रवीन्द्र मिश्र भन्छन्ः जनता कांग्रेस-एमालेको मायाजालमा परेका छन्, राप्रपाले त्यसलाई चिर्छ
‘राजा महेन्द्र जत्तिको राजनेता नेपालमा कोही जन्मेको छैन’
काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ बाट दोस्रोपटक संसदीय चुनाव लड्दैछन् रवीन्द्र मिश्र । फरक चाहिँ के भने उनी अघिल्लोपटक विवेकशील-साझा पार्टीका उम्मेदवार थिए भने योपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका ।
मिश्र पार्टीमात्र होइन, पूरै राजनीतिक एजेन्डा फेरेर मतदातासामु फर्किएका हुन् । उनी गणतन्त्रवादीबाट राजसंस्थावादी बनेका छन्, हिन्दू राष्ट्रको पक्षमा र संघीयताको विपक्षमा उभिएका छन् । अनि, ट्याग पाएका छन्- पश्चगामीको ।
मिश्र भने आफूलाई पश्चगामी स्वीकार गर्दैनन् । अग्रगामी र पश्चगामीको नेपालमा गलत भाष्य स्थापित गरिएको लगातार दाबी गर्दै आएका छन् । मिश्रको भनाइमा उनी र उनको पार्टी राप्रपा संवर्द्धनवादी हो । राजा फर्काउने कुरा गर्दैमा पश्चगामी नभइने उनको तर्क छ ।
चुनावी चटारोमा रहेका मिश्रले नेपाल प्रेससँग आफ्नो राजनीतिक यात्रा तथा चुनावी रणनीतिबारे लामो कुराकानी गरे । आफूले ८ हजार भोटले जित्ने आँकलन प्रस्तुत गर्दै उनले यसपालिको संसदमा राप्रपाको सशक्त उपस्थिति रहने दाबी पनि गरे ।
मिश्रसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमाः
– पहिलेदेखि नै तपाईंको अभिव्यक्तिमा राजतन्त्रप्रति सफ्ट कर्नर देखिन्थ्यो । अहिले आएर घोषित रुपमा ‘राजावादी’ बन्नुभएको छ । के यतिका दिनसम्म तपाईंले बोकेको विचार र गरेको राजनीति फरक दिशामा थिए ?
आंशिक रुपमा केही हदसम्म त्यस्तो पनि भन्न सकिएला । मैले राजसंस्थाको बारेमा खुलेर आलोचना पहिले पनि धेरै गरेको छैन । मैले कतिपय स्थितिमा राजाको आलोचना गरेको छु । तर, राजसंस्थाको होइन । २०६२/६३ को आन्दोलनको बेलामा पनि ठीक छ, राजाले गल्ती गरे । तर, राजा पनि नेपाली, हामी पनि नेपाली । नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ । तर, विदेशीले आएर चड्कन हान्न थाले भने कसरी सहने ? त्यसले त देशलाई नै भड्खालोमा पुर्याउँछ भन्ने मेरो मान्यता रह्यो । त्यसैले मैले बारम्बार राजदरवार भत्काएर दिल्ली दरवार निर्माण नगरौं भनेको हो । त्यति वेला म गणतन्त्रकै एजेन्डा लिएर हिँडे पनि राजसंस्थाप्रति नरम भएको पाउनुहुन्छ ।
– भनेपछि विचार र व्यवहारको विरोधाभासले नै तपाईंको राजनीतिलाई अप्ठेरोमा धकेलेको भन्न सकिन्छ ?
विरोधाभास चाहिँ थिएन । अहिले पनि छैन । मेरो धारणा के हो भने तपाईंले गर्ने राजनीति भनेको तपाईंको व्यक्तिगत विचारभन्दा माथि हुनुपर्छ । त्यो देशका लागि हुनुपर्छ । देशलाई शीरमा राखिनुपर्छ । म आफूलाई नेपालवादी हुँ भन्ने गर्छु । त्यसो भन्दा मान्छेहरु मलाई उग्र राष्ट्रवादीको संज्ञा दिने गर्छन् । कम अन… नेसन फर्स्ट । देश बन्यो भने सामान्य श्रमिकले राम्रो जीवनयापन गर्नसक्छ । देश बनेन भने मुठ्ठीभर व्यक्तिले चिल्ला मोटर चढ्लान्, आसिलान जीवन बाँच्लान् । तर, अधिकांशको जीवन दयनीय हुन्छ । नेपालवादी भएकैले मैले मार्ग परिवर्तन गरेको हुँ ।
– देशको राजनीतिक, बौद्धिक तप्का र मिडियामा गणतन्त्रवादीको बोलबाला छ । यो घेराभित्र ‘राजावादी’को छवि बोकेर पनि शीर ठाडो गरेर हिँड्न सकिँदो रहेछ ?
दुईवटा कुरा छन् । ‘राजावादी’ भन्ने शब्द नै गलत ढंगबाट प्रयोग भइरहेको छ । भोलि ‘रानी’ पनि त राष्ट्र प्रमुख हुनसक्ला । अब त यो समयमा लिंगभेद गर्न मिल्दैन । यसर्थ ‘राजसंस्थावादी’ भन्नु उपयुक्त हुन्छ । म राजसंस्थावादी हुँ । राप्रपा राजसंस्थावादी पार्टी हो ।
मैले किताबमा पनि लेखेको छु । यहाँ नागरिक, समाज, मिडिया, प्राज्ञिक समाज, पेशाकर्मी, विकृत वामपन्थीलगायतले बनाएको भाष्य अत्यन्त दुर्भाग्यपूर्ण छ । पाँचतारे होटलमा गएर लोकतन्त्रको सौन्दर्यको बारेमा कार्यपत्र दियो, प्रवचन ठोक्यो, साँझमा आएर सामाजिक सञ्जालमा विचार नमिल्नेलाई तथानाम लेख्यो । उनीहरुले कि त आफूलाई लोकतन्त्रविरोधी घोषणा गर्नुपर्यो । लोकतन्त्रमा त कोही राजसंस्थावादी, कोही गणतन्त्रवादी, कोही संघीयतावादी, कोही केन्द्रीयतावादी, कोही धर्मनिरपेक्षतावादी, कोही हिन्दू धर्मवादी हुन्छन् नि ! फरक विचार नै लोकतन्त्रको सौन्दर्य होइन र ?
– तर, राजतन्त्र र हिन्दूराष्ट्र त प्रतिगमनकारी एजेन्डा नै होइनन् र ? यहाँसम्म आएको राजनीतिलाई फेरि पछाडि फर्काउने कुरा सही हो ?
मलाई थाहा थियो कि मैले यस्ता एजेन्डाहरु बोक्दा मलाई ती सबै खेमाबाट प्रतिगामीको बिल्ला निधारमा भिराइन्छ । त्यसलाई सामना गर्छु भनेर, चिर्छु भनेर नै आएको हुँ । मेरो केही व्यक्तिगत स्वार्थ छ ? मैले भन्ने गर्या छु, पत्रकार हुँदा दुईपटक राजालाई भेटेको हुँ । त्यसपछि भेट्या छैन । कुनै साँठगाँठ, सम्बन्ध छैन । कुनै स्वार्थ छैन । ३० वर्षपछिको नेपालको परिकल्पना नगरी राजनीति नगरौं भन्नेमात्रै मेरो सोच हो । तपाईं हाम्रा छोराछोरी यो देशमा बस्नै चाहँदैनन्, किन ? यस्तो देश बनाएकाले गमक्क परेर भाषण गर्ने ? लोकतन्त्र भन्दै कार्यपत्र प्रस्तुत गर्ने ? त्यसकारण म भिड्छु नै भनेर गरेको हो । कसले कसरी गाली गरे, दानवीकरण गरे उहाँहरुको कुरा हो ।
– ट्विटरमा आएका प्रतिक्रियाहरु हेर्दा बेकारमा मार्ग परिवर्तन गरेँ भन्ने कहिल्यै मनमा आएन ?
बिल्कुल छैन । मलाई त यो गरेर मैले ठीक गरेँ भन्ने भएको छ । यही चुनावमा पनि मलाई ठूला पार्टीका ठूला नेताले कहाँ राप्रपासँग मिल्ने, हाम्रो पार्टीमा आउनुस्, जित्ने ठाउँमा टिकट दिन्छौं भनेका हुन् । मैले पदका लागि राजनीति गर्या हो र ? केही पाउँछु भनेर हो र ? मैले त देशका लागि राजनीति गरेको हो । केही पाउँछु भनेर गरेको भए चुनाव अगाडि यो एजेन्डा ल्याउँदै ल्याउँथिन । मैले देशका लागि राजनीति गर्दा कसैले खिसिट्यूरी गर्छन् भने मतलब राख्दिनँ ।
– भनेपछि सामाजिक सञ्जालका प्रतिक्रियाले तपाईंलाई केही फरक पार्दैन ?
सामाजिक सञ्जालको कमेन्ट त हेरेर भ्याउँदै भ्याइन्न । मैले भन्याजस्तो भाष्य नै कस्तो बनाइयो भने वामपन्थी हुनु चाहिँ अग्रगमन हो । यो समाजमा संवर्द्धनवादी हुनु चाहिँ पश्चगमन भन्ने भाष्य बनाइयो । यो के विडम्बना हो ? संसारभर संवर्द्धनवादी पार्टी छन् । हरेक देशमा आफ्नो परम्परागत मूल्य-मान्यता, संस्कृति तथा पहिचानको पक्षपोषण र संवर्द्धन गर्नुलाई प्रगतिशीलता मानिन्छ । यहाँ चाहिँ मन्दिर भत्काउने, पूजा गरे खिसिट्यूरी गर्ने, धुप बाल्दा गाली गर्ने प्रवृत्ति छ । अनि प्रगतिशीलता भनेको चाहिँ यी सबै कुरालाई उल्टाउने ? मन्दिर भत्काउने, सालिक भत्काउने प्रगतिशीलता ? अग्रगमन र पश्चमनको भाष्य परिवर्तन गर्नुपर्छ । हामीभन्दा मुनिको पुस्तामाथि वैचारिक, प्राज्ञिक, सामाजिक रुपमा धेरै अन्याय गरेका छौं ।
– राजनीतिमा आफैंले आफैंले नयाँ राजनीतिक पार्टीको बीऊ रोप्नुभयो । त्यसलाई मलजल गर्नुभयो । अहिले अहिले आएर पार्टी संकटमा परेपछि अर्को पार्टीमा हाम फाल्नुभयो । आफू चढेको डुंगा डुब्न लागेपछि अर्को डुंगामा हाम फाल्नु राजनीतिक बेइमानी हो कि होइन ?
त्यो पार्टी जन्माउन हामीले २/३ वर्षको प्रशव पीडा भोगेको हो । आफूसहित समान विचारधारा बोकेका साथीहरु मिलेर जन्माएको हुँदा मातृत्वको भाव नभएको होइन । तर, मार्ग परिवर्तन गरेपछि पार्टीभित्र केही कुराहरु खल्बलिए । मलाई के लाग्यो भने मैले यो पार्टी बनाएको एउटा पसल थापेर अध्यक्ष हुन होइन । कम्तिमा दुईजनालाई मैले तपाईं पार्टी नेतृत्व गरिदिनुस्, म दाहिने हात हुन्छु भनेर प्रस्ताव गरेको हो । त्यसैले म पदका लागि राजनीति गर्ने हुँदै होइन । मेरो चाहना त देशको परिवर्तन हो । देश बदल्ने हो । त्यसैले म मेरो व्यक्तिगत आकांक्षाभन्दा माथि उठेको हुँ ।
त्यो पार्टीमा कैयौं साथीहरु एजेन्डा बदल्नु हुँदैन भन्ने पक्षमा रहनुभयो । त्यसैले ठीक छ, तपाईंहरु पार्टीको नेतृत्व गर्नुस् भनेको हुँ । सबै लथालिंग नहोस् भनेर अन्तिम घडीमा पनि मैले सहयोगपूर्ण भूमिका निभाएँ । अन्त्यमा तपाईंहरु अगाडि बढाउनुस्, म छुट्टिन्छु भनेको हो । तर, पार्टीमा वैचारिक धु्रवीकरण भएको हुँदा एउटा समयसम्म अप्ठेरो परिस्थिति आउँछ, त्यसको उहाँहरुले सामना गर्नुभएको छ । त्यसमा म खुशी छैन । ती साथीहरुको मन दुःखेकोमा म दुःखी छु । तर, मेरो व्यक्तिगत धारणाभन्दा मैले गर्ने राजनीति देशका लागि हुनुपर्छ भन्ने निष्कर्षले यो कठिन निर्णय लिएँ ।
– एजेन्डा परिवर्तनका कारण पार्टीको नेतृत्वबाट राजीनामा दिनुभएको हो कि पार्टीले स्थानीय चुनाव हारेका कारण ?
त्यति वेला संघीयता र धर्म निरपेक्षताको खारेजीको एजेन्डा पार्टीको दुईतिहाइभन्दा बढी केन्द्रीय समितिका साथीहरुको बहुमतमा पारित भइसकेको थियो । त्यसपछि स्थानीय चुनावमा गयौं । चुनावमा ठीकै-ठीकै परिणाम आएको भए पनि म राजीनामा दिन्नथेँ । तर, यस्तो बर्बाद परिणाम आयो कि मलाई मलाई चरम नैतिक दबाब प¥यो ।
– तपाईंको मार्ग परिवर्तनकै कारण स्थानीय चुनावमा दयनीय नतिजा आएकोमा सहमत हुनुहुन्छ ?
त्यो पनि होइन । गएको उपचुनावमा पनि हाम्रो नतिजा राम्रो थिएन । त्यति वेला सबै ठीकठाक थियो । उम्मेदवार पनि राम्रा थिए । त्यति वेला बर्बादै नतिजा आएको हो ।
– तपाईंहरुले निकै मेहनत गर्दा पनि जनताले किन पत्याएनन् त ?
वास्तवमा जनताको तल्लो तप्कासम्म कांग्रेस, एमाले र माओवादीले गाँजेका रहेछन् । जनतालाई ती पार्टीहरुले हामीलाई राजनीतिक बन्धक बनाएको भन्ने अनुभूति नै छैन । एकप्रकारको मायाजालमा परेका छन् जनता । हो, पीडितले पीडक चिन्न सकेका छैनन् । पाँच वर्ष पीडा भोग्छन्, चुनाव आएपछि उनीहरुलाई नै रोज्छन् । त्यसैले हामीले बलिया एजेन्डा बाबजुद जनतालाई उनीहरुको मायाजालबाट छुटाउनै सकेनौं ।
– त्यस्तो मायाजाल हुँदो हो त बालेनले चुनाव जित्थे होला र ?
देशका ७५३ वटा स्थानीय चुनावमा कतिजना स्वतन्त्रले जिते ? बालेन, हर्क साम्पाङहरु अपवाद हुन् । अपवाद संसारको जुनसुकै ठाउँमा, जुनसुकै क्षेत्रमा हुन्छ । अपवादलाई सामान्यीकरण गर्न मिल्दैन । म पनि कवि हुँ । तर, लक्ष्मीप्रसाद देवकोटा जस्तो किन भइनँ भन्न मिल्छ ?
– दोस्रोपटक चुनावमा होमिँदै हुनुहुन्छ । चार वर्षअघि सामाजिक सञ्जालमा तपाईंले सजिलै चुनाव जित्ने जस्तो लोभलाग्दो माहोल थियो । यसपालि त्यस्तो माहोल देखिँदैन नि ?
त्यति वेला मैले भर्खरै बीबीसी छोडेको नयाँ अनुहार थिएँ । निर्वाचन आयोगको रोकतोक थिएन । बाटोमा लाउड स्पिकरमा गीत गाउँदै, मादल बनाउँदै हिँड्थ्यौं । त्यो झन्कार सामाजिक सञ्जालमा प्रतिबिम्बित भएको थियो ।
त्यति वेला घरदैलो त व्यापक गरियो । तर, ८०/९० प्रतिशत ननभोटर्सकहाँ पुगिएछ । बाटोमा भएका पसल र सटरहरुमा बस्ने प्रायः स्थानीय मतदाता हुँदैनन् । त्यसैले उनीहरुलाई प्रभाव पारेर भोट आउँदैन ।
योपटक व्यापक रुपमा सामूहिक भेटघाटमा जोड दिएका छौं । त्यसमा अनौठो किसिमको साथ-समर्थन पाइरहेको छु । जति ठूलो स्थानमा कार्यक्रम गर्दा पनि भरिभराउ भइरहेको छ । सबैको चासो र सकारात्मक प्रतिक्रिया छ । २०७४ सालको निर्वाचनमा तामझाम बढी भयो । साथ र समर्थन चाहिँ अहिले त्योभन्दा बढी पाएको महसुस भएको छ । १५ वर्षदेखि सांसद रहनुभएका व्यक्ति निकम्मा हुनुभयो र उहाँलाई हराउने भनेको रवीन्द्र मिश्रले नै हो भन्ने माहोल यत्रतत्र पाउनुहुन्छ । यसपालि भोट बाँडिनु हुँदैन भन्नेमा मतदाताहरु नै सचेत बन्नुभएको छ ।
– तपाईंको भोट त बाँडिने नै भयो नि ! तपाईंले जस्तै सुशासन र स्वच्छ राजनीतिको वकालत गर्ने लोकप्रिय अनुहार रमेश खरेल पनि मैदानमा हुनुहुन्छ । स्वतन्त्र पार्टीका युवा उम्मेदवार पनि छन् । तपार्इंको भोट बैंक तितरबितर भएन र ?
अब भोट बाँडियो भने फेरि पुरानै विकृति फर्किन्छ भन्नेमा जनता सचेत हुनुभएको छ । उम्मेदवारमा सबभन्दा योग्य र सक्षम रवीन्द्र मिश्र नै हो र हलोमै भोट दिनुपर्छ भन्ने भावना बढ्दो रुपमा विस्तार भइरहेको छ । टोलटोलले सामूहिक निर्णय गरिरहेका छन् ।
– तर पनि रमेश खरेल र तपाईं एउटै निर्वाचन क्षेत्रबाट लड्दा ठीक भयो र ?
लोकतन्त्र हो यो । ५० जनाले उठ्छु भने पनि रोक्न मिल्दैन । शुभेच्छुकलाई मैले गर्ने निवेदन चाहिँ कि मलाई खराब भन्नुपर्यो । म अघिल्लो चुनावमा ८१९ भोटले हारेको हुँ । फेरि यो क्षेत्रबाट चुनाव लड्ने स्पष्टै थियो । राम्रो मान्छे चाहियो पनि भन्ने, राम्रो मान्छे हुँदाहुँदै फटाफट उठिदिने । मैले गर्ने के ?
– उहाँहरुसँग तपाईंको संवाद भएन ?
संवाद नभएको होइन । तर, कोही पनि सम्झौता गर्नै पक्षमा छैनन् । मेरो त आग्रह अहिले पनि छ, यस्तो नगरिदिनुस् भन्ने । नगरिदिएको भए हुन्थ्यो । तर, तपाईंले रोक्न सक्नुहुन्न ।
– तपाईंको भाषण र अन्तर्वार्ताहरु सुन्दा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई मात्रै निशाना बनाइरहनुभएको छ । तर, मैदानमा एमाले पनि कमजोर छैन भनिन्छ । स्थानीय चुनावमा पनि कांग्रेस हाराहारी एमालेको भोट छ । एमाले उम्मेदवारलाई नगन्नुभएको कि एमालेका मतदाताको भोट पाउने आशा अझै भएर हो ?
यहाँ १५ वर्षदेखि सांसद भएको प्रकाशमान हो । अरुले हेर्दा निकटतम प्रतिद्वन्द्वी भनेर हेरिएको पनि उहाँ हो । म यसपालि ८ हजार मतको अन्तरले जित्छु भनिरहेको छु । उहाँ २५ वर्षअघि मन्त्री भइसकेको, उपप्रधानमन्त्री भएको व्यक्ति । पार्टीको उपसभापति र महामन्त्रीसमेत भएको । के गर्नुभयो त उहाँले भन्ने प्रश्न त उठ्छ नै ।
– अब प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ । प्रधानमन्त्री बनेपछि केही गर्नुहोला नि ?
त्यही त गज्जब कुरा छ । मन्त्री हुँदा, उपप्रधानमन्त्री हुँदा गरेको उल्लेख्य काम केही छैन । त्यत्रो लामो राजनीतिक जीवनमा केही नगर्ने अनि प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्ने ? यस्तै भएर देशले दुःख पायो । उहाँ त विचरा वडाध्यक्षमा उठ्नुपर्थ्यो ।
– उपप्रधानमन्त्री भएको मान्छे किन वडाध्यक्षमा उठ्ने ?
उहाँले घोषणापत्रसमेत सही ढंगले लेख्नुभएको छैन । वडाध्यक्ष र मेयरले गर्नुपर्ने काम मैले गर्ने भनेर श्रेय लिन मिल्छ ? बाटो पिच गरेको, धारामा पानी ल्याएको, सरसफाइ गरेको श्रेय त वडाध्यक्ष र मेयरलाई दिनुपर्छ । विकास-निर्माणको काममा वडासँग, महानगरसँग मिलेर समन्वय गरेर हामीले होस्टेमा हैंसेमात्रै गर्ने हो । संसदले स्थानीय तहका अधिकारीले गरेका राम्रा काममा होस्टेमा हैंसे गर्ने हो । स्कुल बनाउँछु, बाटो बनाउँछु, वृक्षारोपण गर्छु भनेर भोट माग्ने होइन ।
– तर, जनताले विकास-निर्माणको अपेक्षा त सांसदबाट गर्छन् नि ?
बानी बिगारेको छ नि त ! फटाहा कुरा गरेको छ, अनि अपेक्षा गर्दैनन् ? तपाईं स्ववासी (सुकुम्बासी) बस्तीमा जानुस् । पहिले-पहिले आएर लालपुर्जा दिन्छु भनेका छन् । तर, कसैले लालपुर्जा दियो ? नचाहिने कुरा गर्ने ?
उहाँले यो माध्यमिक तहसम्म स्तरीय शिक्षाका लागि महानगरसँग समन्वय गर्छु भनेर लेख्नुभएको छ, त्यो एकदम ठीक छ । त्यसपछि उच्च शिक्षाका लागि क्षेत्रभित्र पर्ने सार्वजनिक-निजी विद्यालयहरुमा छात्रवृत्तिको व्यवस्था गर्ने भन्नुभएको छ । उहाँले गर्ने हो छात्रवृत्तिको व्यवस्था ? सडक निर्माण गर्ने, सीसीक्यामरा जडान गर्ने आदि कुरासमेत गर्नुभएको छ । यस्तो मान्छेलाई प्रधानमन्त्री बनाउने कि वडाध्यक्ष बनाउने ?
– जनतालाई आश्वासन त तपाईंले पनि दिनुभएको होला ?
मैले महानगरसँग मिलेर, वडासँग मिलेर विकासको पहल गर्छु भनेको छु । जुन कुराको मलाई अधिकारै छैन, भोलि ती काम भए भने मैले जस लिने कुरा नै हुँदैन । स्थानीय तहसँग बजेट छ, संसदसँग छ ? कहाँबाट ल्याउने ? फट्याइ गरेर फेरि संसद विकास कोषको रकममा भ्रष्टाचार गर्ने ? म झूट बोलेर भोट माग्दिनँ ल ।
– यदि विकास भएन भने अपजस लिने कि नलिने ?
भएनन् भने त्यसको आंशिक जिम्मेवारी मैले लिनुपर्छ । तर, मैले सांसदका रुपमा संसदभित्र प्रभावकारी भूमिका खेल्न सक्छु । मेरो मुख्य भूमिका त्यो हो ।
– अघिल्लोपटक चुनाव लड्दा नयाँ अनुहार हुनुहुन्थ्यो । तपाईंको ठूलो ग्ल्यामर थियो । अहिले पुरानो हुनुभयो । अब चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्न सक्ने एजेन्डा चाहिएला नि ? त्यस्तो के छ तपाईंसँग ?
पहिले कुरा त, म पुरानो भएको होइन, परिपक्व भएको हो । आफ्नो आकर्षण घटेको कत्ति पनि महसुस गरेको छैन । सामाजिक सञ्जलमा स्वःस्फुर्त भावना कसरी प्रष्फुटित भइरहेका छन् भन्ने हेर्न सक्नुहुन्छ ।
मेरो पार्टी राप्रपाको घोषणापत्रमा पनि धेरै छन् जनतालाई छुने एजेन्डा । उच्च ओहोदामा बस्ने सबैको शक्तिशाली नागरिक आयोग बनाएर सम्पत्ति छानबिन गर्ने कुराले जनतालाई आकर्षण हुँदैन ? दुई कार्यकाल प्रधानमन्त्री वा पार्टीको नेतृत्व नहुने भन्ने एजेन्डा सही छैन ? अभिभावकीय राजसंस्था, प्रदेश खारेजी, हिन्दू राज्य आकर्षक एजेन्डा होइनन् ? गुणस्तरीय शिक्षा, स्वास्थ्य सम्पूर्ण नेपालीले पाउनुपर्छ भनेका छौं, यो जनमुखी एजेन्डा होइन ? योभन्दा आकर्षक के राख्ने ? हामी एकदमै प्रगतिशील हौं, हामी संघीयता, गणतन्त्र, धर्र्म निरपेक्षता, जसले यो देशलाई पोलिरेहेका छ, लाई संवर्द्धन र संरक्षण गर्छौं भन्ने त्यो आकर्षक हुन्न ?
– तपाईंले एमालेबाट समर्थनको आशा राख्नुभएको थियो । पहल पनि गर्नुभयो । तर, सफल हुनुभएन । कत्तिको निराश हुनुहुन्थ्यो ?
एमालेले गरिदिएको भए पक्कै सजिलो हुन्थ्यो । हामीलाई सबैको सहयोग चाहिन्छ । तर, के कारणले हो गर्नुभएन ।
– स्वतन्त्र उठेको भए सहयोग गर्थ्यो कि ?
स्वतन्त्र त उठ्दै उठ्दिन थिएँ । चुनाव जितिन्छ भनेर स्वतन्त्र उठ्ने ? किन उठ्ने ? यो देशको दीर्घकालीन रुपान्तरणका लागि त राजनीतिक दल नै चाहिन्छ नि ! स्वतन्त्रले देश बनाउन सक्ने भएको भए युरोप, अमेरिका जहाँ एकदम सचेत नागरिक छन्, त्यहाँ पनि स्वतन्त्रको लहर चल्थेन ? राजनीतिक दलै चाहिन्छ देशको रुपान्तरणका लागि । उनीहरु नै सुध्रिनुपर्छ । योपटक हलोमा मत दिने भनेको मलाई जिताउनमात्रै होइन, विकृत नेतृत्वको सफाइ गर्न हो । ताकि तलको नयाँ पंक्ति माथि आओस् । स्वतन्त्रलाई जिताएर केही हुँदैन । त्यो तदर्थवाद हो । व्यक्तिले समाज रुपान्तरण र देशको रुपान्तरण गर्न सक्दैन । पार्टीलाई नै दिनुपर्छ । पार्टीलाई दिँदा हलोभन्दा उत्तम विकल्प के छ ?
– एमालेले तपाईंलाई किन समर्थन गरेन होला ?
एक ठाउँमा ओलीले मलाई लक्षित गर्दै उहाँले अलि पछाडि फर्किने एजेन्डा बोक्नुभयो भन्नुभएछ । ओलीजीलाई भेट्नुभयो भने सोध्नेछु, त्यही एजेन्डा बोक्ने मेरो अध्यक्ष अग्रगामी हुने, म पश्चगामी हुने कसरी हुन्छ ? अहिले पनि अपेक्षा के हो भने जुन मैले जित्छु भन्ने वातावरण बनिराखेको छ, त्यसमा उहाँहरुले सघाइदिनुभयो भने पक्कै सहज हुन्छ ।
– अब त आफ्नै उम्मेदवार उठाएपछि कसरी सहयोग गर्ला र ?
त्यो उम्मेदवारी त पछि कुनै पनि बेला निष्क्रिय बनाउन सकिन्छ नि !
– राप्रपाले यस चुनावमा कति सीट जित्ने आशा राखेको छ ?
मैले संसदमा राप्रपाको सशक्त उपस्थिति हुन्छ भन्ने गरेको छु ।
– अध्यक्ष लिङ्देनले त पहिलो पार्टी नै हुन्छ भनेर भाषण गर्नुभएको थियो नि ?
त्यो म पनि दाबी गर्नसक्छु । किनभने कांग्रेस, एमाले र माओवादीले यो देशमा जुन अन्याय-अत्याचार गरेका छन्, त्यो असह्य भइसकेको छ । अब हलोमात्रै विकल्प हो । राजेन्द्रजी, एकजना लिम्बूको छोराले जुन एजेन्डा बोकेर आउनुभएको छ, यस्तो नेता पाउँदा म त देशभरका जनतालाई अब हाल्नुस् हलोमा भनेर आग्रह गर्छु ।
– यति संख्यामा जीत हासिल गर्छौं भन्ने कुनै आँकलन छैन ?
मतदाताको मन र मत परिवर्तन भयो भने साँच्चै नेतृत्वमा पुगिहाल्छौं । १४५ ठाउँमा उम्मेदवारी दिएका छौं । यदि मायाजालबाट मतदाता मुक्त भएनन् भने पनि योपटक धेरै सशक्त उपस्थिति रहन्छ ।
– राजनीतिमा आएदेखि पार्टीको पहिलो पोजिसनमा रहनुभयो । अहिले राप्रपामा सेकेन्डम्यान बन्नुभएको छ । पहिलोबाट दोस्रोमा झर्दा कत्तिको असहज महसुस भएको छ ?
केही पनि असहज छैन । मलाई देश बनाउनु छ । म जुन स्थानमा झरे पनि प्रभावकारी भूमिका खेल्ने स्पेस चाहिन्छ । होइन भने आफ्नो लक्ष्य, दृष्टिकोणलाई लागू गर्न सकिँदैन । पहिलेको पार्टीमा हुँदा पनि दुईजनालाई नेतृत्व गर्नुस् भनेकै हो । अहिले पनि राजेन्द्रजीको नेतृत्व स्वीकार्न कत्ति पनि अप्ठेरो भएन । म मज्जाले उहाँको सहयोगी भएर काम गरिहेको छु ।
– राजा फर्काउने कुरा गरिरहनुभएको छ । फेरि शाहवंशलाई नै गद्दीमा फर्काउने लक्ष्य हो कि अर्को विकल्प पनि सोच्न सोच्नुभएको छ ?
शाहवंशबाहेक अरु विकल्पमा त सोच्नै हुँदैन । लामो ऐतिहासिक विरासत बोकेको संस्थाले मात्रै मियोको काम गर्नसक्छ । त्यसैले त्यही वंशबाट हुनुपर्छ ।
– पूर्वराजा ज्ञानेन्द्र उमेरले पनि बुढो भइसक्नुभयो । उहाँलाई नै राजाको रुपमा फेरि देख्न चाहनुहुन्छ कि उहाँको पुस्तालाई ?
म राजा ज्ञानेन्द्रको दीर्घायुको कामना गर्छु । मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने २०७२ सालको संविधान निर्माण गर्दा राजा, सात दल र माओवादीको सम्झौता भएर संविधान जन्मिनुपर्थ्यो । तर, संविधान बनाउने वेलामा राजालाई निषेध गरेर दुई पक्ष मिलेर संविधान बनाए । त्यसैले आज समस्या आयो । (राजगद्दीको) वैधानिक अधिकार ज्ञानेन्द्रसँगै छ । उहाँ नै गद्दीमा फर्किएको हेर्न चाहन्छु ।
ज्ञानेन्द्रले यस्तो गर्यो, उस्तो गर्यो भन्ने छ । एबाबा अरुले चाहिँ सयौं गल्ती गर्न हुने, गल्तीलाई मल्टिप्लाइ गर्न हुने । गल्तीमाथि गल्ती थोपर्दै जान हुने । देशको दोहन गर्न हुने । ज्ञानेन्द्रले त २०७२ सालको संविधान सबैभन्दा शालिनतापूर्वक पालना गरेर बसेका छन् । यद्यपि उनले पनि गल्ती सुधारुन् भन्ने म चाहन्छु ।
- गल्ती भन्या के ?
२०६२/६३ सालको आन्दोलनका वेलामा राजाको तर्फबाट वेलाबखत जुन रवैया अपनाइयो, त्यसलाई सही भनेर त भन्दिनँ नि !
– माघ १९ को कदम अहिले पनि गलत नै भन्नुहुन्छ ?
त्यो त गल्ती नै हो । त्यसका अन्य उपायहरु थिए होला । यद्यपि राजाको पक्षबाट हेर्दा देश भड्खालोमा पर्न लागेकाले त्यो कदम चाल्नुपरेको तर्क आउला । तर, माघ १९ को कदमपछि लिएका अन्य कदमहरुले देशलाई संकटतर्फ धेकलेकै हो ।
– ज्ञानेन्द्रलाई राजा बनाइसकेपछि उनको उत्तराधिकारी पारसलाई मान्नुपर्ने हुन्छ । पारसको अवस्था हामीले देखिरहेकै छौं, कसरी आवारा शैलीमा हिँडिरहेका छन् । भोलि रोलक्रममा उनलाई पनि राजा मान्न सक्नुहुन्छ ?
आवारा शैलीमा भन्नुभयो । म आम जनतालाई पनि भन्न चाहन्छु । कतिपय स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिले पारस शाहको जस्तो व्यवहार गर्छन् । त्यस्तो समस्या तपाईं हाम्रो परिवारमा पनि आउन सक्छ । उडाउने-हाँस्ने, खिसिट्यूरी गर्ने कुरा होइन यो । डाक्टरको सहायता लिने विषय हो । गम्भीर स्वास्थ्य समस्याको व्यक्तिलाई राजा बनाउन मिल्दैन । सामान्य स्थिति भएको भए त आउने पारस शाहमै हो ।
– मानसिक समस्याको कुरा गर्नुभएको कि शारीरिक ?
त्यसको निर्क्योल डाक्टरले गर्ने हो । तर, पारस गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिएका व्यक्ति हुन् । उनले जसरी पिउँछन्, कतिपयको भनाइमा जे-जे खान्छन्, भोलि तपाईंको-मेरो परिवारमा पर्नसक्छ । हाँस्ने विषय होइन । यस्तो व्यक्तिलाई अन्य देशमा पनि राजा बनाइँदैन ।
– त्यसो भए ज्ञानेन्द्रपछि सीधै हृदयेन्द्र ?
त्यो पूर्णिका शाह पनि हुनसक्छ, हृदयेन्द्र पनि हुनसक्छन् । किनभने अब तपाईंले यो समयमा आएर लिंगभेद गर्न मिल्दैन । जेठो सन्तान पूर्णिका हुन् ।
– त्योभन्दा माथि हिमानीको चाहिँ पालो आउँदैन ?
त्यसलाई पनि म नकार्न सक्दिनँ । बुहारीको कुरा गर्नुभयो । यदि संसदले निर्णय गर्छ भने त्यो पनि मान्य हुनसक्छ । उत्तराधिकारीको निर्क्योल संसदले गर्नुपर्छ ।
– तपाईंलाई आफ्नो पार्टीभन्दा बाहिर मन पर्ने नेता कोही छ ?
म मनपर्ने नेतामा राजेन्द्र लिङदेनको नाम लिन सक्छु । पार्टीभन्दा बाहिर कसैको नाम लिन चाहन्न । आशालाग्दो केही युवा मन्त्री बन्न पुगे । तर, उनीहरुले पनि खासै प्रभावकारी नतिजा दिन सकेनन् । आशालाग्दो नेता भनेर कसैको नाम लिन सक्ने अवस्था छैन । तर, म राजेन्द्र लिङदेनको नाम चाहिँ बेहिच्किचाहट लिनसक्छु ।
नेपालका राजाहरूमध्ये तपाईं नजरमा सबैभन्दा अब्बल काे हाे ?
नेपालकाममा एकीकरण गरेकाे हिसाबले पृथ्वीनारायण शाहकाे ना रम त आइहाल्छ । तर राज्य सञ्चालनकाे काैशल, दूरदर्शिता, कार्यायान्वन क्षमता, राष्ट्रप्रेम लगायत सर्वाङ्गिण हिसाबले मूल्यांकन गर्दा राजा महेन्द्रकाे दाँजाेमा आउने कुनै राजनेता नेपालमा जन्मेकाे छ जस्ताे लाग्दैन ।