झक्कड थापा र नरेश पातली स्टाइलको वाम एकताको ‘स्याड म्युजिक’ – Nepal Press

झक्कड थापा र नरेश पातली स्टाइलको वाम एकताको ‘स्याड म्युजिक’

यो आलेखको सुरूआत चाणक्यको भनाइबाट गरौं । चाणक्यले भनेका छन-

यः स्वपक्षं परित्यज्य परपक्षं निषेवते !

स स्वपक्षे परिक्षीणे पश्चात् तैरेव हन्यते !!

नेपालीमा यसको अर्थ हुन्छ- आफ्नो पक्ष, समूह वा मान्यता र विश्वासलाई छाडेर अर्को पक्ष अँगाल्ने, आफ्नो मान्यता र विश्वासविपरीतका समूहसँग मिल्ने व्यक्ति जतिखेर कमजोर हुन्छ त्यतिखेर अर्कोपक्षबाट नासिन्छ वा आक्रमणमा पर्छ ।

निर्वाचन परिणामलगत्तै विभिन्न कित्ताबाट वामपन्थी एकताका निरस ‘स्याड म्युजिक’ सुनिन थालेपछि उहिल्यै कतै पढेको चाणक्यको यो उक्ति स्मरणमा आयो । ठीक २ वर्षअघि यति नै बेला तत्कालीन नेकपा विभाजन रोक्ने अन्तिम कसरत भइरहेको थियो । त्योबेला पार्टी एकताको म्युजिक आमरूपमा सुमधुर सुनिन्थ्यो ।

परमादेश र जनादेशको जँघार

बितेका २ वर्षमा के-के भए यहाँ उल्लेख गर्न परेन । प्रचण्डले उनकै भाषामा ‘केपी ओलीको टाउकोमा गरेको बमबार्ड’, माधव नेपालमा रहेको चरम कुण्ठा र ओलीले ‘आफ्नो टाउको फुटेपछि मीतको टाउको बेलैसरी’ स्टाइलमा गरेको प्रतिवादको प्रतिफल आजको वामपन्थी विचल्ली हो । वाम विचलन र बिचल्ली अझै अझै थिग्रिसकेको छैन, यस्तो बेला वाम एकताको धुन मीठो सुनिदैन ।

जनताले न त प्रचण्ड माधवले ओलीमाथि गरेको कारबाहीलाई मंसिर ४ बाट अनुमोदन गरे, न त ओलीलाई पूर्ण अनुमोदन गरे । चाणक्यले भनेजस्तै अवस्था नेपालका वामपन्थीहरूलाई सम्भवतः अझै आइसकेको छैन । किनकी सत्ता गठबन्धन बहुमतको नजिक छ र प्रचण्ड-माधवको उपादेयता शेरबहादुर देउवाका लागि अझै पनि सकिएको छैन ।

२ वर्षअघि यतिबेला २७५ सीटको प्रतिनिधिसभामा नेकपाको १७४ सीट थियो । अहिले मतपरिणाम अन्तिम चरणमा पुग्दा तत्कालीन नेकपाका हाँगाहरूको सबै सीट जोड्दा १२० पनि पुग्न कठिन हुने देखिन्छ । २ वर्षअघि एउटै रहेको नेकपा यो चुनावमा आइपुग्दा वामदेव गौतम र घनश्याम भुसालसमेत जोड्दा ५ वटा टुक्रामा पुगेछ ।

अब कुराको चूरोतर्फ अघि बढौं । नेपालको संसदमा २०६४ पछि पहिलोपटक वामपन्थीहरू अल्पमतमा परेका छन् । अनि ठीक यहीबेला अब वामपन्थी सरकारको स्याड म्युजिक सुनिन थालेको छ । पहिलो कुरा त, एउटा गठबन्धनमा बसेर ५ वर्षको सरकार दिन्छौं भनेकाहरू चुनाव परिणामलगत्तै फेरि वामका नाममा अर्कोतिर लाग्ने कुरा उठ्नु नै सबैभन्दा विकृत सोचको उपज हो ।

यदि कम्युनिष्ट पार्टीको विभाजन गलत थियो भन्ने ‘एहसास’ सबै पक्षलाई भएको हो भने स्वेतपत्र (कम्युनिष्टको भाषामा लालपत्र) जारी गरुन् । आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन गरिएका बमबार्डदेखि, आत्मरक्षाको नाममा गरिएका संसद विघटनसम्मका कर्महरूको समीक्षा गरुन् ।

दोस्रो कुरा, वामपन्थीहरूको कथित एकता नै भएछ वा सहकार्य नै हुने भएछ भने पनि यो संसदबाट वामपन्थीको बहुमतको सरकार सम्भव छैन । त्यसैले चुनाव परिणाम आइसकेको र कसैले पनि चुनाव नजितको झोंक ‘वाम एकता’ नामको विषाक्त हतियारबाट फेर्न खोज्छ भने त्यो कुण्ठा, आवेग वा छलछामबाहेक अरु केही होइन । यसर्थ तत्कालका सन्दर्भमा कथित वाम एकता वा वाम सरकारको प्रयास ‘स्याड म्युजिक’ मात्र हो ।

चुनावमा २ वर्षअघिको सग्लो नेकपाका चार हाँगासहित ५ वाम समूह कांग्रेससँगको गठबन्धनमा थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र घनश्याम भुसालको स्वतन्त्र वाम समूह गठबन्धनका हिस्सा थिए । भलै वामदेवले अन्तिम घडीमा आफू चुनावमा निरपेक्ष रहेको बताए ।

यी नेकपाका चार हाँगाबाहेक मोहनविक्रम नेतृत्वको नेकपा मसाल (राजमो) समेत पाँच वाम समूहको समेत नेता शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा गएको गठबन्धनले सोचेजस्तो परिणाम निकाल्न सकेन । केपी ओली नेतृत्वको नेकपा एमालेविरुद्धको गठबन्धनले सके दुई तिहाई, त्यति नहुँदा पनि सुविधाजनक बहुमत ल्याउने आम आँकलन थियो ।

घण्टी बज्यो, अब दमाहा बज्छ

गठबन्धनका नेताहरूले चुनावअघि जनतासमक्ष मत माग्दा यो गठबन्धन अरु १५/२० वर्ष सँगै जाने र चुनावपछि पनि मिलेरै सरकार चलाउने प्रतिबद्धता जनाएका हुन् । मतपरिणाम सोचेजस्तो नआउँदैमा वा चुनावमा गठबन्धनको मत सोचेजस्तो ट्रान्सफर भएन भन्दैमा वाम लोकतान्त्रिक गठबन्धन भत्काएर यसअघि असफल भइसकेको वाम एकताको निरस बाजा बजाउनु जनमतमाथिको अपमान हो ।

सरकार बनाउनका लागि जे पनि गर्ने र बनाइसकेपछि केही पनि राम्रो नगर्ने परम्परागत राजनीतिमाथि यति ठूलो आवाजमा जनताले घण्टी बजाइसक्दा पनि अझै नेताहरू चेत्ने छाँटकाँट देखिन्न । गठबन्धनले बहुमत ल्याएन भने, त्यसका विकल्पहरू होलान् तर चुनाव एउटाको सहारामा जित्ने र जितिसकेपछि अर्कोतिर लाग्ने प्रवृतिलाई वामपन्थ वा रामपन्थको नाममा अनुमोदन गरियो भने राजनीतिक थप विकृत हुनेछ ।

पाँचदलीय गठबन्धनले बहुमत जुटाउन सकेन भने सरकार गठनका विकल्पहरू खुला छन् । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्न पनि सक्छ । तर, वाम एकता वा वाम सरकारका नाममासत्ता लुटपाटको मात्र उद्देश्य राखियो भने त्यसले आउने चुनावमा घण्टीमात्र होइन दमाहा पनि बज्नेछन् ।

जनताले न त प्रचण्ड माधवले ओलीमाथि गरेको कारबाहीलाई मंसिर ४ बाट अनुमोदन गरे, न त ओलीलाई पूर्ण अनुमोदन गरे । चाणक्यले भनेजस्तै अवस्था नेपालका वामपन्थीहरूलाई सम्भवतः अझै आइसकेको छैन । किनकी सत्ता गठबन्धन बहुमतको नजिक छ र प्रचण्ड-माधवको उपादेयता शेरबहादुर देउवाका लागि अझै पनि सकिएको छैन ।

हुन त अहिले वाम सरकारको कुरा प्रचण्ड-माधव वा केपी ओलीबाट संस्थागतरूपमा आएको छैन । केही दोस्रो तहका नेता, चुनाव हारेका माओवादी उम्मेदवार, कतिपय घनश्याम भुसालका अनुयायी र केही वामपन्थप्रति सैद्धान्तिकरूपमा ‘तीब्र नफरत’ गर्ने बौद्धिक तप्काबाट वामहरू मिल्नुपर्ने तर्क आइरहेका छन् ।

त्यसो त नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताले वाम आन्दोलनप्रतिको चिन्ताका कारण पनि इमानदार नियतले वाम एकताको चाहना व्यक्त गरेका छन् । उनीहरू वाम सरकार बने पनि सत्तास्वाद लिने अर्थात् पार्टी सत्ता वा राज्यसत्तामा तर मार्ने तप्का होइनन् । तर, उनीहरूको चाहना र नेताहरूको नियतमा आकाश-जमिनको फरक छ ।

यी तर्कले बहस सिर्जना गरे पनि सार्थकता पाउने कुनै सम्भावना कम्तीमा अहिले देखिँदैन ।

असफल घनश्याम मोडल

फेरि पनि सत्ता गठबन्धनलाई जोगाउँदै, यसमा थप सांसद र शक्तिहरू जुगाड गरेर सरकार गठनको प्रयास भइरहेकै छ । कांग्रेस महामन्त्री गगन थापादेखि प्रवक्ता प्रकाशशरण महतहरूले अबको सरकार पनि कांग्रेसकै नेतृत्वमा बन्ने बताइसकेका छन् । प्रचण्ड-माधवको नसिबमा अझै कांग्रेसको नेतृत्वमा रहनुपर्ने बाध्यता छ भने, कार्यकाल बाँडेर आलोपालो खाने लालसा कायमै छ ।

हुन त केपी ओलीले नेपाल प्रेससँगको चुनावअघिको अन्तर्वार्तामा चुनावपछि प्रचण्ड गठबन्धनमा नरहने दाबी गरेका थिए । त्यो भनेको चुनावी ट्याक्टिस थियो, गठबन्धनमा आशंका पैदा गरिदिने । चुनावपछि बधाई दिन केपी ओलीले गरेको फोन कललाई प्रचण्डले प्रधानमन्त्रीको प्रस्तावका रूपमा प्रचार गर्नु पनि कांग्रेसलाई दबाबमा राख्ने ट्वीस्ट थियो ।

मुलतः कम्युनिष्ट पार्टीका यी शीर्षस्थ नेता वाम आन्दोलन वा नयाँ पुस्ताका कार्यकर्ता अनि देशको लागि सोचेर एक ठाउँमा उभिने तथा त्याग गर्ने ठाउँमा पुगिसकेका छैनन् । अहिले वाम एकताको कुरा गर्नु घनश्याम भुसालको असफल भइसकेको र जन अनुमोदन नपाएको एजेण्डा हो । यो विषय सुन्न र बहस गर्नलाई गज्जब छ, तर व्यवहारमा सम्भव छैन अहिलेलाई ।

घनश्याम भुसालले चुनावअघि अझ स्थानीय चुनावअघि देखि एमालेमै रहेर वाम एकताको म्युजिकमा धुन दिइरहे । तर, केपी ओली, प्रचण्ड वा माधव नेपाल कसैलाई पनि त्यो म्युजिकले आकर्षित गरेन । अन्तिममा टिकट नपाएपछि उनी आफैं कांग्रेसको समर्थन खोजेर रुखलाई भोट माग्दै सैनामैना र तिलोत्तमाका चोकहरुमा भेटिए । घनश्यामले यदि आफ्नो एजेण्डा गलत थियो भने जनताले मंसिर ४ मा परास्त गर्नेछन् भनेका थिए, रुपन्देही १ का जनताले त उनको एजेण्डा अस्वीकृत गरिदिए ।

गठबन्धनमा आबद्ध वाम दलले केपी ओली र एमालेलाई प्रतिगमन भन्दै प्रतिगमनमाथिको अन्तिम धक्का भनेर मंसिर ४ लाई परिभाषित गरेका थिए । ‘सर्वोच्च अदालतको परमादेशबाट बार्दलीमा पुर्‍याइएको प्रतिगमनलाई मंसिर ४ को जनादेशबाट अन्तिम प्रहार गर्ने’ भनेका भाषणका भिडिओ क्लिप पुराना नहुँदै फेरि निर्लज्ज वाम सहकार्यको प्रस्ताव गर्नलाई ‘लाजसरम’ पच्नुपर्छ ।

खानका लागि मिल्ने र भाग नमिलेपछि फुट्नेहरूले फेरि सिद्धान्त वा विचाराधाराको जामा पहिरिएर एकताको कुरा गर्नु सत्ता प्यासमात्र हो । कांग्रेसको भोट लिएर चुनाव जित्ने, अनि वाम सरकारका नाममा एमालेतिर लाग्ने ? अथवा परमादेशी गठबन्धनलाई जनादेशबाट ठेगान लगाउँछौं भन्ने, अनि सत्ताको अंकगणित मिलाउन वाम एकता भन्ने ? यी दुवै प्रवृति विकृत वामपन्थ हुन् ।

यदि दलहरू एक्ला-एक्लै चुनावी प्रतिस्पर्धामा गएका थिए भने वाम वा रामका नाममा चुनावपछि सत्ता सहकार्य गर्ने कुरा स्वाभाविक हुन्थ्यो । तर, चुनावअघि नै जनतालाई गठबन्धनका नाममा मतपत्रमा सिण्डिकेट लाद्नेहरू जनमतबाट अनुमोदित नभएपछि अरु विकल्पमा जान्छौं भन्नुको अर्थ छैन । सरकार गठनमा बहुमत जुटाउन जो कोही खुल्ला छन्, तर विचारधाराका नाममा हुने गठबन्धनको औचित्य उनीहरूले नै समाप्त पारिसकेका छन् ।

पहिले ‘लालपत्र’ जारी गर

यदि कम्युनिष्ट पार्टीको विभाजन गलत थियो भन्ने ‘एहसास’ सबै पक्षलाई भएको हो भने स्वेतपत्र (कम्युनिष्टको भाषामा लालपत्र) जारी गरुन् । आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन गरिएका बमबार्डदेखि, आत्मरक्षाको नाममा गरिएका संसद विघटनसम्मका कर्महरूको समीक्षा गरुन् । बितेका कुरा इतिहासले समीक्षा गर्छ भन्दै सत्ताका लागि मिल्ने कुरा नेतालाई सुहाउला तर कार्यकर्ता र जनताले अश्वीकृत गर्छन् ।

त्यसैले यो बेला वाम एकताको वा वाम सरकारको स्याड म्युजिक बजाउनुभन्दा, निर्वाचनको सम्पूर्ण मतपरिणाम आइसकेपछिको राजनीतिक समीकरण हेर्ने र गठबन्धनले सरकार बनाउन नसक्ने अवस्थामा विकल्पहरू खुला गर्ने कुरा बढी सैद्धान्तिक, व्यवहारिक र बाध्यात्मक कदम हुनेछन् ।

खानका लागि मिल्ने र भाग नमिलेपछि फुट्नेहरूले फेरि सिद्धान्त वा विचाराधाराको जामा पहिरिएर एकताको कुरा गर्नु सत्ता प्यासमात्र हो । कांग्रेसको भोट लिएर चुनाव जित्ने, अनि वाम सरकारका नाममा एमालेतिर लाग्ने ? अथवा परमादेशी गठबन्धनलाई जनादेशबाट ठेगान लगाउँछौं भन्ने, अनि सत्ताको अंकगणित मिलाउन वाम एकता भन्ने ? यी दुवै प्रवृति विकृत वामपन्थ हुन् ।

फेरि पनि अनौपचारिक र पत्रकारिताको औपचारिक भाषाविपरीत गएर मैले भन्ने गरेको छु, चुनावअघि धुर्बे हात्तीले कुल्चाएर मार्छु, छौंडा लगाएर ठहरै पार्छु भन्ने तहसम्ममा उत्रेर गालीगलौज गरेका नेताहरू वामसत्ता स्वार्थका लागि वाम एकताको वस्त्र पहिरिन खोज्छन् भने त्यो साइँदुवा तर्क हो । फेरि पनि शीर्ष नेताले नचाहेको वा महसुस नगरिसकेको वाम एकताको चाहना कुनै बेला नेपाल आइडलका चर्चित सहभागी झक्कड थापा र नरेश पातलीको लयविहीन गीतजस्तै हुनेछ । र, असल नियतले वाम एकता चाहनेहरूको स्याड म्युजिकमात्र हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *