कमल थापाको हातमा सूर्य अंकित ‘ह्याण्ड कार्ड’ – Nepal Press

कमल थापाको हातमा सूर्य अंकित ‘ह्याण्ड कार्ड’

हेटौंडा । नेपालमा बहुदल स्थापनापछिको हरेक निर्वाचनको समयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको मुख्य अजेण्डा मकवानपुरबाट एमाले पराजित गर्नु हुन्थ्यो । पञ्चयातकालमा नै मन्त्री बनिसकेका थापा बहुदल स्थापनापछि २०४७ सालमा स्थापना भएको ‘पञ्च’हरुको पार्टी राप्रपाका संस्थापक नेतासमेत हुन् ।

राप्रपाबाट बहुदलपछिको एक मात्र निर्वाचनमा विजेता बनेका उनै थापा अहिले मकवानपुर-१ मा चुनावी प्रचारप्रासरमा व्यस्त बनेका छन् । रोचक कुरा त के छ भने कुनै समय एमालेका खुङ्खार विरोधी उनै थापा अहिले एमाले कार्यकर्तासहित सूर्य चिन्ह बोकेर मैदानमा ओर्लिएका छन् ।

थापा मर्निङ वाकदेखि इभिनिङ वाकसम्मको समयमा पनि मतदाता भेटदै हिँड्ने गरेका छन् । थापाको खल्तीभरि आजकल सूर्य अंकित ‘ह्याण्ड कार्ड’ हुन्छ र यो पटक कुनैपनि हालतमा एमालेलाई विजयी बनाउनुपर्ने सन्देशसहित उनी ति कार्डहरु मतदातालाई बाँडिरहेका छन् ।

केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेर राष्ट्रियताको सबालमा सबल काम गरेको स्मरण गर्दै थापाले मतदातालाई एमाले बाहेक अन्य शक्तिले निर्वाचन जितेको अवस्थामा देश दुर्घटनामा पर्ने बताउने गरेका छन् । थापाले यो पटक एमालेको साथमा निर्वाचन जितेर आफूले मकवानपुरको लागि गर्न बाँकी केही महत्वपूर्ण कामहरु गर्ने बताउछन् ।

मकवानपुर-१ का जनतालाई थापाले हेटौँडालाई राजधानी तोकेर यहाँको महत्वपूर्ण विकासमा भूमिका खेलेको, हेटौँडा अस्पतालको स्तरोन्नति गर्दै क्षेत्रीय अस्पतालमा रुपान्तरण गरेको, हेटौँडामा चक्रपथको सुरुवात गरेको, जिल्लाभर विद्युतीकरणमा योगदान गरेको लगायतको विषयमा प्रष्ट गराउँदै भोट माग्दै थापाले भोट मागेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्जसमेत रहेका रामेश्वर रानाको टिकटलाई रिप्लेस गर्दै मैदानमा उत्रिएका थापाको ‘इन्ट्र’ पछि रिसाएका कार्यकर्तालाई उनै रानाले २९ असोजमा हेटौँडामा भएको क्षेत्रीय कार्यकर्ता भेलामा थापालाई कुनै हालतमा जिताएर देखाउने दायित्व एमालेको रहेको र जिताउन लाग्न निर्देशन दिएपछि थापालाई राहत मिलेको छ । हेटौँडा वडा नंबर ५ का उदय चौँलागाईले भने ‘मैले अहिलेसम्म भोट हाल्ने मौका पाएको थिइनँ, यस अघिको निर्वाचनमा म बाहिर थिए, यो पटक विदामा आएको छु, संयोगले विदा लामो रहेको र मंसिर ४ पछि मात्र जाने भएकोले यो पटक कस्लाई भोट हाल्ने भन्नेमा सोच्दै छु । तर थापाले मत मागेर गरेको कुरापछि मैले यो पटक राष्ट्रिय स्तरमा पहिचान बनाएको नेतालाई भोट दिने सोच निर्माण गरेको छु ।’

चुनावमा पटक-पटक पराजित बनेपनि थापा राष्ट्रिय राजनीतिमा पहुँच राख्ने नेता भएको कारण एमालेबाट उनले मत पाउने एमाले नेताहरु बताउँछन् । एमाले मकवानपुरका जिल्ला सदस्य दलबहादुर वाईवा भन्छन्, ‘उहाँ यस अघि हाम्रो विरोधी हुनहुन्थ्यो, उहाँको विरोधमा हामीले कयौँ पटक मत मागेका छौँ, तर राष्ट्रिय आवश्यकताले पार्टीले यो पार्टीले उम्मेदवार बनाएपछि हाम्रो दायित्व सूर्य चिन्हका थापालाई विजयी गराउने नै हुनेछ । ’

२०७० सालमा भएको दोश्रो संविधानसभामा समानुपातिक सांसद भएका थापाले त्यसयता भएका तीनवटा सरकारमा मन्त्री बन्ने अवसर पाए । तर हेटौँडामा भएको अधिकांश कार्यक्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा निर्माण भएको सरकारमा रहेर गरेको काम आफूलाई जीवनकै गर्व लाग्ने कामको रुपमा व्याख्या गर्ने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *