घाइते अवस्थामै दौडिएकी सन्तोषीलाई दुई स्वर्णको सन्तोष – Nepal Press

घाइते अवस्थामै दौडिएकी सन्तोषीलाई दुई स्वर्णको सन्तोष

पोखरा । नेपाली एथलेटिक्समा चर्चित नाम हो सन्तोषी श्रेष्ठ । गत फागुनमा सम्पन्न प्रधानसेनापति म्याराथनदेखि खुट्टामा चोट बोकेर हिँडेदेखि उनको खेल जीवन सन्तोषजनक हुन सकिरहेको थिएन ।

चोटकै कारण उनले धेरै खेलहरू गुमाइन् । गणेशमान सिंह म्याराथन पनि उनले बीचैमा छाड्नु परेको थियो । जारी नवौँ राष्ट्रिय खेलकुदमा पनि उनले दुई स्पर्धामा मात्रै भाग लिएकी थिइन् । दुवैमा उनले स्वर्ण जितिन् । यसले सन्तोषीलाई अलिकति सन्तोष मिलेको छ ।

प्रतियोगितामा सन्तोषीको पहिलो खेल १० हजार मिटरको दौड थियो । उक्त प्रतिस्पर्धामा नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै उनले वाग्मती प्रदेशका लागि स्वर्ण जितिन् । त्यत्ति बेलै उनले भनेकी थिइन्, ‘मैले यस पटक कीर्तिमानका लागि दौडिएकी थिइनँ । मेरो खुट्टाले जति बेला पनि धोका दिन सक्ने भएकाले रेस पुरा गर्नु मेरो लागि ठूलो कुरा भयो । अझ स्वर्ण जितेकोमा खुसी छु ।’

दश हजार मिटरमा स्वर्ण जितेपछि सन्तोषी तीन दिनसम्म हिँड्न सकिनन् । पैतालामा भएको घाउ पाकेर उनको पहिले देखिको समस्या जटिल बन्यो । टेक्ने पैतालामै घाउ भएपछि कसरी दौड पुरा गर्ने भन्ने चिन्ताले सतायो । तर, उनले हिम्मत हारिनन् । दुई दिन विश्राम गरेपछि घाइते खुट्टामै उनले ५ हजार मिटरमा प्रतिस्पर्धा गरिन् ।

अमेरिकन लामो दुरीका धावक स्वर्गीय स्टेभ प्रफोन्टाइनको एउटा कोट छ, ‘दि वेस्ट पेस इज सुसाइड पेस एन्ड टुडे लुक्स लाइक अ गुड डे टु डाई’ । अर्थात्, ‘सबैभन्दा राम्रो गति दौडमा आत्मघाती गति हो र आज मर्नका लागि राम्रो दिन जस्तो देखिन्छ ।’

बुधवार बिहान पोखरा रंगशालाको ट्रयाक टेक्नुअघि सन्तोषीलाई उनका गुरु रघुराज वन्तले यही उद्धरण सुनाएर आत्मविश्वास जगाइदिए । र, सन्तोषी त्यही कुरा सोचेर ‘सुसाइड पेश’ मा कुद्ने दृढताका साथ मैदानमा उत्रिएकी थिइन् ।

उनी कुदिन् पनि । तर पोखरा रंगशालाको ट्र्याकलाई तीन फन्को मार्दै गर्दा उनलाई खुट्टाले धोका दिन थाल्यो । पहिलाको घाउमा ब्यान्डेज लगाएर कुदिरहेकी सन्तोषीको कष्ट ट्र्याक बाहिरबाट पनि महसुस गर्न सकिन्थ्यो । त्यतिबेला उनको दिमागमा राष्ट्रिय कीर्तिमान बनाउने होइन, केवल दौड पूरा गर्ने ध्याउन्न थियो ।

दौडपछि उनले भनिन्, ‘सुरुमा म जसरी पनि कीर्तिमान तोड्छु भनेर उत्रिएकी थिएँ । तर तीन हजार मिटर कुदिसकेपछि मलाई खुट्टाले गर्दा गाह्रो हुन थाल्यो । अनि म दौडमा भन्दा बढी दुखाइमा केन्द्रित भएँ । कीर्तिमान हैन, स्वर्ण जित्ने मात्रै सोचेँ ।’

आफ्नो चोटमाथि विजय हासिल गर्दै सन्तोषी पुलिस क्लबकी उनै राजपुरा पछाइलाई उछिन्दै पहिलो भइन् । उनले निर्धारित दुरी (१७ मिनेट ५.२९) सेकेन्डमा दौड पूरा गरेकी थिइन् । रजत जितेकी राजपुराले निर्धारित दुरी (१७ मिनेट १२.५) सेकेन्डमा पुरा गरिन् ।

कान्छीमाया कोजुले सन् २०१० मा चीनको गोन्जावमा बनाएको १६ मिनेट ४९.९८ सेकेन्डको कीर्तिमान तोड्ने सन्तोषीको लक्ष्य थियो । तर दुर्भाग्यवश त्यो उनको सपना भने पुरा हुन सकेन । दौड सकिने बित्तिकै उनी गुरुसँग फोनमा भन्दै थिइन्, ‘खुट्टा बाउँडिन थाल्यो, त्यसैले स्लो डाउन गर्नुपर्‍यो नि… नत्र पक्कै रेकर्ड बन्थ्यो ।’

आफूले खेलेका हरेक खेलमा स्वर्ण जित्ने बानी नै परेको छ सन्तोषीलाई । रेकर्ड बनाउने सपना आज पुरा भएन, तर उनको अठोट यथावत् छ ।

अहिले जति दुख भए पनि सन्तोषी सधैँ एउटा कुरा सोच्ने गर्छिन् रे, ‘यो समय पनि बितेर जानेछ ।’ त्यही भएर हरेक कुराका लागि निरन्तर मिहिनेत गर्ने र आएका अवसरहरूलाई खेर नफाल्ने उनको प्रयास हुन्छ ।

खेलमा पराजय भोग्नु पर्दा पनि अरूको नराम्रो कहिले पनि सोच्दिनन् सन्तोषी । उनलाई आफ्ना सबल र दुर्बल पक्षको राम्रो ज्ञान छ । पहिला दौड भनेको कुद्ने मात्रै हो भन्ने उनलाई लाग्थ्यो । तर, अहिले दौड भनेको एकाग्रता, दृढ संकल्प र अनुशासनको खेल हो भन्ने बुझेकी छन् । यसमा के कस्ता ‘ट्याक्टिस’ लगाउनुपर्छ भन्ने दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेतालाई थाहा नहुनै कुरै भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *