जसपाको आरोप- संविधान कांग्रेस, एमाले र माओवादीको बलमा ल्याइएको दस्ताबेज मात्रै – Nepal Press

जसपाको आरोप- संविधान कांग्रेस, एमाले र माओवादीको बलमा ल्याइएको दस्ताबेज मात्रै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन गर्नु आवश्यक भएको बताएको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै संविधान संशोधनको आवश्यकता भएको बताएको हो।

घोषणापत्रमा भनिएको छ- नेपालको संविधान मूलतः नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बहुमतको बलमा जारी गरेको दस्तावेज हो । संविधान जारी गर्दाको बखत सिङ्गो देश दुई कित्तामा विभाजन भयो । यस संविधानमा प्रमुख दलहरूले पहिचान र सामर्थ्यताका आधारमा राज्य पुनर्संरचना गर्ने आफैँले घोषणा गरेका तथा पहिलो संविधानसभाले पारित गरेका पुनर्संरचनाका आधारहरूलाई उल्ट्याएका छन् । तिनीहरूले संविधानसभाको निर्वाचनमा जनताका बीच मत माग्दा पहिचान र सामर्थ्यताको आधारमा राज्यको पुनर्संरचना गर्ने प्रतिबद्धतासहित घोषणापत्र जारी गरेका थिए ।

आफ्नो बहुमत भएपछि तीन वटै प्रमुख दलहरू मिलेर आफ्नो घोषणापत्रको विपरीत गएर संविधान जारी गरेको उल्लेख गरेको छ। यो संविधानले मुलुकको संघीय संरचना र समावेशी लोकतन्त्रको आधारभूत मान्यताहरूलाई अभिव्यक्त गर्न सकेको उल्लेख गरेको छ।
यसले केवल प्रशासनिक संघीयताको पक्षपोषण गरेको आरोप लगाए। मुलुकको विद्यमान शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलाई यथावत् राखेर संघीय समाजवादी व्यवस्थाको आधारशिला खडा गर्न नसक्ने उल्लेख गरेको छ।

घोषणापत्रमा भनिएको छ- शासकीय स्वरूपमा परिवर्तन, सङ्घीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई सङ्घीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायहरूलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्न, उत्पीडित समुदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्न, नागरिकतामा विद्यमान लैङ्गिक विभेद अन्त्य गर्न, धर्मनिरपेक्षताको व्याख्यालाई स्पष्ट पार्न, समावेशी लोकतन्त्रका आधारभूत पक्षहरू जस्तै: राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक तथा सांस्कृतिक लोकतन्त्र, पर्यावरणीय लोकतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय स्थापित गर्नका लागि संविधान संशोधन÷परिमार्जन अपरिहार्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर