लुम्बिनीका मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको छ । मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टंक विष्टलाई अपहरण गरेको उनका परिवारले आरोप लगाएका हुन् ।

टंककी बुहारी गौरी विष्टका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर लगेका थिए । त्यसपछि मोबाइल स्वीचअफ गरिएको र पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क नहुँदा अपहरण गरेको आशंका भएको उनले जानकारी दिइन् ।

प्रदेशसभाका आकांक्षी विष्टले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादीले उनलाई उम्मेदवारी फिर्ता लिन पटक-पटक दबाब दिएको उनको परिवारले जनाएको छ । विष्टले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि अपहरण गरिएको परिवारको आशंका छ ।

उनलाई लुम्बिनीका मुख्यमन्त्री केसी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेताले पटक-पटक फोन गरेको पारिवारिक स्रोतले जनायो । बुहारी गौरीले अपहरणको आरोप लगाए पनि प्रहरीमा भने कुनै उजुरी दिएका छैनन् ।

इलाका प्रहरी कार्यालय भालुवाङले यसबारे कुनै जानकारी नभएको र बुझेरमात्रै बताउन सकिने जनाएको छ ।

यस विषयमा बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि राप्ती गाउँपालिका अध्यक्ष विष्टले कल रिसिभ गरेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर