मिडफिल्डमा चम्किएकी प्रीति – Nepal Press

मिडफिल्डमा चम्किएकी प्रीति

काठमाडौं । फुटबल खेल्ने हरेक खेलाडीले स्ट्राइकर भएरै करियरको सुरुवात गरेका हुन्छन् । कममात्र खेलाडी हुन्छन्, जसले सुरुदेखि एकै पोजिसनमा खेलेका हुन्छन् । कत्तिपयले सुरुदेखि खेलेको पोजिसन परिवर्तन गर्दा खेल्न सहज महसुस गर्दैनन् । स्ट्राइकर हुन पाए गोल गरिन्थ्यो र नाम आउँथ्यो भन्ने सबैलाई लाग्छ ।

तर, प्रीति राई त्यसको ठीक विपरीत छिन् । उनलाई गोल हान्ने, बल बचाउने, असिस्ट गरेर स्ट्राइकरसम्म पुर्‍याउने सबै गर्न मन लाग्छ । उनी भन्छिन्, ‘मलाई कुद्न मनपर्छ, गोल गर्न पनि मनपर्छ, असिस्ट पनि गर्न मनलाग्छ, डिफेन्ड पनि गर्न मनलाग्छ । त्यसैले यो सबै कुरा मैले मिडफिल्डर भएरमात्रै गर्न सक्छु जस्तो लाग्छ ।’

त्यसैले उनलाई स्ट्राइकर बन्न त्यति मन लागेन । नभन्दै उनले मिडफिल्डरमा आफूलाई स्थापित गरिसकेकी छन् । उनलाई ‘मिडफिल्ड मेस्ट्रो’ अर्थात मिडफिल्डकी जादुगरभन्दा फरक पर्दैन । मिडफिल्डर भएर नै आफ्नो खेल पूरा भएको महसुर गर्छिन प्रीति ।

अझ असोज पहिलो साता काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा प्रीतिले आफू कस्तो खेलाडी हो भनेर सबैसामु प्रमाणित गरेकी छन् । पहिलो खेलको दोस्रो हाफमा मात्रै मैदान प्रवेश गर्न पाएकी प्रीतिले त्यसपछिका तीन खेलमा सुरुवाती ११ मै स्थान बनाएकी थिइन् ।

प्रीतिको असिस्टमा रश्मिकुमारी घिसिङले गोल गर्दै साफको सेमिफाइनलमा भारतविरुद्ध ऐतिहासिक जीत निकाल्दा नेपालले फाइनल यात्रा तय गरेको थियो । भारतलाई पाखा लगाए पनि बंगलादेशलाई फाइनलमा हराउन नसक्दा नेपाल पाँचौं पटक उपविजेतामै सीमित भयो ।

पहिलो पटक सिनियर टीमबाट साफ च्याम्पियनसिप खेलेकी प्रीतिलाई यस पटक जसरी पनि च्याम्पियन भइन्छ भन्नेलागेको थियो । तर। पुनः उपविजेता हुनुपर्दाको क्षण निकै दुःखद भएको उनी बताउँछिन् ।

नेपाली महिला फुटबल टीमका मुख्य प्रशिक्षक कुमार थापाले टीमका खेलाडीलाई सुरुमै भनेका थिए रे, ‘मलाई साफ च्याम्पियनसिप जित्ने खेलाडी चाहिएको छ ।’ कुमार थापाको जित्ने खेलाडीको लिस्टमा प्रीति पनि अटाएकी थिइन् । प्रीतिलाई जोस आएको थियो, केही गरेर देखाउँछु, आफूलाई प्रमाणित गर्छु र च्याम्पियन बन्छु भनेर । तर, त्यो सपना पूरा हुन नसक्दा आफू धेरै दुःखी भएको प्रीति बताउँछिन् ।

‘लक्ष्य च्याम्पियन बन्ने थियो । तर, पूरा हुन सकेन । यत्ति धेरै नराम्रो लागेको छ कि म बयान गर्न सक्दिनँ । पछि के हुन्छ थाहा छैन यो साफ हाम्रो लागि अवसर थियो । प्रशिक्षणको सुरुदेखि प्रशिक्षकले मलाई साफ जित्ने खेलाडी चाहिएको छ भन्नुभएको थियो’, उनले भनिन्, ‘मलाई एउटा साफ जिताउने खेलाडी सोचेर सरले टीममा राख्नुभयो । म प्रमाणित गरेर देखाउँछु भनेर सोचेकी थिएँ । त्यही भएर हार्दा धेरै दुःख लाग्यो ।’

यसपटक नेपाली टीममा पुराना र नयाँ खेलाडीको गजबको कम्बिनेसन थियो । साफको बन्द प्रशिक्षण सुरु हुनुभन्दा अघि एसिया कपका लागि बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली महिला टीमले ४० दिन प्रशिक्षण गरिसकेको थियो । कुमार थापाले प्रशिक्षण सम्हालेपछि सात हप्ता थप ट्रेनिङ भयो । त्यसबाट पनि टीमको तयारी राम्रो भएको अनुमान लगाउन सकिन्छ ।

कप्तान रेनुका नगरकोटे र डिफेन्डर पूजा राना घाइते भएर साफ गुमाए पनि नयाँ खेलाडीले उनीहरुको कमी टीममा महसुस हुन दिएनन् । घरेलु मैदान र कीर्तिमानी १७ हजार बढी दर्शकको उपस्थितिमा बंगलादेशसँग नेपालले फाइनलमा व्यहोरेको त्यो हार साँच्चै नै हरेक नेपाली समर्थक र खेलाडीका लागि दुःखद बन्यो । त्यही हारको पीडाबाट अझै बाहिर निस्कन सकेकी छैनन् प्रीति ।

गत वर्ष दशरथ रंगाशालामै आयोजना भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टीममा प्रीतिले डेब्यु गरेकी थिइन् । उनले डेब्यु खेलमै सुरुवाती ११ मा स्थान बनाएकी थिइन् । अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले उनलाई दिएको मौकाको सदुपयोग गर्दै प्रीतिले डेब्यु खेलमै गोल गरेर सबैसामु आफ्नो राम्रो पहिचान बनाएकी थिइन् । त्यसपछि अहिलेसम्म उनले राष्ट्रिय टीमबाट आठ खेल खेलिन् । आठ खेलमा उनले गरेको एक गोल र एक असिस्ट छ ।

१७ वर्षीया प्रीतिले सानै उमेरदेखि फुटबल खेल्न थालेकी हुन् । अतिरिक्त क्रियाकलापमा संलग्न हुनुपर्छ भनेर उनलाई बुवाआमाले सधैं उत्प्रेरित गर्छन् । घरको साथ पाएकी प्रीतिले सुरुवाती दिनमा आफ्नै भाइहरुसँग रमाइलोका लागि मात्रै फुटबल खेलेकी थिइन् । सोलुखुम्बु उनको पुर्ख्यौली घर भए पनि प्रीति काठमाडौंमै जन्मिए र यतै हुर्किएकी हुन् । उनका बुबा ट्रेकिङ गर्छन् भने आमा होटल चलाउँछिन् ।

प्रीतिलाई राष्ट्रिय फुटसल खेलाडी उर्गेन शेर्पाले नेपाल युथ प्रोगाम (एनआईपी) क्लबसम्मको बाटो देखाएका थिए । जहाँ उनले राम्रोसँग फुटबल सिक्ने मौका पाइन् । एनआईपीबाट फुटबल यात्रा सुरु गरेकी प्रीतिले कोकाकोला कप र उमेर समूहको प्रतियोगिता खेल्दै राष्ट्रिय टीममा स्थान बनाएकी हुन् ।

प्रीतिले उमेर समूहमा यू-१५, १६ र १८ को कप्तानी पनि गरिसकेकी छन् । उमेर समूहमै यू-१९ को प्रतियोगिता पनि खेलेकी छन् । परिवारका तीन सन्तानमध्ये जेठी छोरी हुन् प्रीति । उनका दुई भाइ छन् ।

फुटबल खेल्नुअघि फुटसल खेल्ने गर्थिन् प्रीति । त्यो पनि केटाहरुको टीममा मिसिएर र उनी एक्ली केटी हुन्थिन टीममा । उनलाई पैसा दिएर फुटसल खेल्न बोलान्थ्यो । दुईवर्षदेखि उनी नेपाल एपीएफ क्लबमा आवद्ध छिन् । प्रीति एपीएफमा सबैभन्दा कम उमेरकी खेलाडी पनि हुन् ।

फुटवर्कमा अब्बल प्रीतिको दायाँ र बायाँ दुइटै खुट्टाबाट बल चलाउन सक्ने ‘स्क्लि’ छ । तर, उनलाई शारीरिक बनावटले भने साथ दिएको छैन । ४ फिट १० इन्च उचाइ भएकी उनलाई फरक भने लाग्दैन । अरु शारीरिक रुपमा बलियो भए पनि बुद्धि लगाएर खेल्यो भने जस्तोसुकै समस्यालाई पनि ट्याकल गर्न सक्ने प्रीति बताउँछिन् ।

‘मेरो बलियो पक्ष भनेको फुटवर्क नै हो । म कोहीदेखि डराउँदिनँ । उचाइमा होची छु भनेर अप्ठ्यारो मान्दिनँ । मभन्दा शारीरिक रुपमा जति बलियो भए पनि बुद्धि लगायो भने भेट्छु जस्तो लाग्छ । त्यहीअनुसार समस्यालाई ट्याकल गर्छु’, उनले भनिन् ।

प्रीतिको मनपर्ने खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेसी हुन् । नेपालमा उनलाई खुबै मनपर्ने कोही छैन । सबै उस्तै लाग्छन् । मेसी मन पर्नुको कारणबारे उनी भन्छिन्, ‘अरु स्टार खेलाडीहरु नेइमार, क्रिस्टियानो रोनाल्डोको जसरी मेसीको खेल कपी गर्न सकिँदैन । सबै खेलाडीभन्दा मेसी बेग्लै लाग्छ ।’

प्रीति महिला फुटबलले पाएको फरक प्रतिभा हो । फुटबलमा करियर नदेखेर बाहिर जानेलाई गर्न सक्यो भने नेपालमै पनि राम्रो छ भन्ने उनको बुझाइ छ ।

‘अब फुटबलमा गर्नेले नेपालमै खेलेर पनि राम्रो गरिरहेका छन् । किरण चेम्जोङ र रोहित चन्द नेपालका खेलाडी भएर पनि बाहिर खेलेर रामै्र गरिरहनुभएको छ’, उनले भनिन्, ‘एउटा कुरा खेलिसकेपछि के गर्ने भन्ने विकल्प छैन । खेलाडीहरुले पढाइलाई अगाडि बढाएको राम्रो हुन्छ । जसले रिटायरपछिको जीवन सहज हुन्छ ।’

अहिले कक्षा १२ सकेकी प्रीति रिटायर भएर बसेका तर समयमा राम्ररी नपढेका खेलाडीहरु पछुताएको देखेर आफूले बाँकी पढाइलाई खेलसँगै निरन्तरता दिने सोचेकी छन् ।

‘म पढ्न छोड्दिनँ । रिटायर खेलाडीहरुले नपढेर खेलपछिको जीवन राम्रो नभएको बताउँछन् । उनीहरु पछुताएको देखेको छु । खेलिसकेपछि पढाइ चाहिन्छ’, उनले थपिन् ।

आफ्नो खेल जीवनलाई रफ्तारमा अघि बढाइरहेकी प्रीति कहिले पनि प्लेइङ सेटमा खेल्न पाउँछु पाउँदिन भनेर सोच्दिनन् । खेल्न पाए आफ्नो शत प्रतिशत दिन्छिन् जुन मैदानमा पनि देखिन्छ । उनको एउटै लक्ष्य छ साफको स्वर्ण जित्ने ।

उनले जीवनमा यहाँ पुग्छु, त्यहाँ पुग्छु, यस्तो गर्छु र त्यस्तो गर्छु भनेर कल्पना गरेकी छैनन् । आफ्ना सपनालाई मेहनत गर्दै पूरा गर्ने उनको उद्देश्य छ, आफूलाई दिन प्रतिदिन सुधार्दै लैजाने र अब्बल बन्ने । खेल जीवनमा कहिलेकाहीं आउने उतारचढावलाई एकातिर राखेर जहाँसम्म पुगे पनि मेहनत गर्न नछोड्ने प्रीतिको अठोट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *