राजु शाक्य भन्छन् : क्रोएसियाले मेस्सीलाई रोक्नुपर्छ, अर्जेन्टिना काउन्टर अट्याकबाट जोगिनुपर्छ – Nepal Press

राजु शाक्य भन्छन् : क्रोएसियाले मेस्सीलाई रोक्नुपर्छ, अर्जेन्टिना काउन्टर अट्याकबाट जोगिनुपर्छ

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक राजुकाजी शाक्यले मंगलबार हुने विश्वकप सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिनाबीच कसले जित्छ भनेर अनुमान गर्न गाह्रो रहेको बताएका छन् । जारी प्रतियोगितामा सरप्राइज नतिजाहरु आइरहेकाले ‘प्रेडिक्सन’ गर्न गाह्रो रहेको बताए ।

‘मेस्सीलाई हेर्‍यो भने अर्जेन्टिनाले जितोस् भन्ने लाग्छ । तर, नयाँ टोलीहरु पनि त आउनुपर्‍यो । सधैं ब्राजिल, अर्जेन्टिना, फ्रान्स जस्ता शक्ति राष्ट्रहरु भनेर पनि हुँदैन’, राष्ट्रिय फुटबल टोलीका पूर्वडिफेन्डर शाक्य भन्छन् । उनी क्रोएसियाको रक्षापंक्ति बलियो रहेको बताउँछन् ।

‘उनीहरुको गोलकिपर र रक्षापंक्ति निकै बलिया देखिन्छन् । ब्राजिलसँगको खेल हेर्दा पनि त्यो देखिएको थियो । उनीहरुको मोरल हाई छ । लुका मोड्रिच पनि डिफेन्ससम्म आएर खेलिरहेका छन्’, शाक्यले भने, ‘अर्जेन्टिनाको खेल मेस्सी वरिपरि घुमिरहेकाले क्रोएसियाले उनलाई रोक्न सक्नुपर्छ । क्वाटरफाइनलमा नेदरल्यान्ड्सले मेस्सीलाई रोक्ने प्रयास गरेको थियो । डिफेन्सलाई बलियो बनाएर क्रोएसियाले काउन्टर एट्याकमा खेल्यो भने अर्जेन्टिनालाई गाह्रो हुनसक्छ ।’

शाक्य क्रोएसियालाई फिजिकल एडभान्टेज रहेको बताउँछन् । ‘क्रोएसियासँग अग्ला र तेज गतिमा दौडने खेलाडी छन् । क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनाविरुद्ध अन्तिम समयमा फिजिकल खेलाडीमा ध्यान दिएर खेल बराबरीमा ल्याएको थियो’, उनले भने ।

शाक्यले अर्जेन्टिना दबाबमा रहेको बताए । मेस्सीलाई विश्वकप उपाधि जिताउने दबाबबीच अर्जेन्टिनी टोलीले खेलिरहेको उनी बताउँछन् । ‘अर्जेन्टिनाको टीम पनि निकै बलियो छ । गोलकिपरदेखि अग्रपंक्तिसम्म सशक्त देखिन्छ । उनीहरुले विपक्षीलाई बल खेल्न दिइरहेका छैनन्’, उनले भने ।

शाक्य विश्वकपका प्रायः खेलहरु हेरिरहेका छन् । मध्यरातसम्म बसेर हेर्नुपर्ने हुँदा निकै समस्या भएको उनले सुनाए। शाक्यले भने, ‘अब झन सेमिफाइनलका खेलहरु छन् । अब नहेर्ने कुरै भएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *