गठेमंगल-गठांमग-घन्टाकर्ण-घन्टासूर र गाथामोग, कुन हो सही ? के भन्छ ऐतिहासिक प्रमाण – Nepal Press
सन्दर्भ: घन्टाकर्ण चतुर्दशी

गठेमंगल-गठांमग-घन्टाकर्ण-घन्टासूर र गाथामोग, कुन हो सही ? के भन्छ ऐतिहासिक प्रमाण

काठमाडौं । आज साउन कृष्ण चतुर्दशी । प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन हिन्दू परम्परामा गठेमंगल-गठांमुग-घन्टाकर्ण-घन्टासूर र गाथामोग पर्व मनाइँदै आएको छ । यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो र दोबाटोमा छ्वाली र पराल तथा नर्कटले बनाइएका आकृतिलाई जलाइन्छ त कतै खोलामा सेलाइन्छ ।

यसलाई लिइने नामसँगै यो पर्व मनाउने तरिका पनि बेग्लाबेग्लै पाइन्छ ।

नेपालभाषी समुदायमा बढी महत्वको यो पर्वलाई ठाउँअनुसार फरक फरक नाम दिइएको छ । जेसुकै नाम दिइए पनि यो प्राचीन एवं ऐतिहासिक पर्व हो । नेपालभाषी समुदायमा यो पर्वसँगै अन्य जात्रापात्रा तथा नाचगान सुरु हुन्छ । यो पर्वको करिब एक सातापछि नाग पञ्चमी आउँछ । यसपछि क्वाःती पुन्ही एवं जनैपूर्णिमा तथा भोलिपल्ट गाईजात्रा मनाइन्छ । गाईजात्रापछि गणेश चतुर्थी चथा, इन्द्रजात्रालगत्तै मोहनी नखः दशैंको आगमन हुन्छ । दशैं आएपछि स्वन्ती नखः तिहार नआउने कुरै भएन ।

त्यसैले नेपालभाषी समुदायमा यस पर्वको अत्यन्त महत्व छ । तर, यति महत्वपूर्ण पर्वको नाम र मनाउने तरिकामा एकरुपता छैन, किन ? नेपालभाषी समुदायमा मात्रै होइन, नेपाली भाषी समुदायमा पनि यस पर्वलाई फरक फरक नामले चिनाइन्छ । नेपालभाषी समुदायमा कतै गठेमंगल, कतै गठांमग र गठांमुग त कतै गाथामोग भनिन्छ । त्यस्तै नेपाली भाषी समुदायमा कतै घन्टाकर्ण त कतै घन्टासूर भनिन्छ ।

नामसँगै यसको आकृति पनि फरकफरक बनाइन्छ । कतै हरियो नर्कटले बनाइन्छ भने कतै हरियो नर्कटमा छ्वाली र परालले मोडेर भीमकाय बनाइन्छ । त्यस्तै कतैकतै कागजको मात्रै पनि बनाइन्छ । यसको मुखाकृति पनि फरकफरक सामग्रीले बनाइन्छ । कतै नाङ्लोमा मुखाकृति कोरिन्छ भने कतै माटोको मुकुन्डो बनाइन्छ । आजभोलि बजारमा मुखाकृति छापिएको कागज नै पाइन्छ ।

संस्कृतिविद् तथा इतिहासविद्हरु ठाउँ र परिवेशअनुसार यस पर्व मनाउने तरिका र यसको प्रतिमूर्तिमा भिन्नता हुनु अस्वाभाविक मान्दैनन् । यो भिन्नता नै समाज विकासक्रमको चरण भएको उनीहरु बताउँछन् । समाजको अवस्थिति, समुदायको विश्वास र आस्थाले यो फरक हुनु यसको प्रमुख कारण भएको संस्कृतिविद् तथा इतिहासविद्हरु तर्क गर्छन् ।

यसरी बेग्लाबेग्लै नामले पुकारिने यस पर्वबारे ऐतिहासिक प्रमाणले के भन्छ त ?

संस्कृतिकर्मी ओमप्रसाद धौभडेलका अनुसार अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा साउन कृष्ण चतुर्दशीको दिनलाई गण्ठकर्ण चवदश उल्लेख गरिएको छ । यसबाटै घण्टाकर्ण भएको उनी स्पष्ट पार्छन् ।

त्यस्तै नेपाल संवत् ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश नै लेखिएको छ । नेपाल संवत् ७९२ को नेपालभाषाको एउटा गीतमा स्पष्टसँग छ्वालीको घण्टासूर बनाई सेलाउने उल्लेख रहेको धौभडेल बताउँछन् ।

उनका अनुसार नेपाल संवत् ८१८ मा भक्तपुर तलेजुस्थित मालती चोकमा भेटिएको एउटा शिलापत्रमा साउन कृष्ण चतुर्दशीलाई स्पष्टसँग गाथामोगः चवदश भनिएको छ ।

यस दिन भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वाससमेत छ । यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने भएकाले यस दिनलाई गाथामोग चर्‍हे भनिएको संस्कृतिकर्मी धौभडेल जोड दिन्छन् ।

उनका अनुसार गाथाहरुले माटोको शिवलिङ्ग बनाउने क्रममा मोग (डल्लेँठो) जस्तो बन्न गएकाले यस दिनलाई गाथामोग भनिएको हो । ‘गाथाहरु (नवदुर्गा देवगण बन्ने जाति) मूर्ति बनाउने कलाकार होइनन्’, धौभडेल भन्छन्, ‘त्यसैले उनीहरुले बनाएको शिवलिङ्ग आकार बिग्रिएर मोग जस्तो देखिएपछि ‘गाथामोग’ भन्ने प्रचलन चलेको हो ।’

पिचास होइन महादेव एवं भैरव हुन् गाथामोग

बेग्लाबेग्लै नाउँ भए पनि गाथामोगलाई नेपाली समाजमा पिचास मान्ने भ्रम छ । समाजमा गाथामोगलाई बालबालिका मारेर खाने राक्षसकोे रुपमा बढी चित्रण गरिएको पाइन्छ । समाजलाई दुःख दिने पात्र भन्दै गाथामोगलाई दोबाटो र चौबाटोमा जलाउन लाने क्रममा कुटेर र पिटेर बाटोभरि घिसारेर लाने गरिन्छ । यसलाई जलाइसकेपछि बालबालिकालाई उसको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको छ भने हट्ने जनविश्वास छ ।

उनीहरुका अनुसार गाथामोग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक, सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन् ।

‘विशेष गरी देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूल्ठूला घण्टा झुण्डाइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो’, संस्कृतिकर्मी धौभडेल थप्छन् ।

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ पनि गाथामोग कुनै राक्षस वा पिचास नभएको बताउँछन् । उनका अनुसार यी महादेवका एक रुप हुन् ।

‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ । जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हुन्’, प्रा. डा. श्रेष्ठ भन्छन्, ‘चैत कृष्ण चतुदर्शी पिशाच चतुर्दशी हो, जसका अधिपति शिवकै गण भूतप्रेत पिचास हुन् । फागुन कृष्ण चतुर्दशी शिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो । त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गाथामोग पनि शिवकै रुप भएकोमा दुईमत छैन ।’

उनका अनुसार गाथामोगको आकृति हेर्दा उन्मत्त भैरवसँग मिल्दोजुल्दो छ । ‘उन्मत्त भैरव पनि महादेव नै हुन्’, उनले भने ।

भीमकाय हुन्छ गाथामोग

स्थानीयले छ्वाली, पराल र नर्कटको सहायताले गाथामोग बनाउँछन् । जसमा नांग्लोमा लेखिएको विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरुको माला, भोगटेलगायतले सिंगारिएर साँझको बेला स्थानीय दोबाटो र चौबाटोमा दहन गरिन्छ ।

भीमकाय पराल-छ्वालीबाट बनेको गाथामोग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरुले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरु गर्ने गर्छन् ।

पराल र नर्कटबाट बनेको गाथामोगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ । जसलाई पुरुषको जनेन्द्रीय अंगको प्रतीक मानिन्छ ।

गाथामोग पर्वको वातावरणीय महत्व

असारपछि साउन महिनामा दिनहुँजसो झरी भइरहन्छ । यसले भुसुना, लामखुट्टे जस्ता हानिकारक कीराहरुले सर्वसाधारणलाई दुःख दिन्छन् । यसले मानिसहरु मौसमी बिरामी पनि हुन्छन् ।

यस्ता हानिकारक कीराहरुलाई टोलबस्तीबाट भगाउन छ्वालीलगायत बालेर धुवाँ आगो बनाएर बस्तीभन्दा टाढासम्म भगाउन गाथामोग दहन गरिनु वैज्ञानिक भएको वातावरणविद्हरु बताउँछन् ।

उनीहरुका अनुसार यसै दिन किसानहरुले आआफ्नो घरगोठ र वरपरका ठाउँ सफा गर्छन् । यस दिन गाथामोग बनाउन सर्वसाधारण बाजागाजासहित घरघरमा गएर छ्वाली र पराल माग्न जाने गर्छन् । यसरी माग्न आउनेलाई किसानहरुले आफूले सफा गरेको घरगोठबाट उब्रेको छ्वाली तथा पराल दिएर पठाउँछन् ।

‘असारमा रोपाइँले गर्दा किसानहरुले फुर्सद पाएका हुँदैनन् । घर लथालिंग हुन्छ । लामखुट्टे, भुसुना र अन्य हानिकारक कीराफट्यांग्राले बास गरेको हुन्छ’, संस्कृतिकर्मी धौभडेल थप्छन्, ‘त्यसैले गाथामोग पर्वको दिन घरगोठ र वरपर सफा गरिन्छ । लामखुट्टे, भुसुना र अन्य हानिकारक कीरा-फट्यांग्रालाई धुवाँ र आगो बालेर बस्तीभन्दा टाढा धपाएर पठाइन्छ ।’

त्यसैले नेपाली समाजमा गाथामोग पर्वपछि लामखुट्टेको संख्या कम हुँदै जाने विश्वास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *