दाइको पदचाप पछ्याउँदै शिवराज – Nepal Press

दाइको पदचाप पछ्याउँदै शिवराज

पोखरा । शनिवार पोखरा रंगशालामा पुरुष सय मिटर दौडमा कीर्तिमान बनाउँदै स्वर्ण जितेका एपीएफ क्लबका शिवराज पार्कीले निर्धारित दूरी पार गरिसकेपछि भावुक हुँदै सुरुमै आफ्ना दाजु गोपी चन्द्र पार्कीलाई अंकमाल गरेका थिए ।

गोपिचन्द्र एथलेटिक्समा चर्चित नाम हो । सन् २०१९को दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता हुन गोपी । उनकै पदचाप पछ्याउँदै उनका भाई शिव पनि नयाँ नयाँ कीर्तिमान बनाउने दौडमा छन् ।

सन् १९९९ सेप्टेम्बर २६मा रामकृष्ण चौधरीले बनाएको १०.७१ सेकेन्डको कीर्तिमान भंग गर्दै १०.५६ सेकेन्डमा निर्धारित दुरीपुरा गरेका शिवले शनिवार बिहान नवौँ राष्ट्रिय खेलकुदमा नयाँ कीर्तिमान बनाए ।

उनी दुई सेकेन्डले मात्रै आर्मीका युवराज विक भन्दा अघि रहे । युवराज १०.५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कांस्य विजेता बने ।

करिब २३ वर्ष पछि पोखरा रंगशालाको ट्र्याकमा पुरानो कीर्तिमानलाई तोड्दै शिवले शनिवार बिहान बनाएको नयाँ राष्ट्रिय कीर्तिमान विभिन्न अर्थमा सम्झन लायक बन्यो । शिव सबैभन्दा बढी उमेरमा सय मिटरमा स्वर्ण जित्ने खेलाडी पनि बने ।

लामो दुरीमा मात्रै दौडिने गरेका ३० वर्षीय शिव यस स्पर्धामा प्रतिस्पर्धा गर्न चार महिनाको मात्रै तयारीमा आएका थिए । पहिलो पटक मात्रै छोटो दुरीमा दौडिए पनि उनको आत्मबल भने धेरै पहिला देखि दौडिरहेकाको भन्दा बढी देखिन्थ्यो ।‘मैले जसरी पनि च्याम्पियन बन्छु भनेर सोचेको थिए,’ शिवले स्वर्ण जितेपछिको कुराकानीमा भने ।

सामान्यतया ३० वर्ष भन्दा मुनिका युवा खेलाडीहरुले मात्रै सहभागिता जनाउने गरेको यस विधामा शिव विपरीत साबित भए । उनले आफू उमेरमा बढी भए पनि गर्न सकिन्छ भनेर देखाउनै लागि पनि कडा मिहेनत गरेका थिए । मेहनतमात्रै हैन उनको दिनरातको लगनशीलता र त्याग पनि यो स्वर्णका साक्षी रहेका छन् ।

धनगढी, कैलाली उपमहानगर पालिका ९ गौरीपुर घर भएका शिव आज जुन सफलताको स्वाद चाखी रहेका छन् त्यहाँ सम्मको बाटो उनलाई उनका दाजु गोपीले देखाएका थिए । दाजु प्रति उनको ठूलो आधार सम्मान छ । आफ्नो सफलताको श्रेय उनी गोपीलाई नै दिन्छन् ।
‘मैले खेल सक्किने बित्तिकै दाइलाई अंकमाल गरेको भनेको दाइले विश्वास गरेर मलाई यहाँसम्म ल्याएको त्यसको सम्मान गरेको । दाइ नभएको भए म यहाँ हुँदिन थिए । सबै श्रेय दाइलाई जान्छ, उनले खुसी हुँदै सुनाए।

दाइले देखाएको बाटोमा हिँडेर यहाँसम्म पुग्दा शिवको सफलतामा सहयोगी बनेको अर्को पात्र नेपाल एपीएफ क्लब हो । एपीएफकै सहयोगमा आज यो सफलता सम्भव भएको उनी बताउँछन् ।

‘एपीएफकै सहयोगमा यो स्वर्ण जित्न सम्भव भयो । एपीएफले विश्वास गरेर मलाई ट्रेनिङ गरायो मैले विश्वास तोडिन,’ उनले भने ।

भाइले कीर्तिमानसहित स्वर्ण जित्दा गोपी पनि उत्तिकै खुसी छन् । रंगशालाकै ट्र्याकमा गोपीले आफूले भाइको प्रतिभा पहिचान गरेर दिएको अवसरलाई उसले प्रमाणित गरेको बताउँछन् ।

गोपी वि सं २०७०मा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद देखि स्वर्ण जित्न थालेका थिए । उनले पहिलो पटक १० हजार मिटरमा स्वर्ण जितेका थिए ।


यो भन्दा १० वर्ष पहिला सँगै ट्रेनिङ गर्दा दौडमा आफूलाई उछिनेको देखेर गोपीले भाइको प्रतिभाको पहिचान गरेका थिए । आफूले भाइको प्रतिभा पहिचान गरे पनि भाइलाई भने त्यो महसुस भएको थिएन । तर, त्यत्तिबेला गोपीले उनका प्रशिक्षक सुशील नरसिंह राणालाई भनेका थिए रे,‘भाइ छ त्यसमा सम्भावना छ, राम्रो कुद्छ तपाइले मौका दिनु भयो भने राम्रो गर्छ,’ त्यति बेला प्रशिक्ष सुशीलले दिएको मौकालाई आज शिवले सफलतामा प्रमाणित गरेको गोपी बताउँछन् ।

भाइले सय मिटरमा राम्रो दौडिएको र अझ २ सय मिटरमा झनै राम्रो गर्छ भन्ने विश्वास गोपीलाई छ । शिवले सातौँ राष्ट्रिय खेलकुदमा लामो दुरीमा कांस्य जित्दै आफ्नो खेल करियरको सुरुआत गरेका थिए ।

त्यसपछि वि सं २०७५ मा नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा ४ सय मिटरको दौडमा एक सेकेन्डले मात्रै पछि पर्दै रजत मा चित्त बुझाए । आठौँ मै उनले खेल जीवनको पहिलो स्वर्णको स्वाद चाख्न पाए । उनले, ४ गुणा चार सय मिटरमा पहिलो स्वर्ण जिते ।

नवौँ राष्ट्रिय खेलकुदमा उनले पहिलो दिन नै सय मिटरमा स्वर्ण जित्दै राम्रो सुरुआत गरेका छन् । अब शिवले २ सय, सय गुणा ४ रिले र ४ गुणा चार सय रिलेमा प्रतिस्पर्धा गर्नेछन् ।

शिवका दाजु गोपीले पाँच हजार मिटर र १० हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिला देखिनै स्प्रिन्ट मन पराउने शिवलाई लामो दुरी दाइले कुदेकै देखेर गाह्रो छ जस्तो लाग्थ्यो । उनलाई स्प्रिन्ट भनेको हेर्न लायक खेल भएका कारण आफूले स्प्रिन्ट रोजे शिव बताउँछन् । अबको शिवको लक्ष्य भनेको एसियन गेम्समा पुनः राष्ट्रिय कीर्तिमान तोड्ने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *