सप्तरी २ : उपेन्द्रलाई गठबन्धनको साथ, एमाले र लोसपाले देलान् सीकेलाई हात ? – Nepal Press

सप्तरी २ : उपेन्द्रलाई गठबन्धनको साथ, एमाले र लोसपाले देलान् सीकेलाई हात ?

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने घोषणा गरेसँगै अहिले सो क्षेत्र चर्चामा छ । यो क्षेत्र गत निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले जितेको क्षेत्र हो । राउतको घोषणाले यादवसँगको सम्भावित प्रतिस्पर्धालाई लिएर चर्चा र जोडघटाउ सुरू भएको छ ।

सीके राउतको जन्मभूमि महदेवा गाउँपालिका-२ यसै निर्वाचन क्षेत्रमा पर्छ । राउत पहिलोपटक चुनाव लड्न लागेका हुन् । सप्तरी २ मा महदेवा, तिलाठी कोइलाडी, छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिका पर्छ ।

यस्तो छ विगतको नतिजा

भर्खर सकिएको स्थानीय चुनावमा सप्तरी २ मा पर्ने कुनै पालिकाको नेतृत्वमा जनमत पार्टीले जितेको छैन । तिलाठी कोइलाडी गाउँपालिका नेपाली कांग्रेस र राजविराज नगरपालिकामा जसपा विजयी भएको थियो । महदेवा र छिन्नमस्ता गाउँपालिका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको थियो । डा. राउतको घर भएको महदेवा गाउँपालिका- २ वडाध्यक्ष भने जनमत पार्टीले हत्याएको थियो ।

२०७४ को निर्वाचनमा उपेन्द्र यादवले १० हजार मतान्तरले जितेका थिए । नेपाली कांग्रेस र तत्कालीन राजपाको सहयोगमा लडेका यादवले २१ हजार ६२० मत ल्याउँदा प्रतिस्पर्धी माओवादीका उमेश यादव ११ हजार ५८० मतमा रोकिएका थिए ।

मुख्य प्रतिस्पर्धी दलको सहयोगमा १० हजार मतान्तरले विजयी भएका उपेन्द्र यादवलाई यस क्षेत्रमा त्यति बलियो भने ठान्दैनन् । यो पटक पनि यादव सत्ता गठबन्धनमा भएकाले उनका लागि यो क्षेत्र सुरक्षित रहनेमा जसपाका नेता-कार्यकर्ता ढुक्क छन् ।

वैशाख ३० मा भएको निर्वाचनको वडागत मतपरिणाम हेर्दा १४ हजार ४०३ मतका साथ जसपा नै बलियो देखिन्छ । कांग्रेससँग १० हजार ८०७, लोसपासँग १० हजार ४३५ र माओवादीसँग ९ हजार ५३४ मत छन् । एमाले, जनमत र नेकपा एस कमजोर छन् । एमालेसँग ५ हजार ९५१, जनमतसँग ४ हजार ५४२ र नेकपा एससँग २ हजार ४०८ मत छन् ।

स्थानीय चुनावको जनमतलाई आधार मान्दा सत्ता गठबन्धनको मत ३७ हजार हाराहारीमा छ । तर, उपेन्द्रका लागि गठबन्धन एक भए यहाँ जनमत पार्टी, एमाले र लोसपाबीचको तालमेलका लागि नेताहरू छलफलमा छन् । यदि एमाले र लोसपाले राउतलाई सघाउँदा पुगनपुग २१ हजार मत छ । यो हिसावले पनि उपेन्द्र यादव नै बलिया देखिन्छन् । तर, ‘सीमा रक्षक’ को पहिचान बनाएका देवनारायण यादवले हिजो मात्र यही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् । एमालेबाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणासँगै यहाँको भिडन्त थप रोचक र पेचिलो बन्ने देखिएको छ ।

तर, चुनाव जितेपछि निर्वाचन क्षेत्रसँग टाढिएको भन्दै मतदाता र जसपाकै नेता-कार्यकर्ता यादवसँग असन्तुष्ट छन् । गठबन्धन गर्दा पनि अन्य दलका स्थानीय नेता कार्यकर्ताले असहयोग गर्ने बुझेर यादवले सम्भावित परिणामलाई हेरेर मात्र निर्णय लिने मुडमा रहेको एक नेता बताउँछन् । जसपाका ती नेताका अनुसार यादवले सप्तरी २ छाडे भने धनुषा २ वा सिरहा २ मध्ये एक रोज्नेबारे पनि छलफल थालिएको छ ।

यादवविरुद्ध चुनाव लड्ने घोषणा भनेर आएका समाचारप्रति डा. राउतले सचिवालयको फेसबुक पेजमा लेखेका छन्, ‘राजनीतिमा काम अनुसार समर्थन, विरोध र सहकार्य अपरिहार्य कुरा हुन्, तर यसलाई व्यक्तिगत लक्षित रूपमा चित्रित गर्नु त्यति उपयुक्त र परिपक्क हुँदैन ।’

उनले जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेको तस्बिरसमेत सार्वजनिक गरेका हुन् । सचिवालय पेजमा भनिएको छ, ‘उहाँहरू (यादव र ठाकुर) ले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वास्त छौं ।’

७४ को निर्वाचनमा डा. राउतले मतदान बहिष्कारको अभियान नै चलाए । महदेवा-२ यसको प्रभाव पनि पर्‍यो । आफ्नो अभियानलाई साथ दिएको भन्दै राउत यसपटक आफ्नो जित हुनेमा ढुक्क छन् । पछिल्लो समय उनले उठाएको किसानका एजेण्डा जायज भएको भन्दै केही सहानुभूति बटुलेका थिए । तर, आन्दोलन शान्तिपूर्ण नबन्दा आलोचना पनि भएको थियो ।

अर्को कुरा राउत यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । यहाँ कसैले पनि दोहोर्‍याएर नजितेको इतिहास छ । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह २०४८ को आम निर्वाचनमा जितेर ५६ मा हारेका थिए । पहिलो संविधानसभा सदस्यमा सद्भावना पार्टीकै महेश यादव निर्वाचित भए । तर, दोस्रो पटक उनी माओवादीका उमेश यादवसँग पराजित भए । उमेश दोस्रोपटक ७४ मा उपेन्द्र यादवसँग हारे ।

नयाँ अनुहारप्रति आकर्षण देखेका सीके राउत घोषणा नै गरेर उत्साही साथ चुनावी दौडमा होमिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर