इन्जुरी समयमा सन हिउङ मिनको काउन्टर अट्याकले दक्षिण कोरियाको नकआउट यात्रा तय – Nepal Press

इन्जुरी समयमा सन हिउङ मिनको काउन्टर अट्याकले दक्षिण कोरियाको नकआउट यात्रा तय

काठमाडौं। टोट्टनहामका स्टार खेलाडी सन हिउङ मिनले इन्जुरी समयमा आफ्नै क्षेत्रबाट बल अगाडी बढाउँदै डि बक्स नजिकै पुर्‍याएर दिएको पासमा गोल गर्दै दक्षिण कोरियाले कतारमा जारी विश्वकपको नकआउट चरण यात्रा तय गरेको छ।

समूहको अन्तिम खेलमा शुक्रबार राती पोर्चुगललाई २-१ गोलले पराजित गर्दै दक्षिण कोरिया प्रिक्वाटरफाइनल पुग्यो। ३ खेलबाट ४ अंक भएको दक्षिण कोरियाले समान अंक भएको उरुग्वेलाई पछाडि पार्दै अघिल्लो चरणको यात्रा तय गरेको हो।

उरुग्वेसँग गोलअन्तर पनि समान भएको दक्षिण कोरिया समूहमा उसले भन्दा बढी गोल गरेका आधारमा अन्तिम १६ पुगेको हो। उरुग्वेले २ गोल गरेर २ गोल ब्यहोरेको थियो भने दक्षिण कोरियाले चार गोल गरेर चार गोल ब्यहोर्‍यो।

खेल बराबरीतर्फ धकेलिरहेका बेला कप्तान सन हिउङ मिनले शानदार काउन्टर एट्याकमा ह्वाङ हि चानलाई बल उपलब्ध गराएका थिए। डी-बक्सबाहिर दुई विपक्षी खेलाडीलाई छक्याउँदै उनले ह्वाङलाई बल दिएका थिए। ह्वाङले फर्स्ट टचमै गोल गरेका थिए। त्यसअघि पोर्चुगलले दक्षिण कोरियाको डीबक्स क्षेत्रमा दबाब बढाइरहेका बेला सन हिउङ मिनले बल पाएर तेज गतिमा दौडाएका थिए। सन हिउङ मिन अहिलेका सबैभन्दा ठुला एसियाली फुटबल स्टार हुन्।

खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि दक्षिण कोरिया पहिलो हाफमै बराबरीमा पुगेको थियो। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई ६५ औँ मिनेटमा बाहिर निकाल्ने निर्णय प्रशिक्षक फर्नान्डो सान्तोसले लिएका थिए। पोर्चुगल अघिल्ला दुवै खेल जितेर नकआउट चरण पुग्ने पक्का भएको थियो।

योसँगै एसियाका तीन टोलीले कतार विश्वकपमा नकआउट चरण पार गरेका छन्। एसियाबाटै छनोट खेल्ने अस्ट्रेलियासहित जापानले पनि नकआउट चरणमा स्थान बनाएका छन्।

एसियाबाट छनोट खेल्ने तीन टोली विश्वकपमा एकैपटक नकआउट पुगेको यो पहिलोपटक हो। यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गर्दा दुवै आयोजक नकआउट चरणमा पुगेका थिए। शुक्रबार दक्षिण कोरिया र पोर्चुगलबीचको खेल सकिएपछि पनि दक्षिण कोरियाको नकआउट चरण पक्का भइसकेको थिएन। समूहको अर्को खेलमा भिडिरहेका घाना र उरुग्वेबीचको खेल अझै ५ मिनेटभन्दा बढी समय बाँकि थियो। २-० गोलले अगाडि रहेको उरुग्वे थप एक गोल गरेको अवस्थामा अगाडि बढ्ने थियो। तर उरुग्वेले गोल थप्न सकेन।

प्रतियोगितामा साविक विजेता फ्रान्स तथा पूर्व विजेता स्पेन र अर्जेन्टिनाले पनि पहिलो चरणमा एउटा खेल हारेर नकआउट यात्रा तय गरिसकेका थिए। चारपटकको विजेता जर्मनी भने समूहगत चरण पार गर्न असफल भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *