पुस्तान्तरणको नाममा घरभित्रै हस्तान्तरण, नेताले त्याग गर्दा आफन्तलाई भाग – Nepal Press

पुस्तान्तरणको नाममा घरभित्रै हस्तान्तरण, नेताले त्याग गर्दा आफन्तलाई भाग

पुरन्जन आचार्य भन्छन्–असक्षम र अयोेग्य व्यक्तिको हातमा देशको बागडोर पुग्यो

काठमाडौं । राजनीतिमा पुस्तान्तरणको बहस चलिरहँदा आगामी मंसिर ४ गते हुने निर्वाचनमा धेरैजसो नेता सातौं पटक चुनावी मैदानमा उत्रिएका छन् । अझ कतिपय नेताहरु त पञ्चायतकालीन चुनाव २०३८ देखि निरन्तर उम्मेदवार बनिरहेका छन् र त्यो क्रम ४० औं वर्षमा पनि रोकिएको छैन ।

नेपालका प्रमुख राजनीतिक दलमध्ये माओवादी पार्टी बाहेक अन्य दलका शीर्ष र प्रभावशाली मानिने नेताहरु २०४८ देखि कुनै चुनाव नछुटाई उम्मेदवार बनिरहेका छन् तर उनीहरु नै पुस्तान्तर र नयाँलाई मौका दिनुपर्छ भन्न भने छाड्दैनन् ।

धेरै नेताहरुको यो चुनाव अन्तिमपटक पनि भनिएको छ तर बाँचुन्जेल नछाड्ने प्रवृति देखेकाहरु यसलाई पत्याउँदैनन् । केही नेताले अब उम्मेदवार नबन्ने भनेर नयाँलाई ठाउँ छाडे तर टिकट पाउँदा उनीहरुका आफन्त नै नयाँ पुस्तामा दरिए ।

एमालेका डोरमणी पौडेल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवालीबाहेक नयाँ पुस्ताका लागि मैदान खाली गर्ने नेताहरुले अन्तिममा आफन्तको व्यवस्थापन गरेर टिकट छाडेका छन् ।

उदाहरण हेरौं,

‘२०६४, २०७० र २०७४ (साल) को संविधान सभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाजु भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु। आगामी २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

गत साता पूर्व प्रधानमन्त्री तथा नेपाल सभाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फेसबुकमा एउटा सन्देश जारी गर्दै आगामी प्रतिनिधि सभाको निर्वाचनमा नलड्ने घोषणा गरे।

नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर (गोलाकार भित्रको हँसिया हथौडा) बाट चुनावमा लड्ने सहमति गरेका थिए। तर, उनी चुनावबाट ब्याक भए। उनले आफूले जित्दै आएकोे गोरखा २ मा जनयुद्धका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनावी मैदानमा अघि सारेका छन्।

प्रचण्डले बाबुराम र पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सल्लाहमा चितवन–३ छाडेर गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन्। अहिले उनी गोेरखामै चुनाव केन्द्रित रणनीति बनाउनमा व्यस्त छन्।

बाबुरामले छोरीलाई अघि सारे

तर, पूर्वप्रधानमन्त्री समेत भइसकेका अध्यक्ष डा. भट्टराईले आफू संसदीय राजनीतिबाट बिदा लिँदै गर्दा छोरी मानुषी यमी भट्टराईलाई उत्ताराधिकारीको रूपमा अघि सारेका छन्।

हालै घोषणा गरेको नयाँ पार्टीमा पनि छोरीलाई अघि सारेको बाबुरामले छोरीलाई राजनीतिमा स्थापित गराउन चाहेका छन्। लागि आफू ब्याक भएर सत्ता गठबन्धनको साझा उम्मेदवारकोे रूपमा यमीलाई काठमाडौं ७ मा उम्मेदवार बनाएका छन्।

यता काठमाडौं ७ मा उम्मेदवार बनेकी यमी नयाँ पुस्ताबाट परिवर्तन मात्रै सम्भव भएकाले आफू अघि बढेको दाबी गर्छिन्। सो क्षेत्रमा ०६४ सालको संविधानसभा निर्वाचनमा उनकी आमा हिसिला यमीले निर्वाचित भएकी थिइन्।

उनी भन्छिन्, ‘नयाँ पुस्ताको आवाज बुलन्द गर्नका लागि मेरो उम्मेदवारी हो। काठमाडौं ७ बाट अनुमोदित हुन्छु भन्ने लागेको छ। लोकतान्त्रिक विधिलाई संस्थागत गर्न बाँकी छ।’

काकाले छाड्दा भतिजोलाई टिकट

यस्तै, बाबुरामले मात्रै नभएर निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निर्वाचन क्षेत्रमा भतिज माधव सापकोटा ‘सुबोध’का लागि सिट खाली गरिदिएका छन्। निर्वाचन घोषणालगत्तै सभामुखलाई टिकट नलिन दबाब बढाउँदै आइरहेका सुबोध टिकट पाउन सफल भए।

सभामुखको जिम्मेवारीपछि जिल्लामा सक्रियता पातलियोे। तर, सुबोधको पछिल्लो समय लोकप्रिय छन्। निर्वाचनको माहोल गर्माउँदै गइरहेको बेलामा उनले सार्वजनिक रूपमा सभामुख भइसकेको व्यक्ति राज्यको शीर्ष तहमा जाने परिस्थिति नबने आफूलाई टिकट छाड्नुपर्ने अडान कस्दै आएका थिए।

उनले ०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बस्नेतलाई हराएका थिए। अहिले सिन्धुपाल्चोक १ को टिकट वितरणमा शीर्ष नेताहरुलाई समेत हम्मेहम्मे परेको थियो। यद्यपी, अन्तिममा कांग्रेस नेता बस्नेत २ नम्बर क्षेत्रमा जान राजी भए।

आफ्नै भतिजोको दबावमा परेर टिकट छाड्नुपरेको सापकोटाले मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नबन्ने घोषणा गरेका थिए। युवाहरूले अवसर दिनको लागि आफू चुनावी मैदानबाट बाहिरिएको उनको तर्क थियो।

‘किशोर उमेरमा न्यायपूर्ण आन्दोलनमा सहभागी भएको तथा युवालाई रूपान्तरणकारी आन्दोलनमा क्रियाशील हुन तथा जिम्मेवारी लिन निरन्तर प्रेरित गर्दै आएकाले राज्य संचालनको जिम्मेवारीमा युवाको उल्लेख्य हिस्सा हुनुपर्छ’ उनको भनाइ थियो, ‘त्यसका लागि कसै न कसैले पहल र त्याग गर्नुपर्छ भन्ने मान्यतामा मेरो दृढ विश्वास रहँदै आएको छ।’

सभामुख सापकोटाल आफ्नै भतिजोलाई टिकट छाडेपछि सिन्धुपाल्चोक माओवादी वृत्तमा सापकोटा परिवार हाबी भएको आरोप लाग्दै आएको छ। माओवादीमा सापकोटा परिवार हावी भएको भन्दै चौतारा साँगाचोकगढीका पूर्व मेयर अमासिंह तामाङ हालै एमाले प्रवेश गरेका थिए। उनलाई एमालेले प्रतिनिधि सभा २ अन्र्तगत प्रदेश (१) को उम्मेदवार बनाएको छ।

बाउले छोरालाई छाडे

नेपाली कांग्रेसका नेता रोमी गौचनले पनि मुस्ताङबाट प्रतिनिधि सभामा आफ्नै छोरालाई अघि सारेका छन्।

कांग्रेस मुस्ताङका जिल्ला सभापति समेत रहेका गौचनले आफ्नै छोरा योगेश गौचनका लागि सिट खाली गरिदिएका छन्। उनले युवालाई अवसर दिन आफूले छाडेको बताएका छन् ।

समानुपातिकमा ‘भद्रगोल’

त्यसो त समानुपातिक तर्फको उम्मेदवारमा पनि शीर्ष नेताहरूको आफन्तदेखि धनाड्य व्यक्तिदेखि व्यापारीहरूको हामीमुहाली भएको छ। राज्य संयन्त्रमा बस्नेहरूकै कारणले समानुपातिक निर्वाचन प्रणालीमाथि नै प्रश्न उठ्न थालेको जानकारहरु बताउँछन्।

संविधानअनुसार प्रत्यक्ष चुनाव लड्न नसक्ने जाति, वर्ग, समुदायका व्यक्तिका लागि समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भएपनि पहुँचवाला र शीर्ष नेताहरूकै आफन्त हालीमुहाली भएको हुन्।

समानुपातिकतर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुुर देउवाकी पत्नी आरजु देउवा,गृहमन्त्री बालकृष्ण खाँण पत्नी मन्जु खाँणदेखि पहुँचवाला व्यक्तिहरू समेटिएका छन्।

प्रतिनिधि सभाको .निर्वाचन नउठ्ने घोषणा गरेको पूर्व समामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले छोरी कुस्मा महरा (प्रगती)लाई समानुपातिकमा राखेका छन्। महराकी छोरीको नाम लुम्बिनी प्रदेशको समानुपातिक सूचीमा खसआर्य महिलातर्फ दोस्रो नम्बरमा छ ।

यस्तै, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलाई पार्टीले टिकट दिँदा समेत अस्वीकार गरेका थिए। तर, श्रीमती नैनकलालाई समानुपातिकमा राखेका छन्।

माओवादीबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ पनि परेका छन् भने एकीकृत समाजवादी उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, पूर्व राजदूत प्रमेश हमाल पनि समेटिएका छन्।

पूर्व उपप्रधानमन्त्रीहरू गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, राप्रपाका नेताद्वय पशुपति शमशेजबरा र प्रकाशचन्द्र लोहनी, कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलगायत समेटिएका छन्। निधीले त आफ्नी भान्जीलाई पनि समानुपातिकमा प्राथमिकताको सूचीमा पारेका छन् ।

लोकतन्त्रकै उपहास

त्यसो त पुस्तान्तरणको नाममा आफन्तलाई अघि सार्नु भनेको लोकतन्त्रको उपहास भएको टिप्पणी गर्छन् राजनीतिक विश्लेषक पुरञ्जन आचार्य।

उनी भन्छन्, ‘यस्तै प्रवृत्ति मौलाउनु भनेको लोकतन्त्रको उपहास हो। यसरी लोकतन्त्र चलेको पनि छैन चल्दा पनि चल्दैन। यस्तो प्रवृत्तिले सिस्टममाथि नै चुनौती आउनसक्छ। यो भनेको राजनीतिको कुरुप केश हो। नेताका श्रीमती, भाइ वा अन्य परिवारका सदस्यहरु राख्नु लोकतन्त्रको लागि राम्रो होइन।’

नेतृत्वका पुगेका व्यक्तिहरुले अरुलाई बाँड्नुभन्दा आफैं मिलेर खाने प्रवृत्ति बढेको उनको भनाइ छ।

उनी थप्छन्, ‘यो अलोकतान्त्रिक र अप्रजातान्त्रिक तरिका हो। यसले लोकतन्त्र चल्दैन। जतिसुकै राम्रो प्रणाली बनाएपनि चलाउने मान्छे गलत भएपछि विकृत्ति हुन्छ नै।’

नेपालको संविधानलाई असफल पार्नको लागि असक्षम र अयोेग्यहरुको हातमा देशको बागडोर भएर अहिलेको परिस्थिती बनेको उनको बुझाइ छ।

‘सबै पार्टीमो यो प्रवृत्तिमा मौलाएका छन्। त्यसैले अब नागरिकहरुनै सचेत बन्नुपर्छ। नागरिक स्तरबाटै सजाय दिनुपर्छ’ उनको भनाइ छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर