग्यो। सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले ३६ खेलसम्म हार बेहोरेन।

त्यसबीचमा कोपा अमेरिका जितेर करिब तीन दशकयता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको उपाधि खडेरी टारेको थियो। जारी विश्वकपको आफ्नो पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा टुंगिएको हो।

त्यसयताका सबै खेल जितेर अर्जेन्टिना फाइनल पुगेको छ। गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका स्कालोनी यसपटक विश्वकप उपाधिनजिक रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *