माधव नेपालसँगको सम्बन्ध उधिन्दै योगेशले भने- कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुस् – Nepal Press

माधव नेपालसँगको सम्बन्ध उधिन्दै योगेशले भने- कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुस्

कैलाली । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बिताएका पलहरूको स्मरण गरेका छन् ।

पञ्चायतकालदेखि नेपाललाई चिनेको भन्दै उनले नेपालसँग सहज तथा असहज परिस्थितिलाई उधिनेका हुन् । काठमाडौंबाट धनगढी आउने क्रममा भट्टराईले माधव नेपालसँगका पलहरू ११ बुँदामा उतारेका छन् ।

उनले भनेका छन्, ‘माफ गर्नुहोला तपाईँहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु ‘कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना ।’

केही दिनअघि ‘१० भाइ’ लाई नेपालले दास भनेर गरेको टिप्पणी र नेकपा एसनिकट युवाहरूको आफूलक्षित भनाइप्रति जवाफ दिँदै भट्टराईले लामो स्टाटस लेखेका हुन् ।

पञ्चायतकाल मा कमरेड रन्जनको उपनामले नेपाललाई चिनेको भन्दै त्यतिबेला थुप्रै प्रशिक्षण लिएको योगेशले बताएका छन् । त्यस्तै एमालेको पाँचौँ महाधिवेशन ( २०४९ ) नेपाल अन्तिमतिर जनताको बहुदलीय जनवादका पक्षमा खुलेको, आफ्नो समर्थन नहुँदा पनि छैठौं महाधिवेशनमा नेपाल पार्टीको महासचिव भएको, सातौँ महाधिवेशनबाट पुन: महासचिव भएको र त्यो बेला आफ्नो समर्थन रहेको उनले प्रष्ट्याएका छन् ।

प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न दबाब दिएको र आफूले नगरेको भन्दै भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य नभएको, नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र रहेको आफ्नो बुझाइ रहेको र साथ नदिएको बताएका छन् ।

उनले अन्तिममा भनेका छन्, म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र, मैले कमरेड माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्धसमर्थक र अन्धविरोधी होइन । ’

भट्टराईको ११ बुँदे स्मरण जस्ताको तस्तै :

कमरेड माधव नेपाल र म !
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।
४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।
७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ ।
गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।
पुनश्च: कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।
२०७९ असार १३ गते बिहान काठमान्डौ- धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर