क्रोएसियाविरुद्ध खेल्दा मेस्सीले राख्नेछन् कीर्तिमानमाथि कीर्तिमान – Nepal Press

क्रोएसियाविरुद्ध खेल्दा मेस्सीले राख्नेछन् कीर्तिमानमाथि कीर्तिमान

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत मंगलबार हुने सेमिफाइनलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले क्रोएसियाविरुद्ध खेलेमात्र पनि केही विश्वकप कीर्तिमान बन्नेछन् ।

नेपाली समयअनुसार राति पौने १ बजे हुने खेलमा उत्रिएलगत्तै मेस्सी विश्वकपका सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बन्नेछन् । हाल मेस्सी र राफा मार्क्वेजको नाममा सर्वाधिक १८ विश्वकप खेलमा कप्तानी गर्ने कीर्तिमान संयुक्त रुपमा रहेको छ ।

क्रोएसियाविरुद्ध उत्रिएपछि मेस्सीले उक्त कीर्तिमान आफ्नो नाममा मात्र लेखाउनेछन् । यस्तै विश्वकपका सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि बराबरी गर्दैछन् मेस्सीले । लोथर मेथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान मेस्सीले क्रोएसियाविरुद्ध खेलेपछि बराबरी गर्नेछन् ।

यस्तै विश्वकपमा सर्वाधिक समय खेल्ने कीर्तिमान पनि मेस्सीले मंगलबार बनाउन सक्नेछन् । मेस्सीले हालसम्म २ हजार १०४ मिनेट खेलेका छन् । पाउलो माल्दिनीका नाममा २ हजार २१७ मिनेट खेल्ने विश्वकप कीर्तिमान रहेको छ ।

क्रोएसियाविरुद्धको खेल अतिरिक्त समयमा पुगेमा र मेस्सी सब्स्टिच्युट नभएमा विश्वकप कीर्तिमान उनको नाममा लेखिनेछ ।

गोल असिस्टको विश्व कीर्तिमान नजिक मेस्सी

मेस्सीले क्रोएसियाविरुद्ध एक गोल असिस्ट गरेमा आफ्नै देशका डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको विश्वकप कीर्तिमानसँग बराबरी हुनेछ।

जारी विश्वकपमा मेस्सीले ४ गोल र २ असिस्ट गरिसकेका छन् । उनले विश्वकपमा हालसम्म ७ गोल असिस्ट गरेका छन् । यसअघि मेस्सीले पाँचवटा विश्वकपमा गोल असिस्ट गर्ने विश्व कप कीर्तिमान बनाएका थिए ।

यस्तै उनले विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा पनि विश्व कीर्तिमान बनाइसकेका छन् । मेस्सीले अब एक गोल गर्न सके विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान पनि बनाउनेछन् ।

अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याए । त्यही गोलमार्फत विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा गाब्रियल बाटिस्टुटाको १० गोलको कीर्तिमानसँग मेस्सीले बराबरी गरेका छन् ।

मेस्सी किशोर अवस्था, २० र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन् । त्यस्तै विश्वकपमा सर्वाधिक समयको अन्तरमा गोल गर्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ। मेस्सीको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १७६ दिन रहेको छ।

क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १६० दिन रहेको छ । मेस्सी विश्वकपमा सर्वाधिक ९ पटक प्लेयर अफ दी म्याच अवार्ड पाउने खेलाडी हुन् । सन् २०१४ मा आयोजित ब्राजिल विश्वकपमा मात्र उनले चारपटक यो अवार्ड जितेका थिए । जारी विश्वकपमा पनि मेस्सीले तीनपटक यो अवार्ड पाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *