एमाले रामेछापको अधिवेशनका लागि ९ उपसमिति गठन, यी हुन् नेतृत्वका दावेदार – Nepal Press

एमाले रामेछापको अधिवेशनका लागि ९ उपसमिति गठन, यी हुन् नेतृत्वका दावेदार

रामेछाप । नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशन वैशाख २६ देखि २८ सम्म मन्थलीमा हुने भएको छ । जिल्ला कमिटीको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न ९ वटा उप समितिहरु समेत गठन गरेको छ ।

जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठका अनुसार १० औं पूर्ण बैठकले गरेको निर्णय अनुसार उप समितिहरुलाई पुर्णता दिइएको हो । अधिवेशनको तयारी अन्तिम चरण्मा पुगेको जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले बताए ।

यसपटक एमालेको रामेछाप जिल्ला अध्यक्षका लागि वर्तमान सचिव पुरुषोत्तम कडरियाको दावी बलियो देखिएको छ । वर्तमान अध्यक्ष आनन्द कुमार श्रेष्ठ प्रदेश सभा सदस्य भएकाले अध्यक्षमा दोहोरिन पार्टीको मापदण्डले दिदैँन । कडरियालाई पूर्व उपाध्यक्ष प्रेम तामाङले बलियो टक्कर दिनेगरी केही नेताले उनलाई अघि सारेका छन् ।

जनप्रतिनिधि पार्टीको कार्यकारी भूमिकामा नरहने नीति बमोजिम मन्थलीका मेयर लब श्रेष्ठ र खाँडादेवीका गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको पनि दावी नहुने भएको छ ।

अध्यक्षमा वर्तमान जिल्ला कमिटी उपाध्यक्ष इन्द्र तामाङको पनि दावी छ । त्यस्तै खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष प्रेम तामाङले पनि चाहना राखेका छन् । उनी वागमती प्रदेश कमिटीका निर्वाचित सदस्य तथा क्षेत्र नम्बर २ प्रदेश सभाका इन्चार्ज हुन् । तामाङ अध्यक्ष उम्मेदवार बन्नकै लागि जिल्ला अधिवेशनको लागि प्रतिनिधि बनेर आएका छन् ।

अध्यक्षमा उद्धब कडरिया,दुर्गा श्रेष्ठले पनि दावी गरेका छन् । लिखु तामाकोशी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष कडरिया प्रदेश कमिटी सदस्यमा पराजित भएका थिए । यीबाहेक अध्यक्षमा अरुको दावी नपरेकाले सर्वसम्मतिको सम्भावना बढी रहेको नेताहरुले बताएका छन् ।

सचिवमा वर्तमान उपसचिव प्रकाश कुमार कार्कीको दावी बलियो छ भने अर्का उपसचिव होतराज ढकालले पनि चाहना राखेका छन् । सचिवमा खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदीको पनि चर्चा छ । सकेसम्म नेतृत्व सर्वसम्मत चयन हुने र सहमति नहुदा लोकतान्त्रिक प्रतिस्पर्धा खुला गरिने नेताहरुले बताएका छन् ।

उपसचिवमा युवा संघका केन्द्रीय सचिव समेत रहेका जय गुरुङ,अखिलका पूर्व नेता सुजन कार्की,गोकुलगंगाका अध्यक्ष दिपक कार्की,मिलन घिसिङ,रोशन पाख्र्रिन, मखमली श्रेष्ठ,राधिका श्रेष्ठ,मन्जुमाया कार्कीलगायतको दावी छ । उपाध्यक्षमा अहिलेकै पदाधिकारीहरुबाट सहमति कायम गराउने सम्भावना पनि रहेको छ ।

वागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल,जिल्ला इन्चार्ज गणेश पहाडी र एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलसहित रामेछापका केन्द्रीय सदस्य र सिनियर नेताहरुले सहमतिको प्रयास गरेमा सम्भव रहेको कार्यकर्ता बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर