खुटिया-दिपायल फास्टट्र्याक, काममा गति दिन छैन बजेट – Nepal Press

खुटिया-दिपायल फास्टट्र्याक, काममा गति दिन छैन बजेट

डोटी । बजेट अभावका कारण धनगढी-बीपीनगर-दिपायल-चैनपुर-उरैझञ्ज्याङ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सुस्ताएको छ । चालू आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको बजेटले निर्माण व्यवसायीहरुको बाँकी रकम पनि तिर्न नपुगेपछि सडक निर्माणले गति नपाएको हो ।

‘चालू आर्थिक वर्षका लागि २५ करोड रकम विनियोजन भएको थियो’, धनगढी-बीपीनगर-दिपायल-चैनपुर-उरैझञ्ज्याङ द्रुतमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले भने, ‘सो रकमले निर्माण व्यवसायीको उधारो तिर्न पनि पुगेन ।’

हालको धनगढी-दिपायल सडक लामो (१८५ किलोमिटर) भएकाले द्रुतमार्गको खोजी गर्ने क्रममा २०६४ सालमा सडक विभागले कैलालीको खुटियादेखि डोटीको दिपायलसम्म ८२ किलोमिटर दूरीको द्रुतमार्ग सर्वे गरेको थियो । २०६५/०६६ सालदेखि निर्माण प्रारम्भ भएको सडकको अहिलेसम्म ट्र्याकसमेत खुलेको छैन । सुरुमा खुटिया-बीपीनगर-दिपायल द्रुतमार्ग भनिएकोमा हाल यस सडकको नाम ‘धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैझञ्ज्याङ’ बनाइएको छ ।

२५ करोड भुक्तानी गर्दा पनि निर्माण व्यवसायीहरुको अझै करिब तीन करोड रुपैयाँ बक्यौता रहेको सूचना अधिकारी रैखोला बताउँछन् ।

‘निर्माण व्यवसायीहरुले तीन करोड बराबरको बिलै पेश गरिसक्नुभएको छ’, उनले भने, ‘थप कामको मूल्याङ्कन हुन बाँकी छ । निर्माण ठप्पै भएको त होइन, तर निर्माण व्यवसायीहरुले मन लगाएर काम नगर्दा सुस्ताएको छ ।’

द्रुतमार्गका लागि थप बजेट मागेको भए पनि चालू आर्थिक वर्षमा निकासा हुने सम्भावना नदेखिएको कार्यालयले जनाएको छ ।
सो द्रुतमार्गअन्तर्गत कैलालीको धनगढीदेखि दिपायल हुँदै बझाङ थलारा गाउँपालिकाको गिर्भासम्म १८६ किलोमिटर सडक निर्माण आयोजना कार्यालयले हेर्छ ।

‘हामीले गिर्भासम्म निर्माणको जिम्मा पाएका छौं, त्योभन्दा उताको भाग सेती लोकमार्गले निर्माण गर्नेछ’, रैखोला भन्छन्, ‘बजेट अभावका कारण द्रुतमार्ग निर्माण हुन धेरै समय लाग्ने देखिन्छ ।’

द्रुतमार्गको दिपायलसम्म राम्रोसँग ट्र्याक नखुलेको आयोजना कार्यालयले जनाएको छ । सूचना अधिकारी रैखोला भन्छन्, ‘सुरुमा एक पटक ट्र्याक जोडिएको हो, तर पछि ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भयो ।’

द्रुतमार्गको कैलाली क्षेत्रमा १३.४ किलोमिटर र डोटी क्षेत्रमा ९.४ किलोमिटर गरी हालसम्म करिब २३ किलोमिटरमात्रै सडक कालोपत्रे भएको छ । कैलालीमा थप सात र डोटीमा १५ किलोमिटर सडक कालोपत्रे गर्न दोस्रो चरणमा ठेक्का सम्झौता भएको छ ।

कार्यालयका अनुसार करिब ७५ प्रतिशत सडक खण्ड निर्माण तथा कालोपत्रेका लागि ठेक्का सम्झौता हुन बाँकी छ ।

गत मंसिरमा द्रुतमार्गका लागि ७५ करोड थप रुपैयाँ विनियोजन भएको भन्दै सामाजिक सञ्जालमा प्रचार भएको थियो । बजेट विनियोजन गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न नेताहरुका फोटा राखेर बधाई दिइएको थियो । तर, आयोजना कार्यालयले चालू आर्थिक वर्षका लागि कुनै रकम विनियोजन नभएको प्रस्ट पारेको छ ।

‘त्यो यस वर्षको लागि विनियोजन भएको बजेट होइन, ७५ करोड बराबरको बहुवर्षीय ठेक्का सञ्चालन गर्न अर्थ मन्त्रालयबाट स्रोत सहमतिमात्रै प्राप्त भएको हो’, सूचना अधिकारी रैखोला भन्छन्, ‘हामीले सो बराबरको लगत इष्टिमेट पनि स्वीकृत गराइसकेका छौं, तर ठेक्का लगाउने प्रक्रियाका लागि अनुमति प्राप्त नहुँदा काम अगाडि बढ्न सकेन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर