बारामा सत्ता गठबन्धनले प्रहरी लगाएर निरुको बागी उम्मेदवारी फिर्ता गराउन खोजेको आरोप – Nepal Press

बारामा सत्ता गठबन्धनले प्रहरी लगाएर निरुको बागी उम्मेदवारी फिर्ता गराउन खोजेको आरोप

जनकपुरधाम । सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी बाराकी कांग्रेस नेतृ निरु रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरीमार्फत बल प्रयोग गरिएको छ । बारा क्षेत्र नं. ४(क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी कांग्रेस नेतृ रायमाझीलाई उम्मेदवारी फिर्ता लिन दवाव दिदै आएको सत्ता गठबन्धन दलले अन्तिम समयममा प्रहरी परिचालन गरेको आरोप छ ।

सत्ता गठबन्धनको सहमति विपरित प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी रायमाझीले मनोनयन फिर्ता नलिएपछि अन्तिम समयमा प्रहरी परिचालन गरे पनि उनको उम्मेदवारी भने कायमै रहेको छ ।

सिमरास्थित होटल इच्छामा बसिरहेकी रायमाझीलाई जीतपुरसिमरास्थित निर्वाचन अधिकृतको कार्यालयमा बोलाएको भन्दै इलाका प्रहरी कार्यालय सिमराका डिउसपी युवराज तिमल्सिना लिन पुगेका थिए ।

आफू कतै नजाने भनेर बसेकी रायमाझीलाई तिमिल्सनाको नेतृत्वमा पुगेको प्रहरी टोलीले रायमाझीलाई निर्वाचन कार्यालय हिड्न दवाव दिएका थिए । उनले निरु अपहरणमा परेको सूचना आएकाले लिन आएको र निर्वाचन कार्यालयमा हाजिर गराउन निर्देशन भएको जानकारी दिएका थिए ।

तर रायमाझीले आफू अपहरणमा नपरेको र आफ्नो शुभेच्छुकमाझ रहेकोले निर्वाचन अधिकृतको कार्यालय नजाने अडान लिएपछि केहीबेर भनाभन भएको थियो ।

रायमाझीलाई प्रहरीले लगेर सत्ता गठबन्धनको कागजमा झुक्याएर हस्ताक्षर गरेको भन्दै उनका समर्थक जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निर्वाचन कार्यालयबाट रायमाझीलाई समर्थकले फर्काएर लैजान खोज्दा प्रहरीले रोकेका थिए । समर्थकलाई रोकेपछि अन्तिम समयमा रायमाझीका छोराले उनलाई फर्काएर सिमरा लगेका थिए ।

उम्मेदवारी फिर्ता गराउन झुक्याएर हस्ताक्षर गराएपनि मनोनयन दर्ता गर्दा निर्वाचन कार्यालयले दिने निस्सा फिर्ता नगरेका कारण रायमाझीको उम्मदवारी कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर