गण्डकीको मुख्यमन्त्रीमा कुन दलबाट क-कसको दाबेदारी ? – Nepal Press

गण्डकीको मुख्यमन्त्रीमा कुन दलबाट क-कसको दाबेदारी ?

पोखरा । गण्डकी प्रदेशले संघीयता कार्यान्वयनको पहिलो पाँच वर्षमा दुई मुख्यमन्त्री पायो । नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।

आसन्न प्रदेशसभा निर्वाचनपछि गण्डकीमा नयाँ अनुहार मुख्यमन्त्री बन्ने पक्का छ । यसअघि मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ संघमा गएका छन् भने वर्तमान मुख्यमन्त्री पोखरेल सक्रिय राजनीतिबाट बिदा लिँदैछन् ।

मुख्यमन्त्रीको दाबेदारी अहिलेसम्म गण्डकीमा उम्मेदवार बनेका कसैले पनि गरिसकेका छैनन् । तर पार्टी नेता तथा कार्यकर्ताले केही नेतालाई सम्भावित मुख्यमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरिरहेका छन् ।

मुख्यमन्त्रीको रुपमा नेकपा एमालेबाट प्रमुख दाबेदार मानिएका उम्मेदवार हुन्, खगराज अधिकारी । स्वास्थ्य र गृहमन्त्री भइसकेका अधिकारी नेकपा एमाले गण्डकीका सबैभन्दा सिनियर उम्मेदवार हुन् । यसअघि प्रतिनिधिसभा सदस्य रहेका अधिकारी मुख्यमन्त्री बन्ने आशासहित प्रदेश ओर्लेका हुन् । अधिकारी आगामी प्रदेशसभा निर्वाचनमा कास्की १ (क)बाट चुनाव लड्दै छन् । उनका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका दीपक कोइराला हुन् ।

एमालेबाटै मुख्यमन्त्रीका अर्का दाबेदार हुन्, लमजुङका जमिन्द्रमान घले । घले संविधानसभा सदस्य हुन् । यसअघि प्रतिनिधिसभा सदस्यमा लड्न चाहेपनि उनी प्रदेशमा लड्दै छन् । नेकपा एमाले उप-महासचिव पृथ्वीसुब्बा गुरुङले घलेलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेकाे लमजुङकाे एक कार्यक्रममा बताएका थिए । यद्यपी, निर्वाचनपछि एमालेको सरकार बन्ने अवस्थामा वरियताका आधारमा अधिकारीलाई नै एमालेले मुख्यमन्त्रीको रुपमा आधिकारिक रुपमा अघि सारेको बताइएको छ ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको प्रबल दाबेदार गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्मा हुन् । शर्मा अहिले नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार छन् । उनी समानुपातिक सूचीमा पहिलो नम्बरमा छन् । समानुपातिक सूचीकै दोस्रो नम्बरमा रहेका तनहुँका ध्रुव वाग्ले पनि कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदार हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका पूर्वसदस्य सुरेन्द्रराज पाण्डे अहिले प्रदेशसभा निर्वाचन लड्दै छन् । गोरखाबाट चुनाव लड्न लागेका पाण्डे विजयी भएर आएमा उनी पनि आफूलाई मुख्यमन्त्रीको रेसमा राख्न सक्छन् । यस्तै, अहिले गण्डकी प्रदेशका कानूनमन्त्री रहेका विन्दुकुमार थापा पनि कांग्रेसबाट मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट थापाले मुख्यमन्त्रीको दाउ हेरिरहेका छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार गण्डकी प्रदेशका पूर्वकानूनमन्त्री हरिबहादुर चुमान हुन् । चुमान तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा निर्वाचन लड्दै छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद चाहिन्छन् । गण्डकी प्रदेशसभामा ३६ उम्मेदवार प्रत्यक्षबाट चुनिन्छन् भने २४ जना समानुपातिकबाट आउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर