जसपाको घोषणापत्र- पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली (पूर्णपाठ) – Nepal Press

जसपाको घोषणापत्र- पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली (पूर्णपाठ)

भ्रष्टाचार अन्त्य गर्न जनलोकपाल गठन गर्ने प्रतिबद्धता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्दा सहित घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच जसपाले जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने, प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने मुद्दा सहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।

जसपाले कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनौट गरी मन्त्रिपरिषद् बनाउने र शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञमध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने उल्लेख गरेको छ ।

संघीय संसद् र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने तथा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने एजेन्डा जसपाको छ ।

त्यस्तै पहिचानलाई बेवास्ता गरी प्रशासनिक संघीयता आत्मसात् गरेको भन्दै जसपाले राष्ट्रिय पहिचानसहितको संघीयताको ढाँचामा पुनः राज्यको पुनर्संरचना गर्ने संकल्प अघि सारेको छ ।

यो पनि पढ्नुहोस्- जसपाको आश्वासन: शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, ‘एक घर, एक रोजगारी’

कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको र विकृति पैदा गरेको भन्दै यस्तो निर्वाचन प्रणालीले निरन्तरता पाए सामान्य नागरिकले चुनाव लड्न नसक्ने अवस्था आउने बताए । उनले मुलुकको न्याय प्रणालीको पनि पुनर्संरचना गर्नुपर्ने धारणा राखे ।

त्यस्तै अध्यक्ष यादवले संसद्बाट दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले धेरै आशंका पैदा भएको र भविष्यमा यसले राम्रो उदाहरण नलिने तर्क गरे ।

यो पनि पढ्नुहोस्- दुई वर्षभित्र नेपालमा रासायनिक मल कारखाना खोल्ने जसपाको प्रतिबद्धता

सरकारले विधेयक पास गर्ने र राष्ट्रपतिले प्रमाणीकरण नगर्ने हो भने सिस्टम नै कोल्याप्स हुने उनको भनाई छ । उनले नेपाली नागरिकलाई नागरिकता दिन लामो समयदेखि नै संघर्ष गर्दै आएको उक्त मुद्दा अहम् मुद्दा भएको बताए ।

त्यस्तै कार्य क्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाअभियोग लगाउन सकिने व्यवस्था गर्ने पनि जसपाको घोषणापत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्- जसपाको आरोप: संविधान कांग्रेस, एमाले र माओवादीको बलमा ल्याइएको दस्ताबेज मात्रै

सांस्कृतिक बहुलता र जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै धर्मनिरपेक्ष राज्यको सिर्जना गर्न तथा मुलुकको सामाजिक सद्भाव बिथोल्ने जातिवादी र रङ्गभेदी नीतिको साथै वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय लगायत सबै खाले उत्पीडनको अन्त्य गर्ने जसपाले जनाएको छ ।

संविधानमा रहेका त्रुटि र अपूर्णताहरूलाई संविधान संशोधनमार्फत पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थान गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्- चीनसँग केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग बनाउने जसपाको प्रतिबद्धता

यस्तै शक्ति जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिबद्धता पनि जसपाको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर