गठबन्धन कार्यदल : दाबी सीटमा कोही भएनन् टसमस – Nepal Press

गठबन्धन कार्यदल : दाबी सीटमा कोही भएनन् टसमस

कैलाली । सत्तागठबन्धन कार्यदलले सीट बाँडफाँटमा अझै सहमति जुटाउन सकेको छैन । समितिका सदस्यहरू दलीय अडानभन्दा पछि नहटेपछि सहमति हुन समस्या भइरहेको कार्यदलका एक सदस्यले बताए । बालुवाटारमा अहिले शीर्ष नेता छलफलमा छन् ।

‘अहिले पनि दलहरू आफ्नो अडानभन्दा पछि हटेका छैनन्’ समितिका एक सदस्यले भने ‘आफ्नो पुरानो दाबी कायमै राखेका छन् ।’
त्यही कारण प्रतिवेदन तयार हुने सम्भावना कम छ ।

कांग्रेसले एक सय सीट दाबी गरेको छ । तर, ८६ को वरपर कांग्रेसलाई मनाउन सहयात्री दल लागिपरेका छन् । माओवादीले ६० आसपासमा, जसपाले ३२, नेकपा एकीकृत समाजवादीले ३५ देखी ४० को दाबी गरेको थियो । कोही टसमस नभएपछि बिहानैदेखि बसेको कार्यदलमा सहमति बस्न सकेन ।

दुई दिनअघि धनगढी आएका प्रचण्डले नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको बताएका थिए । माओवादी ६० वरपर र नेकपा एस २५ सीटलाई आधार बनाएर मिलाउन लागिएको भन्दै उनको भनाइ थियो, ‘कांग्रेस १०० सीट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं केही तलमाथि होला । समाजवादीको २५ वरिपरि होला’

सीट बाँडफाँटको टुंगो लगाउन गत साउनमा बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलमा काँग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन नेकपा ९एस० बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट कार्यकारिणी सदस्य रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।

हिजो सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजै बिहान ९ बजे कार्यदलको बैठक बस्ने र सहमति गरेर प्रतिवेदन गठबन्धनलाई दिने बताएका थिए । तर, अहिले सम्म कार्यदल बिचमै सहमति जुट्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *