टेनिसकी अभिलाशा : ‘टिनएज’ मै रचिन् कीर्तिमान – Nepal Press
राष्ट्रिय खेलकुद

टेनिसकी अभिलाशा : ‘टिनएज’ मै रचिन् कीर्तिमान

पोखरा । राष्ट्रिय खेलकुद वा अरु यस्तै ठूला खेलमेलामा सबैभन्दा धेरै कीर्तिमान समय, दुरी र तौलसँग सम्बन्धित खेलमा बन्ने गर्छन् । त्यसैले यिनै खेलका खेलाडी चर्चामा छाउनु स्वभाविक हो ।

एथ्लेटिक्स, पौडी र भारोत्तोलन लगायतका यस्तै खेलमा धेरै प्रतियोगिता हुने भएकाले पनि खेलाडीहरुलाई कीर्तिमान बनाउने, तोड्ने र सुधार गर्ने अवसर हुन्छ । यी खेलको तुलनामा अन्य खेलमा कीर्तिमान बनाउन कठिन हुने गर्छ ।

पोखरामा सम्पन्न नवौं वृहत राष्ट्रिय खेलकुदमा टेनिसकी अभिलाषा विष्टले त्यस्तै कठिन सफलता हात पारेकी छन्, चार स्वर्ण जित्दै कीर्तिमान बनाएर । सात स्पर्धा समावेश रहेको टेनिसमा कुनै पनि खेलाडीले जित्न सक्ने सर्वाधिक स्वर्ण संख्या भनेको चार नै हो । अभिलाषाले अधिकतम चार स्वर्ण जितेर कीर्तिमान बनाइन् ।

नेपाली टेनिस इतिहासमा कुनै पनि खेलाडीले राष्ट्रिय प्रतियोगितामा यसअघि चार स्वर्ण पदक जितेका थिएनन् । यसअघि एउटै खेलाडीले तीन वटासम्म स्वर्ण पदक जितेको इतिहास छ । तर अभिलाषाले भाग लिएका सबै महिला एकल, महिला डबल्स, मिक्स डबल्स र टिम इभेन्ट्समा स्वर्ण पदक जितिन् ।

अभिलाषाले यो दिनको लागि निकै लामो प्रतिक्षा गरेकी थिइन् । मेहनत पनि उत्तिकै थियो । अहिलेसम्म तीन स्वर्णको कीर्तिमान तोडेर सबैभन्दा धेरै स्वर्ण पदक जित्ने खेलाडी बनेकोमा उनी खुशी नहुने कुरै भएन ।

‘धेरै राम्रो महसुस भयो । प्रदिप दाई (गण्डकीका प्रदीप खड्का)ले तीनवटा गोल्ड जितिसक्नु भएको थियो । तर मैले चारवटा जितेर कीर्तिमान बनाएँ । यो मेरो मिहिनितको फल हो । आफ्नो कडा मिहिनेतमा गर्व लागेको छ,’ उनले भनिन् ।

अभिलाषाले विराटनगरमा भएको सातौं संस्करणदेखि राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी थिइन् । त्रिभुवन आर्मी क्लबकी अभिलाषाले सातौंमा युगल र टिम इभेन्ट्समा रजत पदक जित्न सफल भइन् ।

त्यसपछि नपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उन्ले स्वर्ण पदकको स्वाद चाख्न पाइन् । त्यसबेला उनले टिम इभेन्ट्समा स्वर्ण जितेकी थिइन् । आठौंमै अभिलाशाले महिला एकल र युगलमा रजत पदक प्राप्त गरिन् ।

नवौं राष्ट्रिय खेलकुदसम्म आइपुग्दा अभिलाषाको टेनिस करियरले १२ वर्ष टेकेको छ । यत्तिका वर्षको निरन्तर मेहनतले आज उनलाई चार वटा कीर्तिमानी स्वर्ण दिलाएको छ ।

कुनै पनि खेलाडीलाई राम्रो नतिजा प्राप्त गर्न शारीरिक रुपमा मात्रै बलियो भएर हुँदैन, मानसिकरुपमा पनि बलियो हुनुपर्छ । उमेरको हिसाब गर्ने हो भने अभिलाषा भर्खर १९ वर्ष पुग्दै छिन् । यत्ति सानै उमेरमा हासिल गरेको उपलब्धिका लागि उनले शारीरिक रुपमा मात्रै हैन मानसिक रुपमा पनि राम्रो तयारी गरेकी थिइन् ।

‘शारिरिक ट्रेनिङ त छँदै छ । मानसिक रुपमा पनि मेरो तयारी राम्रो थियो,’ उनले सुनाइन् ।

टेनिसमा महिलातर्फ नेपालकी नम्बर एक खेलाडी अभिलाषाले सात वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी हुन् । उनका बुवा अजय विष्ट टेनिस संघका सदस्य तथा प्रतियोगिताका निर्देशक हुन् । बुवासँगै टेनिस कोर्ट धाउने अभिलाषाले १२ वर्षको उमेरदेखि व्यावसायिक रुपमा टेनिस खेल्न थालेकी थिइन् ।

१४ वर्षको उमेरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी अभिलाषाले उमेर समूहमा यू–१४ बाट सुरु गर्दै यू–१८ का प्रतियोगिताहरु खेलेकी छिन् । उनी १४ वर्षकी हुँदा एसियाको बरियतामा १३औं स्थानमा थिइन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा धेरै अनुभव बटुल्ने अवसर मिल्ने, आत्माविश्वास बढ्ने र अफ्ट्यारो अवस्थासँग कसरी सामना गर्ने भन्ने विषयको ज्ञान हुने अभिलाशाको बुझाइ छ ।

‘अन्तर्राष्ट्रिय टुर्नामेन्टहरुले धेरै अनुभव हुन्छ । आफु पोइन्टहरुमा डाउन छ र हारिरहेको छ भने त्यसलाई ट्याकल गर्ने आत्माविश्वास जाग्छ । मैले पहिला जितिसकेको हो । यो पालि पनि जित्छु भन्ने हुन्छ । अनि अनुभव धेरै भएपछि मोटिभेसन पनि धेरै हुन्छ,’ उनले भनिन् ।

अभिलाषाले एसियन प्रतियोगिताहरुमा दुईवटा कांस्य पदक जितेकी छिन् । र, अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताको युगलमा ९ स्वर्ण र पाँच रजत पदक जितेकी छिन् ।

महिला विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेक र अमेरिकन पाँचौं वरियताकी काको गाउफलाई आदर्श मान्ने अभिलाषाको अबको लक्ष्य भनेको धेरैभन्दा धेरै महिलाका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने र अन्तर्राष्ट्रिय वरियतालाई बढाउँदै लाने हो । दक्षिण एसियली खेल्कुद (साग) र एसियन गेम्समा मेडल जित्ने अनि विश्व टेनिसको र्‍याङकिङ ५०० बाट २०० मा झारेर ग्राण्ड स्लाम छनोट खेल्ने छ ।

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *