सरकारले एमालेसँग सल्लाह गरेन, बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको हो : सुवास नेम्वाङ (भिडिओ) – Nepal Press

सरकारले एमालेसँग सल्लाह गरेन, बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको हो : सुवास नेम्वाङ (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले न्युनतम व्यवहार पनि नदेखाएको बताएका छन् ।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सत्ता गठबन्धनबाट यस्तो असहिष्णु व्यवहारका बाबजुद निर्वाचन घोषणाको स्वागत गरेको जनाएका छन् ।

नेम्वाङले अहिलेको सत्ता गठबन्धन संसदीय मूल्य र मान्यता विपरीतको दूषित गठबन्धन भएको बताएका छन् । अहिलेको गठबन्धनलाई संसदीय प्रणालीका मूल्य र मान्यताबारे कुनैपनि जानकारी नभएको उनको आरोप थियो ।

‘प्रमुख प्रतिपक्षी दल भइरहँदा अहिले पनि सबैभन्दा धेरै मत प्राप्त गरेर देशको ठूलो दल एमाले हो, प्रमुख प्रतिपक्षी दल राज्यको अभिन्न अंग पनि हुन्छ, निर्वाचन जस्तो महत्वपूर्ण विषयमा हामीसँग मात्र होइन अन्य दलहरुसँग पनि छलफल गरिनुपर्थ्याे ’, उनले भने ।

उपाध्यक्ष नेम्वाङले सरकारले विगतमा गर्ने निर्णयजस्तै निर्वाचनको घोषणाको निर्णय पनि सुटुक्क र छापामार शैलीमा गरेको बताएका छन् । ‘निर्वाचनको मिति घोषणा हुनुपर्थ्याे भयो राम्रो भयो, तर सरकारले विगतका निर्णयहरु जसरी सुटुक्क, छापामार शैलीमा निर्णय पर्थ्याे अहिले पनि त्यसैगरी निर्णय गर्यो’, नेता नेम्वाङले भने, ‘एमालेले समयमै निर्वाचन घोषणा गरिनुपर्छ भन्दै आएको थियो, विभिन्न दबाबका कार्यक्रम गर्दै पनि आएको थियो, निर्वाचन आयोगले पनि पहिलेदेखि नै समयमै निर्वाचन गर्न सल्लाह र सुझाव दिइरहेकोले सरकारले निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको हो तर यस्तो विशेष निर्णयमा हामीलाई एकपटक पनि सल्लाह गरिएको छैन ।’

उनले आफुहरुसँग सल्लाह नगरिएपनि तोकिएको मितिमा निर्वाचन गर्न एमालेले सहयोग गर्ने उल्लेख गर्दै निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा समयमै निर्वाचन गर्न सरकारलाई आग्रह गरे । ‘हामीलाई नसोधिए पनि निर्वाचनको मिति घोषणा भयो अब निर्वाचन हुने भयो भनेर हामी खुसी छौं, सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नुपर्छ’, नेम्वाङले भने ।

नेता नेम्वाङले सत्तागठबन्धन एमालेविरुद्ध जतिसुकै लागेपनि जनताले निर्वाचनमार्फत दुधको दुध पानीको पानी छुट्टयाइदिने बताए । निर्वाचन घोषणा भइसकेपछि अब जनताले फैसला गर्ने भन्दै आफूहरु निर्वाचनको तयारीमा जुटिसकेको बताए ।

‘हामी दनदनाएर निर्वाचनको तयारीमा जुटेका छौं, एमाले बैंक खातासहित निर्वाचनको मैदानमा उत्रिसकेको छ, फैसला जनताले गर्नेछन् त्यसैको तयारीका लागि हामी सबै खटिएका छौंं’, उनले भने ।

अहिलेको संवैधानिक व्यवस्था अनुसार एकै दललाई प्रष्ट बहुमत ल्याउन समस्या हुने हुँदा गठबन्धन र तालमेलका लागि एमालेले सबै ढोका खुला राखेको तर अपवित्र गठबन्धन भने नगर्ने नेता नेम्वाङले बताए । ‘हामीले सबै ढोका खुला राखेका छौं, केही छलफलमा पनि आएका छन् तर हामी एकल रुपमै चुनावमा जाने तयारीका साथ हिंडेका छौं, अपवित्र गठबन्धन हुँदैन’, उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माको छानबिन प्रकरणमा एमालेले सुरुदेखि राखेका अडानमा प्रष्ट भएको बताउँदै त्यो समयको कल डिटेल नखोजिनु, सीसीटिभी झिलझिल बनाएर हेर्न नमिल्ने बनाइनु छलकपटका प्रष्ट आधार भएको तर ती विषयमा सरकारको नेतृत्व तथा स्वयम् अर्थमन्त्री तयार नभएपनि र आम नेपालीले कसको गल्ती छ भन्ने जानकार भइसकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर